मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार ०९:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्व बैंकको ५३ अर्ब ऋण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार ०९:०५:००

 विश्व बैंकले नेपाललाई करिब ५३ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ । नेपालको क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) र डिजिटल नेपाल गति वृद्धि (डिएनए)का लागि विश्व बैंकले उक्त ऋण दिने भएको हो ।नेपाल र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँबराबरको सहुलियतपूर्ण सम्झौता आइतबार भएको हो ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र विश्व बैंकका तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्मा पनि उपस्थित थिए । सम्झौताअनुसार विश्व बैंकले एक्सेसका लागि ३४ अर्ब ९६ करोड (२७ करोड ५० लाख अमेरिकी डलर) बराबर र डिएनएका लागि १८ अर्ब (१४ करोड अमेरिकी डलर) बराबर सहुलियतपूर्ण ऋण दिनेछ ।

सम्झौतामा हस्ताक्षरपछि अर्थसचिव पुष्करले यी आयोजनाहरूले नेपालका आर्थिक सम्भावनाहरू उजागर गर्न सहयोग गर्ने बताए । ‘समावेशी रूपमा आर्थिक–सामाजिक विकासलाई सघाउन सुदृढ आबद्धता तथा व्यापार, सेवाग्राही र व्यवसायीबीच सूचना प्रविधिमार्फत सम्पर्क तथा क्षेत्रीय बजारहरूमा पहुँच आदिका माध्यमबाट नेपालका आर्थिक सम्भावनाहरू उजागर गर्न नेपाललाई यी आयोजनाहरूले सहयोग गर्नेछन्,’ उनले भने । 

एक्सेसअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिँगे–चन्द्रौटा सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ । सडकको दूरी ६९ किलोमिटर रहेको छ । यसले भारतको पश्चिमी बन्दरगाहसम्म पहुँच अभिवृद्धिका साथै यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । त्यस्तै, डिएनए आयोजनाले सरकारले ०७६ सालमा घोषणा गरेको डिजिटल अर्थतन्त्र रणनीतिअन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सघाउनेछ । यसले उच्च गुणस्तरीय इन्टरनेट सेवा ग्रामीण क्षेत्रमा समेत पु¥याउन मद्दत गर्ने बताइएको छ ।