
मधेश प्रदेश सुक्खाग्रस्त घोषणासँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले कृषकलाई पानीको समस्याबाट राहत प्रदान गर्न साना सिँचाइ उपकरण सहयोग गरेको छ । वर्ल्ड भिजन इन्टरनेसनलले आफ्नो साझेदार संस्था ग्रामीण विकास समाजमार्फत महोत्तरीको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाका विपन्न कृषकहरूलाई सो सहयोग गरेको हो ।
ग्रामीण विकास समाजमार्फत वर्ल्ड भिजनले एकडारा गाउँपालिकाका १८ घरधुरी र सम्सी गाउँपालिकाको ३२ घरधुरीमा साना सिँचाइ सहयोग गरेको हो । त्यस्तै, खानेपानीका लागि एकडारा गाउँपालिकामा ५५ र सम्सी गाउँपालिकामा ३१४ चापाकलसमेत जडान गराएको वर्ल्ड भिजन इन्टरनेसनलका मधेश प्रदेश प्रमुख विनय अमात्यले बताए ।
उनले महोत्तरी मात्र नभई सर्लाही र रौतहटमा समेत साना सिँचाइ तथा खानेपानीका लागि चापाकल सहयोग गरिएको बताए । स्थानीय साझेदार संस्थाहरू राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, सर्लाही र ग्रामीण विकास केन्द्र रौतहटमार्फत सर्लाहीको हरिपूर्वा नगरपालिकामा ५० घरधुरी, रौतहट माधवनारायणमा ४७ घरधुरीमा सिँचाइ सहयोग गरिएको उनले बताए ।
त्यस्तै, खानेपानीका लागि सर्लाहीको हरिपूर्वामा ९३ घरधुरी, पर्सामा ४२ घरधुरीमा चापाकल जडान गरिएको हो । वर्ल्ड भिजनले आफ्नो कार्यक्षेत्रमा खानेपानी तथा सिँचाइको तत्काल र दीर्घकालीन समस्या समाधानका लागि स्थानीय तहसँग सहकार्य र समन्वय गरी नियमित कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख अमात्यले बताए ।