मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश सुवेदी
२०७९ असोज ७ शुक्रबार ०८:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अलमुताइरीले निकाले प्रदीपले सबै खेलाडी बोलाए

Read Time : > 1 मिनेट
रमेश सुवेदी
२०७९ असोज ७ शुक्रबार ०८:०९:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि बिहीबार खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले ११ असोजमा हुने खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका सबै खेलाडीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा स्थान बनाएका छन् । 

आईलिग खेल्न भारत पुगेका गोलरक्षक किरणकुमार लिम्बू फर्कने वा नफर्कने भन्ने केही स्पष्टता छैन । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द र बहराइन पुगेका मनीष डाँगी नेपाल फर्किएका छन् । गोलरक्षक विकेश कुथू र डिफेन्डर रञ्जित धिमालले बंगलादेशविरुद्ध पुनरागमन गर्नेछन् । ०७७ चैतमा थ्री नेसन्स कप फाइनलपछि रञ्जित र विकेशले ०७८ भदौमा भारतविरुद्ध मैत्रीपूर्ण खेलपछि टोलीमा स्थान बनाएका हुन् । 

दुई खेलाडीले पहिलोपटक स्थान बनाउँदा सुदीप गुरुङ ६ महिनापछि टोलीमा पुनरागमन गरेका छन् । सुमन लामा अहिले अस्ट्रेलियामा छन् । बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने खेलमा हुमागाईंले आश्चर्यजनक रूपमा चार गोलरक्षक टोलीमा समावेश गरेका छन् । पूर्वप्रशिक्षक अलमुताइरीले अन्तिमपटक कप्तान बनाएका स्ट्राइकर नवयुग श्रेष्ठ यसपटक छैनन् ।

०७९ वैशाख दोस्रो साता तत्कालीन प्रशिक्षक अलमुताइरीले अभद्र व्यवहार गरेको जनाउँदै विमल घर्तीमगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, तेज तामाङ, सुमन, दिनेश राजवंशी, अञ्जन विष्ट, रोहित चन्द र अनन्त तामाङलाई राष्ट्रिय टोलीबाट बाहिर राखेका थिए

०७९ वैशाख दोस्रो साता तत्कालीन प्रशिक्षक अलमुताइरीले अभद्र व्यवहार गरेको जनाउँदै १० खेलाडीले होटेल छोडेका थिए । विमल घर्तीमगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, तेज तामाङ, सुमन, दिनेश राजवंशी, अञ्जन विष्ट, रोहित चन्द र अनन्त तामाङले प्रशिक्षक अलमुताइरीको आलोचना गरे । तत्कालीन कप्तान किरणले पनि खेलाडीकै समर्थन जनाए । तत्कालै अलमुताइरीले विद्रोह गरेका सबै खेलाडीलाई राष्ट्रिय टोलीबाट बाहिर राखे ।

  ऋतिक र आशिष  पहिलोपटक टोलीमा
ऋतिक खड्का र आशिष राईले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । प्रशिक्षक हुमागाईंले थ्री स्टार क्लबबाट ए डिभिजन लिग खेलेका ऋतिक र चर्च ब्वाइजबाट बी डिभिजन लिग खेलेका दुई खेलाडीलाई टोलीमा बोलाएका हुन् ।

राइट विंगर ऋतिक ब्रिगेड ब्वाइज क्लब (बिबिसी)ले ललित स्मृतिको उपाधि जित्दा टोलीमा समावेश थिए । बिबिसीबाट नै एक सिजन ए डिभिजन लिग खेले ।आशिष चर्च ब्बाइजलाई ‘ए’ डिभिजन लिगमा बढुवा गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । ‘बी’ डिभिजन लिग ०७८ मा आशिष सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । 

 नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथू
रक्षक : रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दिनेश राजवंशी, विकाश खवास, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजजिउ ठकुरी, एरिक विष्ट
स्ट्राइकर : विमल घर्तीमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनीष डाँगी, आशिष चौधरी

पत्रकार सम्मेलन, तर खेलाडीको नाम वेबसाइटमा 
एन्फाले बंगलादेशविरुद्ध खेल्ने २३ खेलाडीको नाम सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा खेलाडीहरूको सूची पत्रकारलाई उपलब्ध गराएनन् । आधा घन्टासम्म चलेको पत्रकार सम्मेलनमा को बाहिरिए र कसले स्थान बनाए भन्ने मेसो पत्रकारले पाउन सकेनन् । खेलाडीको लिस्ट माग्दा कार्यवाहक प्रशिक्षक हुमागाईंले गोप्य राख्न चाहे । पत्रकार सम्मेलन सकिएको २५ मिनेटपछि एन्फाले आफ्नै वेबसाइटबाट खेलाडीको नाम सार्वजनिक गर्‍यो ।