१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३१:oo

सरकारले नेपाल मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ । सार्वजनिक रूपमा प्रश्न उठेपछि विकास तथा प्रविधि समितिमा पठाइएको विधेयकमा फास्ट ट्रयाकमा छलफल गरेर पारित गर्ने तयारी छ । 

प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्रै रहेकाले अन्तिम चरणमा पुगेको विधेयकलाई त्यसअगावै कानुनको रूप दिन सरकारी ताकेता छ । आएका संशोधन र सार्वजनिक चासोमा छलफल गरेर विधेयकलाई थप परिष्कृत गर्न विकास समितिले आइतबार बैठक बोलाएको छ । बिहान साढे १० बजे बस्ने बैठकमा संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । 

विधेयकमा चारवटा संशोधन प्रस्ताव परेका छन् । दफावार छलफलका लागि २२ भदौमा प्रतिनिधिसभाले समितिमा पठाएको विधेयकमा यसअघि नै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले व्यापक संशोधन गरेको थियो । 

विधेयकमा चारवटा संशोधन

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले अहिले केही प्रावधानमा उठेका चासो र सांसदबाट आएका संशोधनलाई समेटेर विधेयकलाई पारित गरिने जानकारी दिइन् । ‘समय छोटो छ, आइतबार बैठक राखेका छौँ । विधेयक माननीयलाई अध्ययनका लागि दिइएको छ । सरोकारवालासँग, विज्ञ र संशोधनकर्ता माननीयसँग छलफल गर्छाैँ । सबैसँग छलफल गरेर प्रतिवेदन पेस गर्छाैँ,’ उनले भनिन् । 

संसद् सचिवालयका अनुसार विधेयकमा कांग्रेस महामन्त्री गगन थापासहित चारवटा संशोधन परेको छ । थापाले काउन्सिलको अध्यक्ष अदालतको न्यायाधीश हुन योग्य व्यक्ति वा पत्रकारिताको क्षेत्रमा कम्तीमा २० वर्षको अनुभवसहित विशिष्ट योगदान पुर्‍याएको व्यक्ति हुनुपर्ने संशोधन राखेका छन् ।

त्यस्तै, पत्रकारको परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थाको पूरै दफा हटाउनुपर्ने, पत्रकारका रूपमा काम गर्न चाहनेका लागि परीक्षासम्बन्धी कार्य गर्ने शब्द हटाएर त्यसमा पत्रकारको दर्ता तथा पत्रकारहरूको विवरण संकलन र अद्यावधिक गरी त्यसको अभिलेख राख्ने शब्द राख्न थापाले प्रस्ताव गरेका छन् । कांग्रेस सांसद प्रकाश स्नेहीले नयाँ पत्रकारको परीक्षा लिने प्रावधान हटाउन संशोधन हालेका छन् ।

त्यस्तै, आचारसंहिता गम्भीर उल्लंघनकर्ता ठहर भएका सञ्चारमाध्यम र सम्पादकलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न लगाउने तथा कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने भन्ने वाक्यांश थप गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

माओवादी केन्द्रका वर्षमान पुन, यशोदा सुवेदी गुरुङ, रेखा शर्मा र अमृता थापाले हालेको संयुक्त संशोधनमा क्षतिपूर्तिसम्बन्धी व्यवस्थामा व्यक्तिले भन्ने शब्द पछाडि काउन्सिलको निर्णयमा चित्त नबुझेमा भन्ने शब्द थप्न प्रस्ताव गरिएको छ । 

ad
ad