Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रीलंकाविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै नेपाली महिला टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२०७९ भदौ २८ मंगलबार ०९:१७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप : समूह विजेतासँगै नेपाल सेमिफाइनलमा

Read Time : > 2 मिनेट
रमेश सुवेदी काठमाडौं
२०७९ भदौ २८ मंगलबार ०९:१७:००

नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२२ को समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । डेंगुले सुरुका ११ मध्ये दुई मुख्य खेलाडी बाहिर रहँदा पनि नेपालले श्रीलंकाविरुद्ध स्वाभाविक खेल्न सफल भयो । दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । रश्मिकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले समान एक गोल गरे । लगातार दुई खेल जितेको नेपाल ६ अंकका साथ समूहको शीर्ष स्थानमा रह्यो । 

समान दुई खेलबाट तीन अंक बटुलेको भुटान समूह उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्‍यो । साफ च्याम्पियनसिपको इतिहासमा भुटान पहिलोपटक सेमिफाइनलमा पुगेको हो । श्रीलंका दुवै खेलमा पराजित भयो । श्रीलंका प्रतियोगितामा गोलविहीन रह्यो । श्रीलंकाले ११ गोल बेहोर्‍यो । नेपालले फाइनल प्रवेशका लागि भारत र बंगलादेशमध्ये एक टोलीसँग खेल्नेछ । पहिलोपटक नेपाली टोलीको कप्तानी गरिरहेकी एन्जिला तुम्बाप्पो सुब्बाले दुई खेलमा ‘क्लिन सिट’ राखिन् । समूहको पहिलो खेलमा सावित्रा भण्डारी र अनिता बस्नेतको दुई–दुई गोलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो । खेलपछि नेपाली टिमका प्रशिक्षक कुमार थापाले टोलीले जित निकाले पनि आफू प्रदर्शनबाट सन्तुष्ट नभएको बताए । श्रीलंकाका प्रशिक्षक चामिदा नीलले कोभिड १९ र आर्थिक मन्दीका कारण टोलीको प्रदर्शन राम्रो नभएको बताए ।  

 अमिषाको दुई गोल 
प्रशिक्षक थापाले भुटानविरुद्ध सुरुका ११ खेलाडीमा अमिषा र सावित्राको स्थानमा रेखा पौडेल र रश्मिकुमारीलाई मौका दिएका थिए । पूरा समय खेलेकी रश्मिले खेलको नवौँ मिनेटमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । डिफेन्डर हिराकुमारी भुजेलले बायाँ भागबाट गरेको क्रसलाई रश्मिले बक्सभित्रबाट हेडिङ गोल गरिन् । राष्ट्रिय टोलीमा रश्मिको यो पहिलो गोल हो । खेलको ११औँ मिनेटमा मिडफिल्डर सरुले नेपाललाई २–० को अग्रता दिलाइन् । अमृताले दायाँ भागबाट गरेको क्रसमा सरुले उत्कृष्ट हेडिङ गोल गर्न सफल भइन् । खेलको १७औँ मिनेटमै श्रीलंकाविरुद्ध दबाब बढाउँदै नेपालले तेस्रो गोल ‘सेट पिस’मा गर्‍यो । डिफेन्डर अमृताले अनिता बस्नेतको कर्नरमा हेडिङ गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले चौथो गोल गरिन् । राष्ट्रिय टोलीबाट पहिलो गोल गरेकी दीपाले श्रीलंकाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै पहिलो हाफमा ४–० को अग्रता नेपाललाई दिलाइन् ।

समूह ‘बी’मा लगातार दुई जित निकाली ६ अंक बटुलेको नेपाल अन्तिम चारमा प्रवेश गरेको छ । नेपालको जितसँगै भुटान पहिलोपटक सेमिफाइनलमा 

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो । प्रशिक्षक थापाले ५५औँ मिनेटमा रेखालाई विस्थापित गरेर अमिषालाई मौका दिए । श्रीलंकाको बलियो डिफेन्सलाई तोड्दै अमिषाले पहिलो गोल गरिन् । श्रीलंकाको डिफेन्डरको गल्तीको फाइदा उठाउँदै अमिषाले खेलको ७४औँ मिनेटमा गोल गरिन् । इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् । रश्मिकुमारीले काउन्टरमा बढाउँदै अमिषाले उत्कृष्ट गोल गरिन् । खेलको ‘प्लेयर अफ दी म्याच’ रश्मि नै भइन् । 

 निशाको डेब्यु
डिफेन्डर निशा थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी छिन् । प्रशिक्षक थापाले खेलको ७६औँ मिनेटमा पुनम जर्घामगरको स्थानमा निशालाई डेब्यु गराएकी हुन् । यससँगै थापाले यस साफमा निशासहित, अमिषा, दीपा र समीक्षा घिमिरे चारै खेलाडीलाई डेब्यु गराएका छन् । सेन्ट्रल डिफेन्डर निशाले नेपालको यू–१५, १६, १९ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । २२ वर्षीया निशा रौतहट जिल्लाकी हुन् । घरेलु प्रतियोगितामा भने निशाले एपिएफ फुटबल क्लबको प्रतिनिधित्व गर्छिन् । 

सावित्रालाई डेंगु
पहिलो खेलमा मञ्जलीकुमारी योञ्जनलाई डेंगुका कारण गुमाएको नेपालले दोस्रो खेलमा प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारीलाई समेत डेंगुकै कारण गुमायो । आइतबार डेंगु देखिएपछि सावित्राले होटेलमै विश्राम गरिन् । यद्यपि, सावित्राको अभावमा खेलाडीले अग्रपंक्तिमा कुनै दबाब लिएनन् । २१ भदौमा भुटानविरुद्ध २ गोल गरेकी सावित्रा दोस्रो खेलमा भने टोलीमा समावेश हुन पाइनन् । ‘तीन दिनदेखि डेंगु लागेकाले विश्राममा छु । त्यस्तो समस्या छैन । अर्काे खेलसम्म फर्कन्छु होला,’ अन्तर्राष्ट्रिय खेलमा ४० गोल गरेकी सावित्राले नयाँ पत्रिकासँग भनिन् । मिडफिल्डर मञ्जलीसमेत दोस्रो खेलमा उपलब्ध हुन सकिनन् । पहिलो खेलपछि प्रशिक्षक थापाले मञ्जली श्रीलंकाविरुद्ध उपलब्ध हुन सक्ने बताएका थिए । प्रशिक्षक थापाले सावित्राको अभावमा पनि युवा खेलाडीले राम्रो प्रदर्शन गर्न सफल भएकोमा खुसी व्यक्त गरे । 

गोल निस्कियो, तर खुसी छैन : प्रशिक्षक कुमार थापा
आज वर्षा भएन । त्यसले पनि हामी भाग्यमानी र सफल भयौँ । खेल राम्रो भयो । गोल पनि समयमै निस्कियो । तर, टोलीको प्रदर्शनमा म खुसी छैन । यस्तो खेलले सेमिफाइनल राम्रो हुँदैन । दोस्रो खेलमा पनि गोल गर्न हतारमा देखियौँ । यसबाट म खुसी छैन । हाम्रो डिफेन्डर र गोलरक्षकले मौका नै पाएका छैनन् । उनीहरूको क्षमता जाँच्ने अवसर दुवै खेलमा भएन । सेमिफाइनलमा बंगलादेश, भारत जुन टिम भए पनि प्रतिस्पर्धा निकै हुन्छ । भारतसँग अनुभव छ । बंगलादेशको टेक्निकल खेल राम्रो छ । हामी घरेलु दर्शकमाझ राम्रो प्रतिस्पर्धा दिन्छौँ ।