१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा पहरा दिइरहेका एक रुसी सैनिक । तस्बिर : न्युयोर्क टाइम्स
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युरोप आणविक दुर्घटनाको संघारमा

युक्रेनले आणविक संयन्त्रमा आक्रमण गर्न नसक्ने भएकाले रुसले संयन्त्र छेको बनाएर युक्रेनी सहरमाथि मिसाइल प्रहार गरिरहेको दाबी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:४२:oo

गत मार्चदेखि रुसी फौजले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र जापोरिज्जिया आणविक केन्द्रमा सेना तैनाथ गरेको छ । कियभले बारम्बार रुसले सो संयन्त्रमा विशाल हातहतियार भण्डारण गरेर राखेको आरोप लगाइरहेको छ । युक्रेनले आणविक संयन्त्रमा आक्रमण गर्न नसक्ने भएकाले रुसले संयन्त्रको छेको बनाएर युक्रेनी सहरमाथि मिसाइल प्रहार गरिरहेको युक्रेनको दाबी छ । संयन्त्रमा ६ वटा आणविक रियाक्टर छन् र कुनै एक चुकले विपत् निम्त्याउन सक्छ । यसबीच, मस्कोले भने युक्रेनी सेनाले उक्त संयन्त्रलाई निसाना बनाएको दाबी गरेको छ । यसबीच दुवै पक्षले एकअर्कामाथि आणविक आतंकवादको धम्की दिएको आरोप लगाइरहेका छन् ।

सोही आणविक संयन्त्रमा काम गरिरहेकी ओल्गा र उनका युक्रेनी सहकर्मीका लागि, आणविक प्रकोपको डर केवल दुःस्वप्न मात्र होइन, यो एक त्रासदीपूर्ण दैनिक वास्तविकता हो । आणविक संयन्त्रमा कार्यरतहरूका लागि आणविक दुर्घटनाको डर ‘सुत्नु र सपना देख्नुजस्तै भएको’ उनले सिएनएनसँगको अन्तर्वार्तामा भनेकी छन् । रुसी सेनाको नियन्त्रणमा रहेको उक्त प्लान्ट अझै पनि मुख्यतया युक्रेनी प्राविधिकहरूद्वारा नै सञ्चालित छ ।

गत बिहीबार राति यो आणविक संयन्त्रवरपर पुनः गोलाबारी भएपछि युक्रेन र रुस फेरि एकअर्कालाई दोषारोपणमा लागेका छन् । संयुक्त राष्ट्र संघले दुवै पक्षलाई ऊर्जा केन्द्रनजिक सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले पछिल्ला आक्रमणले प्लान्टका केही भाग ध्वस्त पारेको र ‘अस्वीकार्य’ सम्भावित विकिरण चुहावटको जोखिम उत्पन्न गरेको भनेका थिए ।

ग्रोसीले आणविक संयन्त्रमा स्थिति द्रुतगतिमा बिग्रिँदै गइरहेको उल्लेख गर्दै विकिरण चुहावटको छानबिन गर्न विज्ञहरूको टोलीलाई तुरुन्तै आणविक संयन्त्रमा पहुँच दिनुपर्ने भनेका छन् । युक्रेनी अधिकारीले जापोरिज्जिया आणविक ऊर्जा केन्द्रबाट प्रहार गरिएका रुसी रकेटहरूले गत हप्ता निप्रो नदीको दाहिने किनारमा रहेको निकोपोल सहर र वरपरका जिल्लालाई ध्वस्त पारेको बताएका छन् । मंगलबार राति भएको गोलाबारीमा कम्तीमा १३ जनाको मृत्यु भएको र बुधबार तथा बिहीबार साँझको आक्रमणमा धेरै घाइते भएको स्थानीय अधिकारीहरूको दाबी छ ।

जापोरिज्जिया संयन्त्रमा गोलाबारीमा भएको पछिल्लो वृद्धिपछि आइएईएले आणविक संयन्त्रको मूल्यांकन र सुरक्षा व्यवस्थाका लागि विशेषज्ञ मिसन पठाउने प्रयासलाई तीव्रता दिएको छ । विज्ञहरूले गरेको प्रारम्भिक मूल्यांकनले संयन्त्रमा ‘आणविक सुरक्षाको हिसाबले जोखिम’ फेला नपरेको ग्रोसीले जानकारी दिएका छन् । तर, तनावबीच स्थिति कुनै समयमा पनि परिवर्तन हुन सक्ने उच्च जोखिम छ । आइएइए जापोरिज्जियाबारेमा युक्रेनी र रुसी अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको तर दुवै पक्षबाट फरक–फरक कुरा आइरहेको ग्रोसी बताउँछन् ।

चेर्नोबिल आणविक दुर्घटनाको स्मरण
पछिल्लो आक्रमणमा रकेटले ऊर्जा संयन्त्रभित्रको रेडियोधर्मी अवशेष भण्डारण क्षेत्रलाई क्षति पुर्‍यायो । त्यसपछि नै आणविक दुर्घटनाको जोखिम एकदम नजिक रहेको चर्चा चल्न थालेको हो । युक्रेनले सन् १९८६ मा चेर्नाेबिल आणविक दुर्घटना भोगिसकेकाले पुनः त्यस्तै दुर्घटनाको आशंकाले उनीहरूलाई त्रसित बनाएको छ । सोभियतकालीन चेर्नोबिल आणविक संयन्त्र विस्फोट हुँदा त्यसले युक्रेनको उत्तरी आकाशमा विकिरण फैलाएको थियो । सार्वजनिक आँकडाअनुसार चेर्नोबिल दुर्घटनामा मर्नेहरूको आधिकारिक संख्या ३१ मात्रै भए पनि त्यस संख्यामा पछि आणविक दुर्घटनास्थललाई ढाक्ने संयन्त्र बनाउने कार्यमा संलग्न हजारौँमा परेको असर उल्लेख गरिएको छैन ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको केही समयमै चेर्नोबिल आणविक संयन्त्रस्थललाई समेत कब्जामा लिएको थियो । तर, मस्कोले किभ कब्जा लिन असफल भएपछि केही हप्तामै उक्त संयन्त्रलाई परित्याग गर्‍यो । दक्षिणी युक्रेनमा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्र पनि युद्धको प्रारम्भिक दिनमै कब्जा गरिएको थियो, तर रुसले यसमाथिको नियन्त्रणलाई भने कायमै राखेको छ ।

आणविक  दुर्घटना कसरी हुन्छ ?
‘आणविक संयन्त्रका रियाक्टरहरूलाई नियमित ठन्डा बनाउनुपर्ने हुन्छ । यदि रियाक्टरलाई चिस्याउने पानीको धारलाई बन्द गरियो, रोकियो वा घटाइयो भने रियाक्टर ठन्डा हुँदैन र त्यहाँ रहेको इन्धन पग्लिन थाल्छ । त्यसले उच्च दबाब सिर्जना गर्छ र अन्ततः विस्फोट हुन्छ,’ ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्रध्यापक एमभी रामन बताउँछन् ।विज्ञहरू अहिले रियाक्टरको मुख्य भागको विस्फोट नभएर अवशेष बाँकी रहेको इन्धनलाई चिस्याउने प्रणालीमा हुने क्षतिका बारेमा बढी चिन्तित छन् । यदि चिस्याउने प्रणाली असफल भयो भने यसले अनियन्त्रित ताप निर्माण गर्छ र त्यसबाट उत्पन्न हुने इन्धनको पग्लाइ र आगोले विकिरण नियन्त्रण गर्न बनाइएको संरचनाबाट विकिरण चुहिएर फैलिन सक्छ ।

रेडियोधर्मी विकिरण कुन दिशातर्फ बढी बहन्छ भन्ने कुरा त्यस समयको मौसमले पनि धेरै असर गर्छ । जापोरिज्जिया आणविक संयन्त्र युरोपको मध्यभागमा रहेकाले यो युरोपको सबै भागमा पुग्न सक्ने बताइँदै छ । तर, कुन दिशालाई बढी प्रभावित बनाउँछ भन्ने कुरा त्यस समयको हावाको दिशाले नै तय गर्नेछ ।

विस्फोटको असर के हुनेछ ?
आणविक संयन्त्र विस्फोट भएलगत्तै अदृश्य रेडियोधर्मी बादल सिर्जना हुन्छ । त्यसबाट बच्न ठूलो संख्यामा मानिसहरू त्यस क्षेत्रबाट बाहिर भाग्न खोज्नेछन् । यस्तो विस्थापनको संख्या लाखौँमा हुन सक्ने विज्ञहरू बताउँछन् । हावामा उच्च परिणामको विकिरणले रेडियोधर्मी विषाक्तता वा क्यान्सरजस्ता रोग बढाउँछ । उच्च परिणामको रेडियोधर्मी विकिरणको सम्पर्कमा आएका व्यक्तिमा तत्काल विषाक्त असर पर्छ । मध्यमस्तरको विकिरण विषाक्तताबाट पीडित मानिसहरू भने केही दिनदेखि हप्ता वा अझ महिनौँपछि निको हुन्छन् । न्यून र मध्यमस्तरको विकिरणको सम्पर्कमा आएका मानिसमा रेडियोधर्मी विषाक्तताबाट मुक्त भएपछि उनीहरूलाई वर्षौं अझ दशकौँपछि पनि क्यान्सर देखिन सक्छ ।

विकिरण चुहावट भए के हुन्छ ?
विज्ञहरूका अनुसार विकिरण चुहावटपछि ठूलो संख्यामा मानिसको उद्धारका अतिरिक्त चिकित्सा सेवाको माग बढ्नेछ । एक्कासि बढ्ने बिरामीको संख्याले चिकित्सकीय सेवामािथ दबाब पर्नेछ । विज्ञहरू युद्ध क्षेत्रबाट उद्धारका आफ्नै जटिलता भएको बताउँछन् । उनीहरू यस्तो कुनै पनि दुर्घटनाको परिणाम अकल्पनीय नै हुने ठान्छन् । विज्ञहरूका अनुसार विकिरणले पुर्‍याउने खतराभन्दा बढी कठिनाइ विकिरणको डरले उत्पन्न गर्नेछ । नजिकैको आणविक ऊर्जा संयन्त्रबाट विकिरण चुहिएको छ भन्ने थाहा भएपछि मानिसलाई विभिन्न मनोवैज्ञानिक लक्षण महसुस हुन थाल्छ र अस्पतालमा भिड लाग्छ । त्यसबाहेक विकिरणको सम्पर्कमा आउनासाथ तुरुन्त मर्ने संख्या कम भए पनि यसका दीर्घकालीन असर हुनेछन्। 

 के हो जापोरिज्जिया आणविक संयन्त्र ?
जापोरिज्जिया आणविक विद्युत् संयन्त्र युरोपको सबैभन्दा ठूलो र विश्वका १० ठूला संयन्त्रमध्ये एक हो । यसले युक्रेनको आणविक विद्युत्को आधा उत्पादन गर्छ । संयन्त्रको कुल क्षमता ६ हजार मेगावाट छ, जसले चालीस लाख घरलाई बिजुली प्रदान गर्छ । यो दक्षिण युक्रेनी मैदान तथा निपर नदीको किनारमा अवस्थित छ, जुन युक्रेनको राजधानी किभको दक्षिणपूर्व ५५० किमि टाढा छ भने विश्वकै सबैभन्दा खराब आणविक ऊर्जा संयन्त्र दुर्घटना भएको स्थान चेर्नोबिलबाट लगभग ५२५ किमि दक्षिणमा पर्छ । संयन्त्रलाई युक्रेनी कर्मचारीले नै सञ्चालित गरिरहेका भए पनि यो रुसी सेनाको कब्जामा छ । आइएइएका अनुसार आणविक संयन्त्रमा ६ वटा सोभियतकालीन डिजाइनयुक्त पानीले चिसो बनाउने रियाक्टरहरू छन्, जसमा युरेनियम–२३५ इन्धनको रूपमा प्रयोग गरिन्छ । प्रत्येक रियाक्टरको कुल क्षमता ९५० मेगावाट छ । युक्रेनी अपरेटर एनरगोएटमले ‘संयन्त्रबाट उत्पादित विजुलीलाई क्रिमियन बिजुली ग्रिडमा जोड्ने’ तयारी भइरहेको दाबी गरेको छ । 
श्रवण उप्रेती(एजेन्सीको सहयोगमा)

ad
ad