
दुई वर्षपछि अमेरिकाको लस एन्जलसमा हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले बुधबार क्रिकेटको खेल हुने मिति र स्थान सार्वजनिक गरेको हो । यससँगै ओलम्पिकमा आधिकारिक रूपमा क्रिकेट खेल समावेश भएको आइसिसीले जनाएको छ । ओलम्पिकमा अन्तिमपटक सन् १९०० मा क्रिकेट समावेश थियो । त्यसपछिका कुनै पनि संस्करणमा क्रिकेट समावेश गरिएन ।
आयोजक अमेरिकाले पछिल्लो समय चर्चित हुँदै गएकाले आयोजकका रूपमा क्रिकेटलाई समावेश गरेको हो । ओलम्पिकका खेल आयोजक राष्ट्रले आफूअनुकूल राख्न पाउँछ । यसै प्रावधानअनुसार अमेरिकाले पुरुष र महिला क्रिकेट इभेन्ट्स राखेको आइओसीले जनाएको छ । अमेरिकाले १२ देखि २९ जुलाईसम्म लस एन्जलस सहरमा ओलम्पिक आयोजना गर्दै छ ।
ओलम्पिकमा क्रिकेट खेल फेयरप्लेक्स मैदानमा हुनेछ । पुरुष र महिला इभेन्ट्समा धेरै टोली भने छैनन् । यसको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले आइओसीले दुवैतर्फ समान ६ राष्ट्रलाई मात्र समावेश गरेको छ । पुरुष र महिला टोलीको छनोट कसरी हुने भन्ने आइओसीले प्रस्ट पारेको छैन । यस विषयमा आइओसी र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बिच छलफल हुन बाँकी छ । आइसिसी बोर्ड बैठकबाट निर्णय हुन बाँकी रहे पनि छनोट प्रक्रिया सिंगापुरमा गरिनेछ । क्रिकेटअन्तर्गत पुरुषतर्फको फाइनल २९ जुलाईमा हुनेछ । महिलातर्फको स्वर्णपदक भिडन्त २० जुलाईमा हुने आइओसीले जनाएको छ । सन् १९०० मा फ्रान्समा भएको ओलम्पिकमा पहिलोपटक क्रिकेट खेल राखिँदा बेलायतले स्वर्ण पदक जितेको थियो ।
टी–२० वरीयताको प्रस्ताव
आइसिसीले आयोजक र आइओसीलाई छनोटको आधार टी–२० वरीयता राख्न भनेको छ । आइसिसीको टी–२० वरीयतामा शीर्ष ६ स्थानमा रहने राष्ट्रलाई सिधै ओलम्पिकमा छनोट गर्नुपर्ने आइसिसीको प्रस्ताव छ । यद्यपि, यस सम्बन्धमा आधिकारिक निकायबाट निर्णय हुन बाँकी छ । आइओसी भने छनोटबाट टोलीको छनोट गरिनुपर्ने पक्षमा छ । आइसिसीले कुन वर्ष वा महिनाका आधारमा शीर्ष ६ टोली छनोट गर्ने आधिकारिक जानकारी दिएको छैन । टोलीहरूको छनोटबारे अन्तिम निर्णय भने यसै वर्षको अन्त्यसम्म हुनेछ ।
पुरुष र महिलामा समान १५ खेलाडी हुनेछन् । आइओसीले समग्रमा दुवैतर्फ गरी १८० खेलाडीको कोटा राखेको छ । यसकारण आयोजकले प्रतियोगितामा केवल ६–६ टोलीबिच मात्र स्वर्ण, रजत र कांस्यका लागि भिडन्त हुने जनाएको हो । फेरि क्रिकेट मैदान भने लस एन्जलसबाट ५० किलोमिटर टाढा पोमोना फेयरप्लेक्समा हुनेछ । आयोजकले प्रत्येक दिन दुई खेल हुने तालिका बनाएको छ ।
टी–२० विश्वकपमा जस्तै अस्थायी मैदान
गत वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आइसिसी पुरुष टी–२० विश्वकप आयोजना गरेका थिए । अमेरिकामा क्रिकेट त्यति धेरै चर्चित नभए पनि विश्वकपमा अस्थायी रूपमा विश्वस्तरीय क्रिकेट मैदान बनाइएको थियो । कतिपय रंगशालाका संरचना प्रतियोगितालगत्तै भत्काइएको थियो । अमेरिकाले ओलम्पिकमा पनि अस्थायी रंगशाला नै प्रयोग हुने जनाएको छ । क्रिकेटका सम्पूर्ण खेल अस्थायी रंगशाला निर्माण गरी दक्षिण क्यालिफोर्नियास्थित पोमोना मैदानमा खेलाइनेछ । साँझमा हुने खेल फ्लड लाइटमा खेलाइनेछ । लस एन्जलसका मेयर कारेन बासले क्रिकेट खेलको समावेशले फरक रोमाञ्चकता आउने बताएका छन् ।
‘ओलम्पिक खेलमा सहभागी हुन आउने सबैले फरक अनुभव गर्नेछन् । विशेषत: एक शताब्दीपछि समावेश हुन लागेको क्रिकेटको दर्शकले रोमाञ्चकता लिनेछन्,’ मेयर बासले भने, ‘विश्वकपमा जस्तै ओलम्पिकमा पनि क्रिकेटलाई धेरै ब्रान्डिङ गर्छौँ ।’
कमनवेल्थ र एसियाडमा पनि
धेरै राष्ट्र सहभागी हुने अन्तर्राष्ट्रिय खेलकुदमा बिस्तारै क्रिकेटले स्थान बनाइरहेको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले आयोजना गर्ने एसियन खेलकुद प्रतियोगिताका तीन संस्करणमा क्रिकेट समावेश भइसकेको छ । सन् २०१० मा चीनले आयोजना गरेको ग्वान्झाउ एसियाडमा पहिलोपटक पुरुष तथा महिला क्रिकेट समावेश भएको थियो । त्यसपछि सन् २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा पनि क्रिकेटले निरन्तरता पायो ।
सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियाडमा पुरुष क्रिकेट खेल रह्यो । सन् २०२२ मा बेलायतले आयोजना गरेको कमनवेल्थ गेम्समा क्रिकेटमा पुरुष तथा महिला टोलीले प्रतिस्पर्धा गरेका थिए ।