मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १३ बिहीबार ०६:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विवाह खर्चबापतको जरिवाना तोकेर गाउँमै सम्बन्ध–विच्छेद 

तेब्बर रकम नतिरेको भन्दै लहानमा आमाछोरामाथि कुटपिट

Read Time : > 1 मिनेट
२०७९ असोज १३ बिहीबार ०६:५४:००

सिराहाको लहानमा गाउँलेको रोहवरमा एक मुस्लिम दम्पतीको सम्बन्ध–विच्छेद गराइएको छ । लहान नगरपालिका– ५ का मोहम्मद जाकिर र उनकी श्रीमती हसिना खातुनको गाउँलेले एकपक्षीय ढंगले सम्बन्ध–विच्छेद गराएको केटा पक्षको आरोप छ । 

जाकिरकी आमा सहेबुन खातुनले गाउँलेले सम्बन्ध–विच्छेद गराएर ६ लाख रुपैयाँ जरिवानाको तीन दोब्बर कपाली तमसुक बनाई रकम नतिरेको भन्दै आफू र छोरामाथि निर्घात कुटपिट भएको बताइन् । मंगलबार राति सामाजिक छलफलका नाममा आफूरूमाथि कुटपिट भएको उनको भनाइ छ । कुटपिटबाट देब्रे आँखामाथि निधारमा गहिरो चोट लागेकी खातुन स्थानीय धमिनी हस्पिटलमा राति नै उपचार गराएर घर फर्केकी थिइन्् । शरीरका विभिन्न भागमा चोट लागेका जाकिरको पनि त्यहीँ उपचार गरिएको थियो ।

गाउँलेले तोेकेको जरिवाना रकम नतिरेको भन्दै स्थानीय मुस्तफा मियाँ, इस्राइलले उक्साएपछि गुलसाना खातुन, एवराज, नूरबसरलगायतले आफूहरूमाथि कुटपिट गरेको बुधबार बिहान गरिएको पत्रकार सम्मेलनमा आमा सहेबुन खातुनले बताइन् ।

इलाका प्रही कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बुधबार दिउँसो केटा पक्षबाट दुई र केटी पक्षबाट दुई गरी चारजना घाउ जाँच गराइदिन निवेदनसहित आएपछि लहानस्थित प्रादेशिक अस्पतालमा घाउजाँचका लागि पठाइएको जानकारी दिए । ‘दुवै पक्षबाट दुईजना सामान्य घाइते छन्,’ मैनालीले भने, ‘त्यसबाहेक प्रहरीमा अन्य कुनै उजुरी आएको छैन ।’ 

धनुषाको जनकनन्दनी गाउँपालिका– २ घर भई जनकपुरधाम उपमहानगरपालिका– १ रेल्वे स्टेसन क्षेत्रमा बस्दै आएका सेदर आलम र तेहरा खातुनकी छोरी हसिना खातुनको पाँच वर्षअघि लहान– ५ का मो. साजिदका माहिला छोरा जाकिरसँग सामाजिक परम्पराअनुसार भएको थियो । 

जाकिरकी आमा सहेबुनले विवाहपछि प्रायः माइत बस्दै आएकी बुहारी हसिनाले ६ महिनाअघि आफ्नो विवाह दर्ता र छोराको जन्मदर्ता गरिदिनुपर्ने नभए सम्बन्ध–विच्छेद गर्ने बताएको जानकारी दिइन् । ‘विवाहको एक वर्षपछि नाति आहिल जन्मियो,’ सहेबुनले भनिन्, ‘प्रायः माइती बस्ने बुहारीले करिब ६ महिनाअघि मैले भनेको नमान्ने भए सम्बन्ध–विच्छेद गर्छु भनेपछि लहानमै रहेका उनका आफन्त पर्नेले बलुवाटोलस्थित मस्जिदमा एकपक्षीय छलफल राखेर ६ लाख रुपैयाँ जरिवाना तोकी सामाजिक रूपले सम्बन्ध–विच्छेद गराए ।’ 

सहेबुनका श्रीमान् मो. साजिद वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् । छोराको सम्बन्ध–विच्छेद गराई ६ लाख जरिवाना तिर्ने कागजात गरेपछि साजिदलाई जानकारी गराइएको थियो । साजिदले ६ महिनामा जरिवाना रकम तिर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, पछि चार महिनामै तिर्नुपर्छ भन्दै सम्धिनी तेहरालाई साहु बनाएर जबर्जस्ती घरायसी लेनदेनको नाममा १८ लाख ७५ हजार रुपैयाँको कपाली तमसुक बनाएको सहेबुनले गुनासो गरिन् । तमसुकमा ९ असार ०७९ मा लिएको रकम १० कात्तिक ०७९ मा तिरिसक्नुपर्ने अन्यथा साँवा र सोको हुन आउने ब्याज बुझाउन नसके घरघराना चलअचल सम्पत्तिबाट असुलउपर गरिने उल्लेख छ ।