१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय चुनावभन्दा  २,५४,८४७ मतदाता बढी

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o६:oo

- स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए

- ४ मंसिरमा हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम 

गत स्थानीय चुनावको तुलनामा आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा साढे दुई लाखभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले शुक्रबार प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार ४ मंसिरमा हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम हुने भएका छन् । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । दुई लाख ५४ हजार ८४७ मतदाता यसपटक थपिने भएका हुन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपिलयाका अनुसार यो संख्या १९ साउनभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो ।

आयोगका अनुसार कुल संख्यामध्ये ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै, १० हजार ८९१ मतदानस्थल र २२ हजार २२६ मतदान केन्द्र रहनेछन् ।

सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा, कम कर्णालीमा 
मतदाता नामावलीअनुसार सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम कर्णालीमा हुनेछन् । बागमतीमा ३४ लाख ७१ हजार ४९२ मतदाता हुँदा कर्णाली प्रदेशमा १० लाख आठ हजार ४०३ मतदाता छन् । बागमतीपछि प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ मतदाता छन् । 

त्यस्तै, सबैभन्दा धेरै मतादाता मोरङमा छन् । आयोगका अनुसार मोरङमा सात लाख ३५ हजार ५२५ मतदाता छन् । त्यसपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता भने मनाङमा छन् । त्यहाँ ६ हजार ७७९ जना मतदाता मात्रै छन् । त्यसपछि मुस्ताङमा १० हजार ९५७ जना र डोल्पामा २२ हजार ७७४ मतदाता रहेका छन् । 

सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा
निर्वाचन आयोगले शुक्रबार नै मतदान केन्द्र र स्थल पनि तय गरेको छ । मतदाता संख्याका आधारमा मतदानस्थल र केन्द्र तय गरिएका छन् । ‘सबैभन्दा बढी मतदाता भएका हिसाबले सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा राखेका छौँ । त्यस्तै, कम मतदाता संख्या भएको मनाङमा सबैभन्दा कम हुनेछन्,’ उनले भने । 

थपलियाका अनुसार १० हजार ८९१ मतदानस्थल र २२ हजार २२६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये मोरङमा मात्रै ८३९ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसपछि काठमाडौंमा ७६७ र झापामा ७६६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मतदाता रहेको मनाङमा २८ वटा केन्द्र मात्रै तोकिएको छ । त्यसपछि मुस्ताङमा ३९ र रसुवामा ५२ वटा मतदान केन्द्र तय गरिएको छ । 

आयोगले सबैभन्दा बढी मतदान केन्द्र भएको प्रदेशको नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा हुने भएको छ । त्यहाँ चार हजार २३५ वटा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी बागमती प्रदेशमा चार हजार १४३ र प्रदेश १ मा चार हजार ९९ वटा मतदान केन्द्र कायम गरिएको छ । 

सबैभन्दा कम मतदान केन्द्र भने कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा एक हजार ४०३, सुदूरपश्चिम प्रदेशमा दुई हजार १४६ र गण्डकी प्रदेशमा दुई हजार ३३९ वटा मतदान केन्द्र कायम गरिएको हो ।

ad
ad