मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ०६:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेकपाका नेता–कार्यकर्ताविरुद्ध लागेका  नकारात्मक सूचीका ३२२ मुद्दा फिर्ता नहुने

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ०६:२३:००

जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता भएका राजनीतिक प्रकृतिका ६१० मध्ये ५२३ मुद्दा भने फिर्ता, ८७ वटा मुद्दा फर्स्योटका क्रममा

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका ३२२ मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ । १२ फागुन ०७७ मा केपी ओली सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न नसकिने गृह मन्त्रालयले जनाएको छ । यस्ता मुद्दा फिर्ता लिन अदालतले स्वीकृत दिनुपर्ने भएकाले तत्काल नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न नसकिने कानुनमन्त्री गोविन्द शर्मा बन्दीले जानकारी दिए ।

तत्कालीन सरकार र नेकपाबीच सो पार्टीका नेता कार्यकर्ताविरुद्ध लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति भएको थियो । त्यसयता सरकार र विप्लव नेतृत्वको नेकपाबीच मुद्दा फिर्ताका सम्बन्धमा पटक–पटक वार्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता भएका राजनीतिक प्रकृतिका ६ सय १० मध्ये पाँच सय २३ मुद्दा फिर्ता भइसकेका छन् । बाँकी ८७ वटा फर्स्योटका क्रममा छन् । 

गृहमन्त्री बालकृष्ण खाणले विप्लव समूहविरुद्धका राजनीतिक प्रकृतिका अधिकांश मुद्दा फिर्ता भएको बताए । ‘विप्लव समूहविरुद्धका जिल्ला प्रशासन कार्यालयमा ६ सय १० मुद्दा दर्ता भएका थिए । पटक–पटकको वार्तापछि पाँच सय २३ मुद्दा फिर्ता भएका छन् । बाँकी ८७ वटा फर्स्योटको चरणमा छन्,’ उनले भने । तर, अदालतको प्रक्रिया प्रवेश भएका र नकारात्मक सूचीमा परेका अपराधसँग सम्बन्धित मुद्दा भने कुनै पनि फिर्ता हुन सकेका छैनन् । 

गृह मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सहभागी कानुनमन्त्री शर्माले नकारात्मक सूचीका कुनै पनि मुद्दा फिर्ता नहुने स्पष्ट पारे । ‘विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध लागेका राजनीतिक प्रकृतिका मुद्दा धेरै फिर्ता भएका छन् । केही फिर्ताको चरणमा छन् । तर, उनीहरूविरुद्ध लागेका नकारात्मक सूचीका मुद्दा फिर्ता हुँदैन । कानुनले व्यवस्था गरेको बाहेकका मुद्दा फिर्ता हुन सक्दैनन् । यसमा प्रस्ट हुँदा हुन्छ,’ उनले भने ।

कानुनअनुसार अपरहण तथा शरीर बन्धक, लागुऔषध ओसारपसार, संगठित अपराध, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार, जबर्जस्ती करणी, मानवताविरुद्धको अपराध, मानव बेचबिखन, भ्रष्टाचार, इजाजतविना हातहतियारको कारोबार, आणविक रासायनिक, जैविक वा विषालु हातहतियारको उत्पादन वा कारोबारजस्ता कसुर नकारात्मक अपराधको सूचीमा पर्छन् । 

गोविन्द शर्मा बन्दी कानुनमन्त्री
विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध लागेका राजनीतिक प्रकृतिका मुद्दा धेरै फिर्ता भएका छन् । केही फिर्ताको चरणमा छन् । तर, उनीहरूविरुद्ध लागेका नकारात्मक सूचीका मुद्दा फिर्ता हुँदैन । कानुनले व्यवस्था गरेको बाहेकका मुद्दा फिर्ता हुन सक्दैनन् । यसमा प्रस्ट हुँदा हुन्छ । 

यी हुन् नकारात्मक अपराधको सूचीका कसुर 
कानुनअनुसार अपरहण तथा शरीर बन्धक, लागुऔषध ओसारपसार, संगठित अपराध, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार, जबर्जस्ती करणी, मानवताविरुद्धको अपराध, मानव बेचबिखन, भ्रष्टाचार, इजाजतविना हातहतियारको कारोबार, आणविक रासायनिक, जैविक वा विषालु हातहतियारको उत्पादन वा कारोबार 

३८ मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पेस 
महान्यायाधिवक्ता कार्यालयका अनुसार विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध नकारात्मक सूचीका तीन सय २२ मुद्दा छन् । त्यसबाहेकका अपराधसँग सम्बन्धित एक सय ९८ वटा मुद्दा जिल्ला अदालतमा विचाराधीन छन् । एक सय १९ मुद्दामा भने फैसला भइसकेका छन् । ३८ वटा मुद्दा फिर्ताका लागि गृह मन्त्रालयमार्फत महान्यायाधिवक्ता कार्यालयमा पेस भएका छन् । 

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध दर्ता भएकामध्ये तीन सय २२ मुद्दा नकारात्मक सूचीको रहेको बताए । ‘कानुनतः नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न मिल्दैन । यस्ता मुद्दा उनीहरूविरुद्ध तीन सय २२ छन् । त्यसबाहेक उनीहरूविरुद्ध एक सय ९८ मुद्दा जिल्ला अदालतमा विचाराधीन छन् । एक सय १९ वटा मुद्दा भने फैसला भइसकेका छन् । ३८ मुद्दा फिर्ता गर्न भन्दै महान्यायाधिवक्ता कार्यालयमा पेस भएका छन्, जुन सबै राजनीतिक प्रकृतिका मुद्दा हुन्,’ उनले भने ।

गृह मन्त्रालयका अनुसार विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध जारी भएका पक्राउ पुर्जी मुद्दा टुंग्याउने प्रक्रियाकै एउटा अंश हो । गत १६ साउनमा जिल्ला अदालत ललितपुरले हातहतियार तथा खरखजाना, संगठित अपराध र आपराधिक लाभ, विस्फोटक गराई कर्तव्य ज्यान तथा राज्यविरुद्धको अपराध र विस्फोट पदार्थसम्बन्धी अपराधमा विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेकपाले अदालतले जारी गरेको सूचनाप्रति आपत्ति जनाएको थियो । सरकारसँग र मुद्दा फिर्ताका विषयमा छलफल भइरहँदा पक्राउपुर्जी जारीले वातावरण बिग्रने चेतावनी दिएको थियो ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, सन्तोष बुढामगर, पदमबहादुर राई, उदय चलाउने, भरतबहादुर बम र नन्दा विश्वकर्माविरुद्ध पक्राउपुर्जी जारी भएको छ । गृहसचिव टेकनारायण पाण्डेले विप्लव समूहका नेता कार्यकर्ताविरुद्ध जारी भएको पक्राउपुर्जीलाई लिएर चिन्ता व्यक्त गर्नु नपर्ने बताए । ‘विप्लव समूहविरुद्धको पक्राउपुर्जी मुद्दा टुंग्याउने प्रक्रियाकै एक अंश हो, यसलाई ठूलो बनाउन उचित हुन्न,’ उनले भने ।