Skip This
दसैँका सामान तिब्बतमै रोकिए, कुहिन थाल्यो स्याउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १२:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैँका सामान तिब्बतमै रोकिए, कुहिन थाल्यो स्याउ

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

चीन स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा ८ अगस्टदेखि लगाएको लकडाउन जारी छ। राजधानी ल्हासा सहर, सिगात्से, मिम्बु र नेपाल–चीन सीमाक्षेत्र केरुङ र खासामा कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनजीवन ठप्प छ।

तिब्बत अटोनमस रिजनका वाणिज्य विभागमा कार्यरत कर्मचारी दुई हप्तादेखि आइसोलेसनमा छन्। व्यापारिक क्षेत्रका सबै निकाय बन्द भएकाले ढुवानीका सबै साधन पनि बन्द छन्। ल्हासास्थित वाणिज्य विभागका कर्मचारीको भनाइ उद्धृत गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले चाडपर्व लक्षित सामान उत्तरी नाका भएर दसैँअघि आयात सम्भव नरहेको बताए। दसैँलगायत चाडबाडलक्षित सामान तिब्बत क्षेत्रमै रोकिएका छन्। झन्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको बताइएको छ। नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन्। त्यसैले चिनियाँ व्यापारीले सुरक्षा सावधानी अपनाएर भए पनि उत्तरी नाका खुलाउन सरकारलाई दबाब दिइरहेका छन्।

बस्नेतका अनुसार दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका छन्। मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन्। तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मेनल्यान्डबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको छ। ‘दसैँका लागि ल्याइएको सामान नआइपुग्दा पनि बजारमा सामग्रीको अभाव हुँदैन। तर, खरिद क्षमता घट्दा आर्थिक गतिविधि प्रभावित हुने अवस्था छ,’ ब्याज, गोदामचार्ज र ढुवानीमा भइरहेको ढिलाइले व्यापारी वर्ग मर्कामा परेको बताउँदै उनले भने, ‘उत्तरी नाका अस्थिर हुँदा सिजनेबल सामानको मूल्य वृद्धि भएको छ।’

औद्याेगिक क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र ठूला सामान भारतको कोलकता र भिसाकापटनम बन्दरगाहबाट निरन्तर आयात भइरहेको उनले प्रस्ट्याए। चीनको विभिन्न व्यापारिक सहरबाट नेपाल आयात हुने सिजनेबल सामान तातोपानी र रसुवागढीबाट १५-२० दिनमा काठमाडौं आइपुग्छ। ठूला र औद्योगिक क्षेत्रका सामग्री भारत हुँदै ४५-६० दिनमा नेपाल भित्रिन्छ। अहिले तातोपानी र खासामा मानवीय चहलपहल शून्य छ। चीन सरकारका कुनै पनि प्रतिनिधिबाट औपचारिक जानकारी केही नदिएकाले २५ साउनबाट बन्द तातोपानी भन्सारमा थोरै कर्मचारी मात्रै बसेका छन्। 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चिनियाँ पक्षबाट नाकासम्बन्धी कुनै औपचारिक जानकारी नआएको बताए। यद्यपि, सुरक्षा प्रोटोकल अपनाएर नाका खोल्न चिनियाँ प्रतिनिधिले ल्हासास्थित नेपाली महावाणिज्य दूतावाससँग निरन्तर छलफल गरिरहेको उनले जानकारी दिए। दसैँका सामग्री बोकेका कन्टेनर मात्रै नेपाल पठाउन केरुङ नाका केही दिन खुलाउने सम्भावना रहेकाले तातोपानीतर्फ आएका कन्टेनरलाई मिम्बु फर्काउन लागेको व्यापारीहरू बताउँछन्। आयात रोकिँदा बजारमा रहेका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिन छोडेकाले उत्तरी नाकामा काम गर्ने व्यापारी समस्यामा परेका छन्।