१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असोज १५ शनिबार १६:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सन्तानेश्वर महादेव मन्दिर : मनोरम दृश्यसँगै भगवानकाे दर्शन

Read Time : > 1 मिनेट
२०७९ असोज १५ शनिबार १६:२५:००

जिल्ला सदरमुकाम नेपालगन्जदेखि २५ किलोमिटर हुलाकी सडक भएर पूर्व गए नरैनापुर गाउँपालिका– ५ लालपुर आउँछ। त्यहाँबाट आठ किलोमिटर जंगलको बाटो पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ। नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि पहाडको चुचुरोमा रहेको यो शिव मन्दिर हो।
 
चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै पहाडको मनोरम दृश्य सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो। मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकनसमेत गर्न सकिन्छ।
 
जंगलैजंगलको गोरेटो बाटो भएर जानुपर्ने भएकोले जंगली जनावरले आक्रमण गर्न सक्ने सम्भावना रहन्छ।
 
मन्दिरको दर्शन गर्न भारतको विभिन्न ठाउँका भक्तजन यहाँ आउने गरेका छन्। त्यसैगरी, दाङ, सुर्खेत, बर्दिया, नेपालगन्ज, कोहलपुरलगायत ठाउँका सर्वसाधारण दर्शनका लागि पुग्ने गरेका छन्। राप्तीसोनारी गाउँपालिका– ७ भेलुनियाकी विमला शाहीले एकान्त र शान्त ठाउँ भएकोले दर्शनसँगै घुम्न आनन्द आउने गरेको बताइन्।

पहिलोपटक सन्तानेश्वर मन्दिर पुगेकी उनी मनोरम दृश्य देखेर दंग परिन् । ‘पहाड चढ्न गाह्रो भए पनि मनोरम दृश्य र चुचुरोमा अवस्थित मन्दिरको दर्शन गर्दा सबै दुःख भुलिन्छ,’ उनले भनिन्, ‘यहाँको स्वच्छ हावा र शीतलताले आनन्द दिन्छ।’

मन्दिरका महन्त ९० वर्षीय योगानन्द गिरी (पहाडी बाबा) ले विक्रम संवत् १९३५ मा झन्डा गाडिएको बताए। मटेहियाका यादव थरका व्यक्तिले यहाँ झन्डा गाडेको उनले सुनाए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाका दिन यहाँ भण्डारा अर्थात् निःशुल्क खाना खुवाउने गरेको उनले सुनाए।

मन्दिर बनेको लामो समय भए पनि ०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तिजजस्ता पर्वमा विशेष भिड लाग्ने गर्छ। साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ । सन्तानविहीनले यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ।

‘यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ,’ पुजारी पहाडी बाबाले भने। 

यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीनवटा मूल फुटेका छन्। ‘सात वर्षको उमेरदेखि म यहीँ बस्दै आएको छु । त्यतिवेला मन्दिर खासै चर्चामा थिएन,’ जंगलको बीचमा कुटी बनाएर बसेका बाँके दासले भने, ‘विगत वर्षदेखि मन्दिर दर्शन गर्न आउनेको भिडभाड बढेको छ।’ 

उनले जंगलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाउँदा खुसी लागेको बताए। 

सडक नहुँदा मन्दिर ओझेलमा परेको नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए। उनले सडक विस्तार भएसँगै पर्यटकको आकर्षण बढेको बताए। ‘यसलाई पर्यटकीय हब बनाउन विकासका केही खाका तयार पारेका छौँ। जति सक्दो आन्तरिक पर्यटक आकर्षण गराउने उद्देश्य छ,’ उनले भने। 

सडक नहुँदा यहाँसम्म पुग्न मानिसलाई अप्ठ्यारो थियो। अहिले सडक बनेपछि मानिस घुम्न आउन थालेको उनले बताए। बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थी पाएको उनको भनाइ छ  । मन्दिरसम्मै सवारीसाधन पुग्ने बाटो निर्माण भए सन्तानेश्वरमा आन्तरिक पर्यटकको भिड अझै बढ्ने उनले बताए।