१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : मेटिन एक्टास/एए
देश/विदेश
२o८१ जेठ २ बुधबार o७:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन फर्कियो लन्डन र न्युयोर्कमा पोलियो ?

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२४:oo

सन् १९६० को दशकसम्म पोलियोमाइलाइटिस, जसलाई आमभाषामा पोलियो भनिन्छ, त्यसले युरोप र उत्तर अमेरिकालाई आतंकित बनाएको थियो । अमेरिका र बेलायतमा पोलियोले वार्षिक रूपमा क्रमशः आठ हजार र १५ हजारभन्दा बढी मानिसलाई पक्षघातको सिकार बनाएको थियो, जसमा बालबालिकाले ठूलो हिस्सा ओगटेका थिए । हालसम्म पोलियोको कुनै उपचार उपलब्ध छैन र पोलियोबाट हुने पाँचदेखि १० प्रतिशत पक्षघातका मामिला ज्यानै लिने खालका हुन्छन् । खोपको आविष्कारले पोलियोलाई विश्वबाटै उन्मूलन गर्ने बाटोतर्फ लागेको थियो ।

सम्पूर्ण अमेरिकी क्षेत्र (दक्षिण एवं उत्तर अमेरिका) लाई सन् १९९४ मा (जंगली) पोलियोमुक्त घोषणा गरिएको थियो । त्यसैगरी सन् २००२ र २०२० मा युरोप र अफ्रिकालाई पनि पोलियोमुक्त घोषणा गरिएको थियो । तर, यही जुन महिनामा न्युयोर्क सहरको बाहिरी क्षेत्रको उपनगरमा २० वर्षीय युवा पोलियोका कारण पक्षघातको सिकार भएका छन् । यो घटना सन् १९७९ पछि अमेरिकामा पहिलो प्रमाणित स्थानीय पोलियो संक्रमणको मामिला थियो । केही महिनायता लन्डन र न्युयोर्कका ढलका नमुनामा ठूलो संख्यामा पोलियो भाइरस पत्ता लागेको छ । यसले भाइरस फैलिरहेको देखाउँछ । आखिर पोलियो किन फर्कियो त ?  

पोलियो भाइरस आज पनि अफगानिस्तान र पाकिस्तानका केही इलाकामा प्रान्तीय फैलावटमा मात्रै सीमित छ । लन्डन र न्युयोर्कमा देखिएको मामिला खोपबाट उत्पत्ति भएको हो । यो पोलियो थोपा (खुवाइने) को एक दुर्लभ उत्परिवर्तन हो । पोलियो थोपामा जीवित भाइरसको कमजोर अंश (स्ट्रेन) हुन्छन्, जबकि पश्चिमा राष्ट्रमा सुईबाट दिइने खोप निष्क्रिय भाइरसमा आधारित हुन्छ । पोलियो थोपा अहिले पनि थुप्रै गरिब मुलुकमा विभिन्न कारणले प्रयोग गरिन्छ । पहिलो, यो उपाय कम खर्चिलो र प्रयोग गर्न सजिलो छ । दोस्रो, पोलियो थोपाले ‘अप्रत्यक्ष खोप’का माध्यमबाट रोग प्रतिरोधी क्षमतालाई फैलाउन सक्छ । जब खोप प्रापकले खोप लिन्छ, साता दिनसम्म उसको दिसामा खोपमा रहेको कमजोर भाइरस जाने गर्छ । यी गरिब मुलुकमा सामान्यतया न्यून सरसफाइ हुने भएकाले खोपमा रहेको कमजोर भाइरस फैलिने गर्छ र फैलिएको भाइरस खोप नलगाएका कुनै अन्य व्यक्तिको शरीरमा जान्छ भने सो व्यक्तिलाई पनि अप्रत्यक्ष ढंगले खोप लाग्छ । 

तर, दोस्रो लाभमा ठूलो जोखिम भने रहिरहन्छ । यदि पोलियो थोपा खुवाइसकेपछि शरीरबाट दिसाका माध्यमबाट निस्किने कमजोर भाइरस फैलिन जारी रहन्छ भने यो भाइरसमा बिस्तारै घातक उत्परिवर्तनको सम्भावना पनि रहन्छ । यस्तो उत्परिवर्तनले संक्रमित एक हजारमा एकजनालाई पक्षघात गराउन सक्छ । सामान्यतया उत्परिवर्तन प्रक्रियामा एक वा एक वर्षभन्दा बढी समय लाग्ने गर्छ । न्यून खोपदरका कारण खोप–व्युत्पन्न पोलियोको प्रकोप अफ्रिकामा धेरैपटक देखिएको छ । कहिलेकाहीँ, प्रकोप पूर्वी भूमध्यसागर र एसियाका केही हिस्सामा पनि देखिएको थियो । यी तीनमध्ये कुनै एक क्षेत्रबाट पोलियो भाइरस लन्डन र न्युयोर्कमा सरेको हुन सक्छ । 

लन्डन र न्युयोर्कमा संक्रमित व्यक्तिका दिसाको कण मानिसले निल्दा पोलियो फैलिन थालेको छ

अहिले लन्डन र न्युयोर्कमा संक्रमित व्यक्तिका दिसाको कण मानिसले निल्दा पोलियो फैलिन थालेको छ । संक्रमितले शौचालय प्रयोग गरेपछि वा बालबालिकाको स्याहारसुसार गर्नेले संक्रमित बालबालिकाको न्याप्किन फेरेपछि हात धुन बिर्सिएको खण्डमा यी मानिसले खाना वा बच्चाले मुखमा पुर्‍याउने खेलौनाजस्ता वस्तु छुँदा अथवा हात मिलाउँदा भाइरस फैलाउन सक्छन् । पोलियो थोपा र भाइरस निष्क्रिय पारिएका खोपले पक्षघात रोक्न सक्छ । तर, उल्लेख गरिएको भाइरस फैलावटलाई रोक्न सक्दैन । यस मामिलामा भाइरस निष्क्रिय पारिएका खोप थप निष्प्रभावी छ । सुरुवाती चरणमा पोलियो थोपाले भाइरस फैलावटलाई रोक्छ तर पछि निष्प्रभावी हुँदै जान्छ । यही गुणका कारण पोलियो थोपा आकस्मिक फैलावटका क्रममा उपयोगी पनि देखिन्छ । करिब २० वर्षअगाडि नै अमेरिका र युरोपले पोलियो थोपा प्रयोग गर्न बन्द गरेको छ । 

यस अर्थमा लन्डन र न्युयोर्कमा केही खोप प्राप्तकर्ता पोलियो फैलावट शृंखलासँग जोडिएका हुन सक्छन् भन्ने देखिन्छ, यद्यपि खोप नलगाएका व्यक्तिले यो रोग फैलाउने सम्भावना धेरै हुन्छ, किनभने यिनले लामो समयसम्म भाइरस फैलाइराख्छन् । ढलका नमुनामा सबैभन्दा धेरै पोलियो भाइरस भएका क्षेत्र लन्डनका ती इलाकाबाट संकलन गरिएका हुन्, जहाँ सबैभन्दा कम पोलियो खोपदर रहेको छ ।

पोलियो भाइरस हालको दरमा फैलियो भने खोप नपाएका केही बालबालिकालाई पक्षाघात हुन सक्छ । स्मरण रहोस्, पक्षाघात भएका अमेरिकी युवालाई पनि खोप लगाइएको थिएन । कैयौँ संक्रमण पहिचान गर्न नसकिने खालका हुन्छन्, किनभने पक्षघातको लक्षण एकदमै दुर्लभ लक्षण हो । खोप नलगाएका करिब ७० प्रतिशत मानिसमा पोलियोको लक्षण देखिँदैन र बाँकीमा सामान्य फ्लुको लक्षण देखिन्छ । हालै लन्डन र न्युयोर्कका केही इलाकामा बुस्टरसहितको पोलियो खोप अभियान सञ्चालन गरिएका थिए । न्युयोर्क सहरमा खोप नलगाएका बालबालिकाका अभिभावाकलाई भेट्न निर्देशन दिइसकिएको छ ।      

सन् २०२० मा विश्व स्वास्थ्य संगठनले नयाँ पोलियो थोपालाई अनुमति दिएको छ । यसमा आनुवंशिक इन्जिनियरिङ गरिएका भाइरस रहेको छ, जसको घातक उत्परिवर्तन हुँदैन र अप्रत्यक्ष खोप प्रक्रिया पनि सुचारु रहन्छ । यो नयाँ खोप एसिया र अफ्रिकामा जनस्तरमा पनि प्रयोग गरिएको छ । आपूर्ति बढ्दै गर्दा पुरानो पोलियो थोपा पूर्णतया विस्थापित हुनेछ । यसले खोपबाट सिर्जित पोलियो रोगलाई रोक्नेछ । तर, विश्वकै व्यस्त यी दुई सहर न्युयोर्क र लन्डनबाट पोलियो फैलावट बढ्ने सम्भावना धेरै छ । 
द इकोनोमिस्टबाट 

ad
ad