१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘एक घर, एक बिमा’को अवधारणा लागू गर्दैछौँ : अर्थमन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:१४:oo

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बिमामा सर्वसाधारण नागरिकको पहुँच बढाउनका लागि सरकारले एक घर एक बिमाको अवधारणा लागू गर्न लागेको बताएका छन्। 

बिमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा उद्घाटन गर्दै उनले हरेक घरमा बिमा पुर्‍याउने सरकारको लक्ष्य रहेकोले त्यसका लागि एक परिवार एक बिमाको अवधारणा छिट्टै कार्यान्वयनका ल्याउन लागिएको जानकारी दिए। 

गरिब, विपन्न र कृषिलाई बीमामा समेट्ने सरकारको नीति रहेको अर्थमन्त्री शर्माको भनाइ छ। विपन्न नागरिकले बिमा शुल्क तिर्नु नपर्ने गरी सरकारले ऐनमा व्यवस्था गरेको उल्लेख गर्दै उनले गरिब, विपन्न र कृषि क्षेत्रलाई समेट्ने गरी लघुबीमा कार्यान्वयन गर्न लागिएको बताए। 

‘हरेकको घरमा बिमा हुनुपर्छ, हामी त्यो लागू गर्दैछौँ।’ उनले भने, ‘गरिब, विपन्न र कृषि क्षेत्रलाई समेट्ने गरी लघुबिमा कार्यान्वयनमा आउन लागेको छ।’

कृषि क्षेत्रको बिमा गर्न किसानले अब पैसा तिर्नु नपर्ने उनले बताए। सम्पत्ति र हरेक पूर्वाधारको पनि बिमा गर्न आवश्यक रहेको उनले बताए। बिमा विस्तार गर्न सरकारले ल्याएका नीति पर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले तीनै तहका सरकार मिलेर त्यसको कार्यान्वयन गर्नुपर्ने बताए। 

उनले बीमा समितिको कार्यालय स्थापना भएसँगै सुदूरपश्चिम प्रदेशमा बिमाको विस्तार हुने विश्वास व्यक्त गरे। बीमितका समस्या र गुनासा समाधान गर्न, बिमा कम्पनीको नियमन र निर्देशन गर्न तथा दावी भुक्तानीमा ढिलाइ हुने गरेको गुनासो सुनुवाइ गर्न समितिले काम गर्ने उनको भनाइ छ।

बिमासम्बन्धी साक्षरता जनतामा पुर्‍याउने काम पनि समितिले गर्ने अर्थमन्त्री शर्माले बताए । ‘लगानी जोखिम न्यूनिकरण पनि समितिको काम हो।

सुरक्षा जोखिममार्फत लगानीकर्तालाई सुरक्षण गर्न र लगानीको वातावरण तयार गर्न पनि सुदूरपश्चिममा समितिको कार्यालय स्थापना गरिएको हो।’ उनले भने, ‘यहाँ बीमाका दावी, भुक्तानीका असन्तुष्टि, गुनासा सुनिन्छन्। तिनको समाधान समितिको कार्यालयले गर्नेछ।’

अर्थमन्त्री शर्माले सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको औँल्याए। देशभर ४१.२ मा प्रतिशतमा बीमाको पहुँच रहेकोमा सुदूरपश्चिममा १९.१७ प्रतिशतमा मात्र बिमाको पहुँच पुगेको तथ्यांक उनले प्रस्तुत गरे। 

बिमा कम्पनीहरुका देशभर तीन हजार ३६६ शाखा रहेकोमा सुदूरपश्चिममा तीन सय २७ शाखामात्र रहेका तथा बिमा कम्पनीमा एक हजार २३१ को संख्यामा रोजगारी रहेकोमा सुदूरपश्चिममा छ सय ८७ मात्र रहेको अर्थमन्त्री शर्माले जानकारी दिए।

‘यसले सुदूरपश्चिम बिमाको पहुँचबाट टाढा छ भन्ने देखाउँछ। यहाँ बिमाको विस्तार आवश्यक छ’ उनले भने, ‘बिमामा पहुँच कम भएकैले त्यसलाई बढाउन मैले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा समितिको कार्यालय खोल्न निर्देशन दिएको हो।’ समयमा बिमा भुक्तानी गर्दा बिमाप्रतिको विश्वास बढ्ने भन्दै उनले समितिले त्यसमा काम गर्ने बताए।

सरकारले साना किसानलाई काम गर्न सक्ने गरी आवश्यकताअनुसार विनाधितो ऋण उपलब्ध गराउनका लागि लघुवित्त कोष स्थापना गर्न लागेको जानकारी पनि उनले दिए। 

कोषमार्फत किसानको खेतबारीमै ऋण दिने व्यवस्थासहितको कार्यविधि आउने मन्त्रीपरिषद् बैठकले पास गर्ने शर्माले बताए। बिमाको क्षेत्र विस्तारसँगै बीमामा ठूलो जनशक्तिको खाँचो पर्ने भएकाले त्यसका लागि सरकारले बिमा कलेजको स्थापना गरेर जनशक्ति पूर्ति गर्ने उनले बताए।
      
    
 

ad
ad