मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विद्युतीय गाडी शुभारम्भपछि पहिलो यात्रा गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, रुपन्देहीका प्रजिअ भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईलगायत । तस्बिर : दीपेश पछाई/नयाँ पत्रिका
दीपेश पछाई लुम्बिनी
२०७९ असोज १३ बिहीबार ११:१२:००
Read Time : > 2 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विद्युतीय गाडीमा लुम्बिनीको सयर (फोटोफिचर)

Read Time : > 2 मिनेट
दीपेश पछाई, लुम्बिनी
२०७९ असोज १३ बिहीबार ११:१२:००

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सयर विद्युतीय गाडीमा सुरु भएको छ । तीन वर्षदेखि लुम्बिनीमा बेवारिसे बनेका गाडी आजबाट सञ्चालन भएसँगै विद्युतीय गाडीमा लुम्बिनीको सयर सुरु भएको हो । 

एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका १२ करोडका १९ विद्युतीय गाडी तीन वर्षदेखि बेवारिसे थिए । तीनमा पाँच बस र १४ भ्यान (ट्याक्सी) छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले बस काठमाडौं झिकाएर तामझामका साथ उद्घाटन गर्दै भनेका थिए, ‘नेपालमा विद्युतीय युगको शुभारम्भ भयो ।’ 

तर, ती सरकारले सञ्चालन गर्ने कि निजीलाई दिने भन्ने विवादका कारण ती गाडी सञ्चालन हुन सकेका थिएनन् । यसबीचमा गत शुक्रबारको अंकमा नयाँ पत्रिकाले ‘सरकारले चलाउने कि निजी क्षेत्रलाई दिने भन्ने विवाद अनुदानमा पाएका १२ करोडका १९ विद्युुतीय गाडी तीन वर्षदेखि बेवारिसे’ शीर्षकमा कभरस्टोरी छापेको थियो । 

त्यसलगत्तै गृहमन्त्रीले ती गाडी सञ्चालन गर्न निर्देशन दिएका थिए । हिजो बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरूको बैठकले आज बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

आज बिहान लुम्बिनीमा लुम्बिनी विकाष कोषका पदाधिकारीहरू, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पर्यटन व्यवसायीहरूको उपस्थितिमा बिजुली बसहरू सञ्चालन सुरु भएको छ । 

कोषका कोषध्यक्ष सिद्धिचरण भट्टराईले आजबाट निःशुल्क रूपमा यात्रुलाई सेवा दिएर परीक्षण सञ्चालन सुरु गरिएको र छिट्टै शुल्क निर्धारणसहित औपचारिक शुभारम्भ हुने जानकारी दिए । 

जिल्ला प्रशासन कार्यलयमा लुम्बिनी विकास कोषका बिजुली बसहरू सञ्चालन गर्ने सम्बन्धमा सरोकारवालाहरूबीचको बैठकले ६ वटा रुट तय गरेको छ । ती बस सञ्चालन आएपछि लुम्बिनीको पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजनमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरू, यातायात व्यवस्था कार्यालय, पर्यटन कार्यालय, सिद्धार्थनगर नगरपालिका, होटेल एसाेसिएसन, ट्राभल्स एसाेसिएसनसमेत रहेको बैठकले बडादसैँको अवसरमा निःशुल्क परीक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो । 

बसहरू लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीदेखि तिलौराकोट ७ साइट परिक्रमा, लुम्बिनीवरिपरि सटल बस, लुम्बिनीदेखि एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह, रुटहरूमा सञ्चालन रहनेछन् ।

बसहरू सञ्चालनका लागि होटेल एसाेसिएसन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषकोतर्फबाट एक–एक बसका चालकहरूको जिम्मेवारी लिएर गाडी सञ्चालन गरिएका छन् । 

गाडी सञ्चालन हुने सबै रुटहरूको व्यवस्थापनका लागि कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण इकाइ गठन गरेको छ । यसअघि कोषाध्यक्ष भटराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालन गर्न कार्यविधि बनाएर कोषका अध्यक्षलाई पेस गरिसकेको थियो । नम्बर प्लेट, रुट इजाजत र बिमालगायतका प्रक्रियाका विषयमा सम्बन्धित कार्यालयबाट ढिला हुँदा बसहरू समयमै सञ्चालन हुन सकेको थिएन ।

पर्यटन दिवसका अवसरमा गृहमन्त्री बालकृष्ण खाणको निर्देशन भएपछि हरियो नम्बर प्लेटका लागि पर्यटन मन्त्रालयले सहमति दिएको थियो । आजदेखि पाँचवटा बस सञ्चालनमा आए पनि १४ वटा साना गाडीहरू सञ्चालन भने भएका छैनन् । ती गाडीहरू पनि केही दिनपछि सञ्चालनमा ल्याउने गरी काम भइरहेको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

यसअघि विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका गाडीहरू चल्न नसक्नुका कारण २४ घन्टाभित्र जानकारी गराउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयलाई निर्देशन दिएका थिए ।