१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
अर्थ ब्युरो नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:२१:oo
Read Time : > 7 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँको चहलपहल बढ्यो : तर, बजार अनुगमनदेखि सडक मर्मतसम्ममा सरकार उदासीन 

Read Time : > 7 मिनेट
अर्थ ब्युरो नयाँ पत्रिका
नयाँ पत्रिका नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:२१:oo

तिजको रमझममा रमाइरहेको समाज अब दसैँको तयारीमा लागेको छ । दसैँ सुरु हुन एक महिनाभन्दा कम समय बाँकी हुँदा उपभोक्ता पनि आवश्यक सामग्री जोहो गर्न बजार प्रवेश गर्न थालिसकेका छन् । तर, अस्वाभाविक रूपमा अकासिएको बजार मूल्य सुन्दा उपभोक्ता चिन्तित छन् ।

दसैँका लागि निजी तथा सरकारी दुवै सेवाप्रदायकले पनि उपभोक्तालाई कसरी सहुलियत र सेवा दिन सकिन्छ भनेर तयारी सुरु गरिसकेको दाबी गरेका छन् । तर, उपभोक्ता भने बजारमा सरकारको उपस्थिति शून्यप्रायः हुँदा व्यापारीले वस्तुको मूल्यमा मनोमानी गरिरहेको गुनासो गर्छन् । ‘ढाड सेकिने गरी बजारभाउ बढेको छ, तर कहीँकतै बजार अनुगमन भएको सुनिँदैन,’ असनमा भेटिएका रामबहादुर कार्कीले भने, ‘यस्तै हो भने दसैँ मान्न गाह्रो छ ।’

ठूला सपिङ मलदेखि फुटपाथसम्म क्रमशः उपभोक्ताको भिड बढ्दै छ । व्यवसायीहरूले पनि दसैँका लागि भनेर नयाँ लत्ताकपडा, खसी–बोकादेखि खाद्यान्नसम्म बजारमा ल्याउन थालिसकेका छन् । यसअघि कोभिड महामारीका कारण सुनसान बनेको दसैँले यसपटक रौनकता ल्याउने अपेक्षा छ । तर, बजारमा महँगी अचाक्ली बढेको हुनाले उपभोक्ताका लागि दसैँ भने अत्यधिक महँगो पर्ने देखिन्छ । दसैँमा जहाज चढेर घर जानेहरूले धमाधम हवाई टिकट बुकिङ गरिरहेको वायुसेवा कम्पनीका प्रतिनिधिको भनाइ छ । अहिल्यै सुगम गन्तव्यका हवाई टिकट ५० प्रतिशतभन्दा धेरै बुकिङ भइसकेका छन् भने दुर्गम गन्तव्यमा हवाई टिकट करिब सकिन थालेका छन् । अहिले अनलाइनमार्फत वर्षभरि नै हवाई टिकट काट्न मिल्ने हुँदा दसैँका लागि भनेर अग्रिम बुकिङ खुला गरिरहनुपर्दैन । तर, बसको टिकट बुकिङ भने असोज पहिलो सातादेखि बल्ल खुला गर्ने तयारी गरेको छ । यस्तै, खाद्य तथा व्यापार कम्पनीले असोज १ देखि सुपथ पसल सञ्चालन गर्नुका साथै खसी–बोका र च्यांग्रा ल्याउने तयारी गरिरहेको छ ।

राजमार्ग मर्मत अझै सुरु भएन

बर्सातको मौसम सकिएसँगै नेपालमा दसैँ–तिहार पर्वको माहोल सुरु हुन्छ । चाडपर्वको माहोल सुरु भएसँगै संघीय राजधानी काठमाडौंबाट जिल्ला जाने सर्वसाधारण यात्रुको चाप उच्च हुन्छ । दसैँका वेलामा काठमाडौंबाट सार्वजनिक गाडी मात्रै दैनिक पाँच हजारभन्दा बढी बाहिरिन्छन् । बाहिरिने निजी गाडीको संख्या पनि उल्लेख्य हुन्छ ।  

तर, बर्सातका कारण बिग्रिएका सडकले गर्दा दसैँको यात्रा भने अप्ठ्यारो हुने गर्छ । साथै, दुर्घटनासमेत उच्च मात्रामा हुने गर्छ । यसका अलावा जाम पनि उच्च मात्रामा हुने गर्छ । तर, सडक मर्मतमा सरकारी तयारी भने फितलो देखिन्छ । हालसम्म पनि सडक मर्मतको तयारी गरिएको छैन । 

सडक विभागले हरेक वर्ष वार्षिक कार्यक्रमकै रूपमा दसैँ–तिहारमा हुने यातायातको चापलाई लक्षित गरे सडक मर्मत गर्दैै आएको छ । जुन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । भदौको अन्तिम साताबाट देशभरका राजमार्ग मर्मत गर्ने कार्यक्रम अघि बढाइने उनको भनाइ छ । 

‘मनसुन सकिएपछि दसैँ सुरु हुन्छ । तर, यसपालि दसैँ छिट्टै नै छ । त्यसवेलासम्म मनसुन पूर्ण रूपमा सम्माप्ति भएको हुँदैन, त्यस कारण हामीले सडकलाई पूर्ण रूपमा मर्मत गर्न त सक्दैनाँै,’ उनले भने, ‘तर, दसैँमा हुने चापलाई लक्षित गरे भदौ अन्तिम साताबाट सडक मर्मत गर्ने काम गर्छाँै । विशेष गरी अहिले खाल्डाखुल्डी पुर्ने, पहिरो फाल्ने काम हुन्छ ।’ 

जल तथा मौसम पूर्वानुमान विभागले मनसुन सकिएको जानकारी दिएसँगै सडकको मर्मत विस्तृत रूपमा गर्ने प्रवक्ता अधिकारीले बताए । पर्खाल लगाउने, ग्याभिन चिन्नेलगायतका काम मनसुन सकिएपछि गरिने उनको भनाइ छ । तत्काललाई दसैँको आवागमन सहज बनाउने गरी मात्रै सडक मर्मत गरिने उनले बताए । बर्सातले यसपालि सडकहरू धेरै नै बिग्रिएका छन् । मुग्लिङ नारायणगढ सडकका धेरै ठाउँमा पहिरो गएको छ । नारायणगढ–बुटवल सडकको अवस्था पनि खराब नै छ । अन्य राजमार्गहरू पनि धेरै प्रभावित भएका छन् । दसैँसम्ममा त्यहाँ सहज आवतजावत गर्ने वातावरण बनाउने विभागको तयारी छ । 

लत्ताकपडा कोलकाताको बाटो आउँदै
चाडपर्वका लागि लत्ताकपडालगायत फेन्सी सामग्री चीनबाट आयात हुने गरेको छ । अहिले चीनतर्फका दुवै नाका रसुवा र तातोपानी बन्द अवस्थामा छन् । उत्तरतर्फबाट मगाइएका चार सय ७० कन्टेनर सामग्री बाटोमै अड्किएका छन् । यद्यपि, दसैँलाई सामग्रीको अभाव वा कमी भने नहुने नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्की बताउँछन् ।

‘सामान्यतः दसैँका लागि एक–डेढ महिनाअघिदेखि नै सामग्री आयात सुरु हुन्छ, यसपालिको दसैँका लागि सामग्री ल्याउन सुरु भइसकेको थियो, कति आए कति बाटोमै थिए,’ उनले भने, ‘तर, पछिल्लो समय चीनले नाका बन्द गरेपछि लत्ताकपडा, जुत्ता, स्याउ, लसुन, मोबाइल एस्सेसरिजलगायत चार सय ७० कन्टेनर सामग्री चिनियाँ नाकामै अड्किएका छन्, यी सामग्री छिटोभन्दा छिटो नेपाल आउन पाएनन् भने दसैँका सामग्री आपूर्ति प्रभावितचाहिँ हुनेछ ।’ यद्यपि, लत्ताकपडाहरू कोलकाता बन्दरगाह हुँदै पनि आइरहेको उनले जानकारी दिए । यसअघि नै आयात भइसकेको तथा कोलकाताको बाटो हुँदै सामग्री भित्रिने क्रम जारी रहेकाले अभावचाहिँ नहुने उनको भनाइ छ । 

ल्हासास्थित महावाणिज्य दूतावासले चीनमा अड्किएका नेपाली सामग्री ल्याउन पहल गरिरहेको जनाएको छ । अहिले एकै लटमा अड्किएका कन्टेनर नेपाल भित्र्याएर पुनः नाका अवस्था सामान्य नभएसम्मका लागि बन्द गर्ने तयारी भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । बजारमा दसैँ लक्षित नयाँ लत्ताकपडा, जुत्तालगायत सामग्रीको किनबेच सुरु हुन थालिसकेको छ । दसैँको चहलपहल सुरु हुन थालेको खुद्रा व्यवसायीले बताएका छन् । यद्यपि, सबैभन्दा बढी बिक्रीचाहिँ घटस्थापनापछि हुने उनीहरूको भनाइ छ । 

असोज पहिलो साताबाट यातायातको टिकट बुकिङ
दसैँमा हुने यातायात चापलाई दृष्टिगत गर्दै व्यवसायीले असोज पहिलो साताबाट टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । सोही विषयलाई लक्षित गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङको व्यवस्था गरेका हुन्छन् । जुन व्यवस्थालाई यसपालि पनि निरन्तरता दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । यसका लागि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल भइरहेको उनको भनाइ छ । 

‘दसैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ गर्ने व्यवस्था गर्न छलफल गरिरहेका छौँ,’ उनले भने, ‘सम्भवतः असोजको पहिलो साताबाट नै टिकट बुकिङ खुला गर्छाैँ । अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सक्ने बनाउँछौँ, यसलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका छौँ ।’

यसअघि दसैँका वेलामा यातायात कम्पनीले आठ सयको हाराहारीमा नयाँ गाडी थप्दै आएका थिए । तर, यसपालि गाडी थप्ने योजनामा अधिकांश व्यवसायीहरू छैनन् । नगण्य व्यवसायीहरूले भित्रभित्रै नयाँ गाडी थप गर्ने योजनामा छन् । ‘अहिले आर्थिक संकट पनि छ । तेलको भाउ महँगो छ । त्यो अवस्थामा दसैँका लागि भनेर किनेको गाडी वर्षभरि सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘त्यसअनुसार अहिले व्यापाक मात्रामा नयाँ गाडी थप हुँदैन । बढीमा दुई–तीन सय गाडी थप्न सकिन्छ ।’ दसैँमा नयाँ वर्षपार्कबाट मात्रै दैनिक एक हजार पाँच सय बस बाहिरिन्छन् । नागढुंगा नाकाबाट दैनिक तीन हजार पाँच सय सार्वजनिक गाडी बाहिरिन्छन् । त्यसबाहेक चोभार, साँगा नाकाबाट पनि धेरै गाडी बाहिरिन्छन् ।

भदौ २६ बाट नयाँ नोट
नेपाल राष्ट्र बैंकले भदौ २६ गतेबाट बजारमा नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले यसका लागि तयारी पूरा भएको बताए । दसैँमा साना दरका सुकिला र नयाँ नोटको माग उच्च हुने भएकाले यो समयमा केन्द्रीय बैंकले बढी नोट बजारमा पठाउने गरेको छ । दसैँमा नयाँ नोट दक्षिणास्वरूप दिनु संस्कृतिकै रूप लिइसकेको छ । त्यसैले मानिसहरू रातिदेखि नै राष्ट्र बैंकमा लाइन लागेर नयाँ नोट साट्ने गरेको विगतमा पनि देखिँदै आएको छ । विगतमा नयाँ नोट साट्नका लागि लाइन बस्नुपर्ने अवस्थालाई सुधार गर्दै राष्ट्र बैंकले यसपालि भने व्यवस्थित रूपमा नोट वितरण गर्ने तयारी गरेको उनले बताए । 

नयाँ नोट साट्न आउनेलाई प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने बैंकले जानकारी दिएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट बढीमा एक सेट साट्न पाउनेछन् । 

राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोषबाट दसैँ लक्षित नोट वितरण गरिने जनाइएको छ । राष्ट्र बैंकको पहुँच नभएका स्थानमा सरकारी बैंकले नोट कोष सञ्चालन गर्छन् । दसैँमा प्रयोग गरिने नयाँ नोट नखुम्च्याई प्रयोग गर्न, रङ नलगाउन, पानीमा नभिजाउन केन्द्रीय बैंकका सहायक प्रवक्ता पोखरेलले आग्रह गरे । 

ढाड सेकिने महँगी, फितलो अनुगमन

दसैँलगायत चाडपर्वमा उपभोग्य वस्तुको व्यावसाय शतप्रतिशतसम्मले बढी हुने गरेको छ । अहिले बजारमा दसैँ लक्षित चहलपहल बढिसकेको छ । तर, बजारमा सरकारको उपस्थिति शून्यप्रायः हुँदा व्यापारीले वस्तुको मूल्यमा मनोमानी गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् । ‘लत्ताकपाडदेखि खाद्यान्नसम्मको भाउ छोइनसक्नु छ,’ न्युरोडमा भेटिएकी शर्मिला न्यौपानेले भनिन्, ‘यस्तो महँगीमा दसैँ कसरी मान्ने ?’

महँगी बढी भएको तथा अनुगमन प्रभावकारी नदेखिएको उपभोक्ताको गुनासो छ । तर, सरकारी निकायले भने चाडबाड लक्षित अनुगमन सरु भइसकेको दाबी गरेका छन् । दसैँ–तिहारमा हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्नका लागि बजार अनुगमनलाई थप सशक्त बनाइने उनीहरू बताउँछन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसँै–तिहारमा सबैभन्दा बढी खपत हुने खाद्यान्न, लत्ताकपडा, मिठाईलगायतका वस्तुहरूमा अनुगमन थप बढाइने विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । दसैँ–तिहारलाई लक्षित गरेर निर्देशकहरूको नेतृत्वमा थप अनुगमन गर्ने गरी तयारी भइरहेको शर्माले बताए । कालोबजारी गरेको पाइएमा तत्काल कारबाही गर्ने विभागको तयारी छ । शर्माले भने, ‘अहिले चारवटा टोली अनुगमनमा निस्किएका छन्, निर्देशकको टोली र थप कर्मचारी काजमा ल्याएर १२–१३ वटा टोली बनाएर दसैँ–तिहारमा बढी किनबेच हुने वस्तुमा अनुगमनको दायरा बढाउँछौँ ।’ 

उपभोग्य वस्तुमा छुटको तयारी 
दसैँ–तिहारमा सबैभन्दा बढी खपत हुने उपभोग्य वस्तुमा खाद्य तथा व्यापार कम्पनीले विशेष छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा कम्पनीले १ असोजदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा १ असोजदेखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । कम्पनीका बिक्री–वितरण विभाग प्रमुख भीम थापाले सहुलियत पसलमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिने तयारी भएको बताए । यस वर्ष उपभोक्तालाई परेको असर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिलाई ध्यानमा राखेर छुटदर बढाइएको थापाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा चार ठाउँहरू रामशाह पथ, नख्खु, थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुनेछन् । 

उपभोक्ताले सहुलियत पसलबाट चामल, दाल, चिउरा, आँटा, कर्णाली प्रदेशका गेडागुडीलगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी सात रुपैयाँ छुट पाउनेछन् भने साल्ट टे«डिङले वितरण गर्ने नुनमा दुई रुपैयाँ र चिनीमा सात रुपैयाँ छुट पाउने भएका छन् । त्यस्तै, कम्पनीले दसैँका लागि दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउने तयारी गरेको छ । यसका लागि ६ करोड ४१ लाख रुपैयाँ छुट्याइएको छ । कम्पनीले जिउँदो खसी–बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ । साल्ट ट्रेडिङले पनि चिउरामा प्रतिकेजी सात रुपैयाँ छुट दिने भएको छ भने नुनमा प्रतिकेजी दुई रुपैयाँ छुट दिने भएको छ ।

५० प्रतिशतभन्दा धेरै हवाई टिकट बुकिङ भइसके
दसैँमा काठमाडौंबाट हवाइमार्गबाट घर जानेहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् । फूलपातीदेखि दसैँसम्म काठमाडौंबाट बाहिरिने र एकादशीदेखि काठमाडौं फर्किनेहरूको चाप बढ्ने गर्छ । अहिले सुगम गन्तव्यका उडानहरूमा फूलपातीपछिका लागि ५० देखि ६० प्रतिशत टिकट बुकिङ भइसकेको वायुसेवाका प्रतिनिधिले बताएका छन् ।

अहिले दसैँका लागि भनेरै हवाई टिकट बुकिङ खुला हुँदैन । वर्षभरि नै अनलाइनबाट हवाई टिकट काट्न सकिन्छ । टीकाअघि र टीकापछिका पाँच–सात दिनका लागि तीव्र रूपमा टिकट बुकिङ भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । मुस्ताङ, लुक्लालगायतका दुर्गम गन्तव्यमा टिकट बुकिङ धेरै भइसकेको छ । बुद्ध एयरको एटिआर४२ विमानबाट उडान गर्ने तुम्लिङटारमा दसैँका लागि टिकट सोल्ड आउट नै भइसकेको कर्णको भनाइ छ । बुद्ध एयरले उडान गर्ने गन्तव्यमा दसैँका लागि ५० प्रतिशतभन्दा बढी नै टिकट बुकिङ भइसकेको छ ।

दसैँका लागि यती एयरको टिकट बुकिङ पनि ५० देखि ६० प्रतिशत भइसकेको प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यती एयरले पाँचवटा एटिआर७२ जहाजबाट सुगम गन्तव्यमा उडान गर्दै आइरहेको छ । ‘सस्तो टिकट पूरै बुकिङ भइसके, अब महँगो मूल्यका टिकट मात्र बाँकी छन्,’ उनले भने । यतीको भगिनी कम्पनी तारा एयरले लुक्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यमा उडान गर्छ । तारा २५ सेप्टेम्बरदेखि पोखरा–जोमसोम दैनिक पाँचवटा उडान गर्ने तयारीमा छ । त्यहाँका लागि भारतीय पर्यटक र नेपालीले टिकट बुकिङ गरिरहेका छन् । उनले थपे, ‘लुक्लामा दसैँ मनाउन जाने भन्ने हुँदैन, पर्यटकीय सिजन हुने हुनाले पर्यटक नै बढी हुने गर्छन् ।’

यस्तै, श्री एयरलाइन्समा पनि दसैँका लागि टिकट बुकिङ धमाधम भइरहेको छ । अरू वेलाभन्दा दसैँमा यात्रुको चाप बढी हुने हुँदा पहिल्यै हवाई टिकट काट्ने गरिन्छ । पहिला दसैँलाई भनेर हवाई टिकटको अग्रिम बुकिङ खुला हुन्थ्यो । सीमित जहाज भएको त्यस समयमा टिकट बुकिङ गर्नेको तँछाडमछाड हुने गथ्र्यो । अहिले जहाजको संख्या धेरै भइसकेको छ । ठूला जहाज हुनाले सिट संख्या पनि धेरै छ । त्यसैले अब सुगम गन्तव्यमा भने हवाई टिकट नै नपाउने भन्ने अवस्था नआउने यतीका प्रवक्ता बर्तौलाले बताए । कुनै समय १८ सिटका जहाज उड्ने गन्तव्यमा अहिले ८० सिटसम्मका जहाज उडान गर्छन् । उडान संख्या पनि प्रशस्त छन् । त्यसो त यात्रुको चाप बढेमा नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति लिएर थप उडान पनि गर्न सकिने बुद्धका प्रवक्ता कर्णले बताए । अहिले वर्षभरि नै टिकट बुकिङ गर्न पाइने हुँदा पहिल्यै दसैँका लागि टिकट बुकिङ हुने गर्छ । अहिले बुद्धले १६ वटा जहाजमार्फत दैनिक एक सय ४० उडान–अवतरण गर्छ । यस्तै, यतीसँग अहिले पाँचवटा एटिआर ७२ जहाज छन् । 

ad
ad