मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १८ शनिबार ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमानस्थलको भिआइपी कक्षबाट भगाइएका अभियुक्त मेरियट होटलबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार ११:२६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट शुक्रबार भगाइएका ठगी मुद्दाका फरार अभियुक्त रिजवान आलम नक्सालको मेरियट होटलबाट पक्राउ परेका छन्। दुबईबाट आएका आलमलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विमानस्थलको भिआइपी कक्षको दुरुपयोग गरी भगाएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आलमलाई शुक्रबार राती मेरियटबाट पक्राउ गरेको हो। विमानस्थल प्रहरीको पत्रका आधारमा उनलाई पक्राउ गरी विमानस्थलमै बुझाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए। रिजवानलाई गौशाला वृत्तको हिरासतमा राखिएको छ।
 
रिजवानलाई मुस्लिम आयोगका अध्यक्ष अन्सारीले आफ्नै गाडीमा राखेर त्यहाँबाट मेरियट होटल लगेका थिए। अध्यागमनले अराइभलको अनुमति नदिँदै पासपोर्ट त्यही छाडेर भगाइएको थियो। अध्यागमनको सिष्टममा उनी कालोसूचीमा परेको खुलेपछि उपस्थित गराउन पत्राचार भएलगत्तै भिआइपी कक्षबाट अन्सारीले रिजवानले लिएर निस्किएका थिए।
 
अन्सारीले भने आफूले रिजवानलाई नचिन्ने दाबी गरेका छन्। जबकी उनीसँगै भएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। मुस्लिम आयोगकै निमन्त्रणमा युएईबाट आएका चार व्यक्तिसँगै मिलाएर भिआइपी कक्षमार्फत फरार अभियुक्तलाई योजनाबद्ध रुपमा भगाइएको प्रहरी दाबी छ। घटनाको विषयमा विमानस्थल नागरिक उड्डयन कार्यालयले पनि छानबिन गरिरहेको छ।

लामो समयदेखि दुबईमा बस्नै आएका रिजवानले दाउद हुसेनलाई ठगी गरेका थिए। हुसेनका छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले एक करोड ६८ लाख रुपैयाँ ठगी गरेको जोहरीका आधारमा प्रहरीले गत बैशाखमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जसमा रिजवानलाई फरार अभियुक्त बनाइएको छ।

पक्राउ परेका रिजवानलाई सुरुमा अध्यागमनको नियम मिचेकोमा त्यसतर्फ कारबाही गरी अदालतमा बुझाउने प्रहरी तयारी छ । अभियुक्तलाई भगाएको घटनामा मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि समेत छानबिन गरिने प्रहरी अधिकारी बताउँछन् ।