मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. गंगालाल तुलाधर उपमहासचिव, एकीकृत समाजवादी
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ९ बिहीबार ०८:४६:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

विद्रोहको पुष्टि गर्न सफल भयौँ : डा. गंगालाल तुलाधर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ९ बिहीबार ०८:४६:००

अन्तर्वार्ता

एकीकृत समाजवादी पार्टी गठन भएको एक वर्षमा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भयो त ? 
हामीले यसबीचमा पार्टीको सांगठनिक आधार तयार गरेका छौँ । हामी के हौँ भन्ने परिचय दिन सफल भएका छौँ । हामीले गरेको काम र योगदानको आधारमा नेपाली जनताले मूल्यांकन गर्नेछन् । एकपछि अर्को गरेर हाम्रो पार्टीमा आबद्ध हुने नेता–कार्यकर्ताको संख्या बढ्दै छ । दुईतिहाइ बहुमतको सरकार चलाउने अवसर केपी ओलीले पाउनुभएको थियो ।

ओली सरकारले समाजवादका आधार तयार गर्न सक्नुपर्थ्यो । त्यसो गर्नुको साटो एउटा व्यक्तिको दम्भ, घमण्डले एमाले बिस्तारै दक्षिणपन्थी अवसरवादी बन्दै गयो । व्यक्तिगत महत्वाकांक्षाले ग्रस्त हुँदै गयो । पार्टी एकता, जनमतको सम्मान गर्ने कुरामा दुःख, हन्डर खाएर भए पनि फेरि एकीकृत शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन हामीले एमालेबाट विद्रोह गरेका हौँ ।

एक वर्षसम्मको हाम्रो अभ्यास, संगठनात्मक आधार र निर्वाचनमा जनताले गरेको विश्वासले पुष्टि गर्दै गएको छ । स्थानीय निर्वाचनमा २७ प्रतिशत उम्मेदवार उठाउँदा पनि हामीले नौ लाख २७ हजारभन्दा बढी लोकप्रिय मत ल्याएका छौँ । यही आधारमा हामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मत माग्छौँ । 

एमाले र केपी ओलीको आलोचनामै एकीकृत समाजवादीका नेताले बढी समय खर्चिएको देखिन्छ नि ? 
गाली–गलोजपूर्ण शब्दप्रति हामी सचेत छौँ । केपी ओलीले जसरी गाली हामीले गर्नुहुँदैन भन्नेमा सचेत छौँ । नवौँ महाधिवेशनमा नीति एउटाको र नेतृत्व केपी ओलीको भएका कारण एमालेमा समस्या आएको हो । महाधिवेशनले पारित गरेको नीति, कार्यक्रमप्रति ओलीले अपनत्व नै लिएनन्, कुनै जिम्मेवारी भाव नै देखाएनन् त भन्नैपर्‍यो नि ।

ओली जनताको बहुदलीय जनवादको हवाला दिन्छन्, तर पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने अवस्था नै एमालेमा रहेन । पार्टीमा आन्तरिक लोकतन्त्र भएको भए ओलीविरुद्ध बोल्नेलाई पनि ठाउँ दिन सक्नुपर्थ्यो । ओलीको विचारको विपक्षमा लागेकालाई पनि माया गर्न सक्नुपर्थ्यो । बहुमतमा भएको नेताले अल्पमतलाई माया गरेको भए स्वाभाविक रूपमा अल्पमतले पनि सम्मान गर्ने अवस्था बन्थ्यो । हामीले वैज्ञानिक समाजवादको जे सपना देखेका हौँ, दुईतिहाइको सरकारले काम गर्न सकेन । 

अब कस्तो पार्टी बनाउन खोज्नुभएको हो ?
एमाले र माओवादीबीचको एकतापछि जस्तो शक्ति बनेको थियो, त्यस्तै शक्ति बनाउने प्रयत्न गर्दै जान्छौैँ । वर्तमान पाँचदलीय गठबन्धनलाई कायमै गर्दै वाम गठबन्धन, तालमेल र एकताको निम्ति पहलकदमी लिने निर्णय गरिसकेका छौँ । पार्टी स्थापना दिवस मनाइरहँदा हामी बृहत् वामपन्थी एकताको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ । हामीले एक वर्षअघि पार्टी दर्ता गरिरहेको वेलामा निर्वाचन आयोगकै प्रांगणबाट बृहत् वाम एकताका निम्ति नै हो भनेका थियौँ । सोहीअनुसार हामी अगाडि बढेका छौँ । 

पार्टी गठन भएको एक वर्ष नपुग्दै एकतामा जानुपर्ने बाध्यता कसरी आयो ? 
एक वर्ष पुग्नै लाग्दा हामीले बृहत् एकता प्रक्रिया थालनी गरेका हौँ । यसबीचमा पनि हामीले विभिन्न दलहरूलाई एकता प्रक्रियामा सहभागी गराएका छौँ । हिजो एमालेमा माओवादी विलय भएको हो कि एकीकरण भएको हो ? अब समाजवादीमा माओवादी विलय हुन खोजेको हो कि माओवादीमा समाजवादी भन्ने ढंगले हेर्नुहुँदैन । यो विलयको कुरै होइन ।

हैसियत र संगठनात्मक प्रभावका आधारमा एकता हुने हो । हिजो केपी ओली र प्रचण्डबीच जसरी छापामार शैलीमा एकता भयो, अब त्यसरी हुँदैन । चुनावभन्दा अगाडि एकता सम्भव देखिँदैन, समयले पनि भ्याइँदैन । चुनावपछि धेरै आयाम, प्रक्रिया पूरा गरेर एकीकृत समाजवादी र माओवादीबीच एकता हुन्छ ।