भूकम्प गएको सात वर्ष बित्दा पनि एक सय ३९ वटा महत्वपूर्ण ऐतिहासिक सम्पदा पुनर्निर्माण अघि बढ्न सकेको छैन । पुनर्निर्माण नहुँदा राजधानीदेखि विभिन्न जिल्लामा रहेका ऐतिहासिक सम्पदा अलपत्र छन् । भूकम्पले क्षति पुर्याएका नौ सय २० मध्ये हालसम्म ६ सय ७३ वटा सम्पदाको पुनर्निर्माण मात्रै सकिएको छ । यी सम्पदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले पुनर्निर्माण गरेका हुन् ।
अन्य केही सम्पदाको पुनर्निर्माण सुरु भए पनि केहीको योजनासमेत बनेको छैन । पुनर्निर्माण प्राधिकरण १० पुस ०७८ मा खारेज भएपछि बाँकी रहेका सम्पदा पुनर्निर्माण झनै अलमलमा परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार विभागले केही सम्पदा पुर्निर्माण गर्दै आए पनि बाँकी रहेका सम्पदा पुनर्निर्माण कार्यमा अलमल भइरहेको छ । ‘यसअघि पुनर्निर्माण प्राधिकरणमातहत सबैजसो सम्पदा र क्षतिग्रस्त भवनको निर्माण कार्य भइरहेको थियो,’ उनले भने, ‘प्राधिकरणको कार्यकाल सकिएपछि पुनर्निर्माण अलमल भइरहेको हो ।’
योजना बन्यो, काम सुरु भएन
भूकम्पले क्षति पुर्याएका केही सम्पदाको पुनर्निर्माणका लागि योजना बने पनि काम भने सुरु हुन सकेको छैन । जसमध्ये भक्तपुर नालामा रहेको भगवती र भीमसेन मन्दिर, जग्गानाथ मन्दिर–भक्तपुर दरबार स्क्वायर, रजग्गनाथ मन्दिर–अरनिको सदन, दुइटा विष्णु मन्दिर, आगाम्छेँ र काशी विश्वनाथ मन्दिर–हनुमानढोका, बालकुमारी मन्दिर–ट्यागल ललितपुर, खुदीको कलात्मक पौवा–लमजुङ, लालबैठक दरबार–भक्तपुर दरबार, ब्रह्मयाणीमा मन्दिर–ठेचो, देगुतलेजु मन्दिर–पाटन ।
पुनर्निर्माण भइरहेका सम्पदाहरू
हाल ३२ वटा सम्पदाको पुनर्निर्माण जारी छ । यी सम्पदा दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको पुरातत्व विभागले जनाएको छ । विभागका अनुसार वंशीगोपाल कृष्ण मन्दिर–भक्तपुर नपा–३ तेखाचो, मालेपार्टी–सुनकोसी–६ सिन्धुली, सत्यश्वर पौवा–रुरु पाल्पा, नन्दीकेश्वर महादेव मन्दिर–सूर्यविनायक, यक्षश्वर महादेव मन्दिर, पुजारी मठ–दरबार स्क्वायर भक्तपुर, बैरागी अखडाको राम मन्दिर–त्रिपुरेश्वर, नन्दिकेश्वर महादेव मन्दिर–नक्साल, नारायण मन्दिर सत्तल–नारायणहिटी दरबारपरिसर, चाँगुनारायण मन्दिरपरिसरका सत्तलहरू–भक्तपुर, कालिका मन्दिर र रंगमहल–गोरखा दरबार, चामरी भञ्ज्याङ पार्टी–नुवाकोट, नन्दीश्वर महादेव मन्दिर पुजारी र भजन घर–म्हेपी, राष्ट्रिय संग्रहालयको भित्री पर्खाल र कुमारी मन्दिर–छाउनी, किमडोल गुम्बाघरपरिसरको सत्तल–स्वयम्भू, विद्यापीठ–भक्तपुर दरबार, भवानी मन्दिर–पाल्पा रिब्दीकोट, लक्ष्मीनारायण मन्दिर र परिसरको पार्टी–रामपुर पाल्पा, कालिञ्चोक मन्दिरपरिसरको पार्टी–दोलखा, विश्वेश्वर महादेव मन्दिर–गोरखा, एतिहासिक धर्मशाला–चित्लाङ, अवाल ब्रह्मचारी सत्तल–भोजपुर, खरिदार पार्टी र चौघरा सत्तल–काभ्रे नवबुद्धलगायत सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ ।
सय सम्पदा पुनर्निर्माणको न योजना, न बजेट
अन्य केही सम्पदा पुनर्निर्माणका लागि बजेट र योजना निर्माण भएपछि सय सम्पदा भने सरकारको प्राथमिकतामा नै परेका छैनन् । भूकम्प गएको सात वर्ष बित्दा पनि पुनर्निर्माण नभएपछि ती सम्पदा अलपत्र अवस्थामा छन् । जसमध्ये जगन्नाथ मन्दिर–सुन्धारा, शेषनारायण मन्दिरपरिसरको सत्तल–पाटन, बलभद्र सुभद्रा मन्दिर–टेकु, राणाकालीन नवआदर्श स्कुल–हनुमानढोका, श्यामसुन्दर मन्दिर–भीमेश्वर दोलखा, प्रसन्नशील महाविहार र आगाम्छँे–भक्तपुर, कृष्ण मन्दिर–चौतारा सिन्धुपाल्चोक, चुटिङघाटका सम्पदा–भक्तपुर, पृथ्वीनारायण शाहको गोर्खाली सेनाले वास बस्ने गरेको ऐतिहासिक पौवा घर–नीलकण्ठ धादिङ, बुच्चाकोट भगवती मन्दिर–काभ्रे, दतात्रेय मन्दिर–ललितपुर क्वाल्खु ललितपुर, दपेश्वर महादेव मन्दिर–मण्डनदेउपुर काभ्रे, सपनेश्वर महादेव मन्दिर–नमोबुद्ध काभ्रे, भीममुत्तेश्वर मन्दिर–कालिमाटी, बागदरबार–सुन्धारालगायत ।
एक सय ८७ गुम्बाको पुनर्निर्माण हुन सकेन
गत पुसमा पुनर्निर्माण प्राधिकरण खारेज भएपछि सोअन्तर्गत पुनर्निर्माणको अवस्थामा रहेका सबै सम्पदा पुरातत्व विभागलाई हस्तान्तरण भयो । तर, हस्तान्तरण भएको आठ महिना बित्दा पनि ती गुम्बाहरूको बाँकी काम भने सुरु हुन सकेको छैन । प्राधिकरणले दुई सय १३ वटा गुम्बाको पुनर्निर्माण नसकी विभागलाई हस्तान्तरण गरेको थियो । तर, ती गुम्बाको बाँकी कामका लागि रि–डेन्डर गर्नुपर्नेलगायत कारण देखाउँदै विभागले काम नै सुरु गरेको छैन ।
विभागका अनुसार प्राधिकरणले एक सय ९१ वटा गुम्बाको डिपिआरसहित हस्तान्तरण गरेको थियो । तर, त्यसमध्ये २६ वटा मात्रै गुम्बाको काम अघि बढाएको विभागका प्रवक्ता कँुवरले बताए । ‘यो वर्ष हामीले २६ वटा मात्रै पुनर्निर्माण सकाउने हो, त्यसका लागि ५७ करोड बजेट छुट्याएका छौँ,’ उनले भने, ‘अन्य सम्पदाभन्दा गुम्बाको पुनर्निर्माण कार्य अलि कठिन छ ।’ उनले गुम्बा अग्ला पहाड र हिमाली भेगमा रहेकाले बाह्रैमास काम गर्न नसकिने बताए । सबैजसो गुम्बाको पुनर्निर्माण पाँच वर्षमा सकिने विभागको आकलन छ । विभागले एक सय वर्ष पुराना गुम्बाको मात्रै पुनर्निर्माण गर्ने जनाएको छ । सय वर्षभन्दा कमका गुम्बा पुनर्निर्माण नगरिने प्रवक्ता कुँवरको भनाइ छ ।
नौ अर्ब ६९ करोड बजेटमध्ये पाँच अर्ब ३९ करोड खर्च
भूकम्प गएलगत्तै सरकारले देशभर क्षतिग्रस्त सम्पदाको रिपोर्ट तयार गरेको थियो । त्यसमध्ये नौ सय २० वटा सम्पदा पुनर्निर्माण गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभाग योजना अघि सरेका थिए । क्षतिग्रस्त सम्पदा र भवनहरूको पुनर्निर्माण पाँच वर्षमा सक्ने गरी सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । तर, प्राधिकरणले पाँच वर्षको अवधि र केही समय थप गरेर पनि सम्पदा पुनर्निर्माण सम्पन्न गर्न सकेन । त्यतिवेला देशभरका सम्पदा पुनर्निर्माणका लागि नौ अर्ब ६९ करोड २१ लाख ७७ हजार बजेट स्टिमेट गरिएको थियो । त्यसमध्ये प्राधिकरण र विभागले पाँच अर्ब ३९ करोड बजेट खर्च गरिसकेका छन् ।
प्राथमिकताका आधारमा सम्पदा पुनर्निर्माण भइरहेको छ
रामबहादुर कुँवर, प्रवक्ता,पुरातत्व विभाग
अहिले सबैजसो सम्पदाको पुनर्निर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । यसअघि प्राधिकरणले गर्न नभ्याएका काम पनि हामीलाई नै हस्तान्तरण भएका छन् । अन्य कतिपय सम्पदा पुनर्निर्माणका लागि बजेट र योजना तय भएको छैन । योजना अघि बढेका सम्पदाहरूको पुनर्निर्माण सकेपछि अन्य सम्पदा पुनर्निर्माण थाल्छौँ । अहिले केही सम्पदालाई हामीले प्राथमिकतामा राखेका पनि छौँ ।