मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायो : पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन्।  शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको, तर चुच्चे नक्साबारे कुनै वाक्य बोल्न नसकेको बताए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको वेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए । उनले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए।

उनले गठबन्धन सरकारले संसद्को राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाई सीमा मिचेर जोकोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे । उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हित, स्वाभिमानविपरीत रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए। उनले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरू गरिरहेको भन्दै निन्दा र भर्त्सना गर्नुपर्ने बताए ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे । उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्तास्वार्थमा डुब्न नचाहने पनि बताए । उनले रणनीतिक महत्वका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे । उनले चुच्चे नक्सा मेटाई अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्वीकार गर्न नसकिने बताए । मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने उनकाे भनाइ छ ।