निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
नारायण शिवाकोटी नयाँ पत्रिका
२०७९ भदौ १ बुधबार १०:२१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ताइवान तनावमा ‘प्रविधि युद्ध’को छाया

Read Time : > 3 मिनेट
नारायण शिवाकोटी, नयाँ पत्रिका
२०७९ भदौ १ बुधबार १०:२१:००

चीन–ताइवान तनावमा भूराजनीति मात्रै छैन, अमेरिका र चीनबीच जारी ‘प्रविधि युद्ध’को प्रतिच्छाया पनि छ 

२ अगस्टमा अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले ताइवानको आकस्मिक भ्रमण गरिन् । त्यसबाट रुष्ट चीनले लगत्तै ताइवानलाई घेरेर केही दिन लाइभ युद्धाभ्यास नै प्रदर्शन गर्‍यो । गत सोमबार अमेरिकी कंग्रेसका सदस्यको एक टोलीले ताइवानी राष्ट्रपतिसँग भेट गरे । लगत्तै चीनले ताइवानी जलडमरुमा अर्काे सैन्य अभ्यास गर्ने घोषणा गरिसकेको छ । अहिलेसम्म अमेरिकाले आफ्नो एक चीन नीतिमा आधिकारिक रूपले परिवर्तन नै त गरिसकेको छैन, तर व्यवहारमा एक चीन नीति पछ्याइरहेको पनि छैन । अहिले चीन र अमेरिका ‘प्रविधि युद्ध’मा छन् । यो तनावको केन्द्रबिन्दुमा कसले उन्नत प्रविधिको विकास गर्ने र आर्थिक प्रभुत्व कायम गर्ने भन्ने देखिन्छ । 

अमेरिका–चीन–ताइवान तनावको आयामलाई अगस्ट ९ मा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको चिप्स एन्ड साइन्स एक्टले पनि धेरै हदसम्म विस्तार गर्छ । यो कानुन अमेरिकाभित्र सेमिकन्डक्टर म्यानुफ्याक्चरिङमा सहयोग अनुदान दिन ल्याइएको हो । यसले इच्छुक कम्पनीहरूलाई ५२ अर्ब डलर उपलब्ध गराउने बाटो खोलेको छ । तर, यो अनुदान पाउन कम्पनीहरूले चिनियाँ कम्पनीहरूका लागि उन्नत सेमिकन्डक्टरहरू उत्पादन गर्न छाड्नुपर्ने हुन्छ । यो चीन र अमेरिकाबीचको व्यापक ‘प्रविधि युद्ध’कै एक भागजस्तो देखिन्छ । चीनले प्रविधिमा प्रगति गरेको अमेरिकालाई मनपरेको छैन । अमेरिकाले सन् २०१९ मै चिनियाँ प्रविधि जायन्ड एवं फाइभजी प्रविधिको अग्रणी कम्पनी हुवावेलाई प्रतिबन्ध लगाइसकेको छ । यसले चीनको प्रविधिगत उन्नतिको गतिलाई कम गरेको आकलन गरिन्छ । म्यानुफ्याक्चरिङ क्षेत्रमा अग्रणी उदाउँदो चीनलाई रोक्ने उपायमध्ये सबैभन्दा किफायती र प्रभावकारी कदम उसको प्रविधिगत समुन्नतिमा अवरोध हुनेछ ।

अमेरिकाको कदम चिनियाँ प्रविधि कम्पनीलाई प्रतिबन्धित गर्नेमा मात्रै सीमित छैन । अमेरिकाले सेमिकन्डक्टरको क्षेत्रमा आक्रामक लगानी नै गर्न थालेको छ । चीनले कुनै पनि बहानामा ताइवानमा समस्या खडा गरेर उन्नत चिप्सको विश्वव्यापी अभाव सिर्जना गर्न सक्ने र त्यसले अमेरिकाको प्रविधिगत समुन्नतिमा ठूलो अवरोध आउन सक्ने खतरालाई आकलन गरी अमेरिकाले सेमिकन्डक्टरमाथि ध्यान दिन थालेको हो । साथै, यसको आकर्षक बजारमा जसले प्रभुत्व जमाउन सक्छ, उही महाशक्ति हुने भएकाले ऊ सेमिकन्डक्टर म्यानुफ्याक्चरिङमा आफ्नो क्षमता बढाउन लालायित छ ।   

न्यान्सी पेलोसीले जोखिमपूर्ण ताइवान भ्रमणका क्रममा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पाेरेसन(टिएसएमसी)का अध्यक्ष मार्क लुईसँग महŒवका साथ भेट गर्नुमा पनि यही अभिप्रायले काम गरेको ठानिन्छ । टिएसएमसी विश्वको सबैभन्दा ठूलो चिप म्यानुफ्याक्चरर हो । उन्नत चिपहरूका लागि अमेरिका लगभग सम्पूर्ण रूपले यही ताइवानी कम्पनीमा निर्भर छ । इन्टेलजस्ता अमेरिकी सेमिकन्डक्टर डिजाइन कम्पनीहरू पनि चिप उत्पादनका लागि ताइवानी कम्पनीहरूमै निर्भर छन् । पछिल्लो समय अमेरिका टिएसएमसीलाई अमेरिकामा नै म्यानुफ्याक्चरिङ बेस तयार गर्न र चिनियाँ कम्पनीहरूका लागि उन्नत चिप बनाउन छाड्न, मनाउन खोजिरहेको छ । बाइडेन प्रशासन आफ्नो सयदिने आपूर्ति शृंखला पुनरावलोकन प्रतिवेदनमा भन्छ, ‘अमेरिका आफ्नो उच्च प्रविधियुक्त उन्नत चिप्स (पाँच नानोमिटर साइजका) उत्पादनका लागि केवल एउटा कम्पनी टिएसएमसीमा गम्भीर रूपले निर्भर छ ।’ 

दश शीर्ष चिप उत्पादक 

  • टिएसएमसी : ५४ प्रतिशत : ताइवान 
  • सामसुङ : १७ प्रतिशत : दक्षिण कोरिया ।
  • युएमसी : ७ प्रतिशत : ताइवान
  • ग्लोबल फन्डराइजर : ७ प्रतिशत : अमेरिका
  • एसएमआइसी : ५ प्रतिशत : चीन
  • एचएच ग्रेस : १ प्रतिशत : चीन 
  • पिएसएमसी : १ प्रतिशत : ताइवान
  • पिएसएमसी : १ प्रतिशत : ताइवान
  • भिआइएस : १ प्रतिशत : ताइवान 
  • डिबी हाइटेक : १ प्रतिशत : चीन 
  • टावर सेमिकन्डक्टर : १ प्रतिशत : इजरायल अन्य ५ प्रतिशत

सेमिकन्डक्टर बजारको आकार
म्याकिन्सेको प्रक्षेपणअनुसार सन् २०२२ मा सेमिकन्डक्टरको विश्वव्यापी बजार पाँच खर्ब ७३ अर्ब ४४ करोड डलर पुग्दै छ । यो सन् २०२९ सम्ममा बढेर १० खर्ब ६५ अर्ब डलरमा पुग्ने अनुमान छ । सेमिकन्डक्टरको म्यानुफ्याक्चरिङतर्फको बजार हिस्सामा ताइवानी कम्पनी टिएसएमसीकै बाहुल्य छ । टिएसएमसीको ग्लोबल फन्ड्री मार्केट (अन्य कम्पनीका लागि बनाइने सेमिकन्डक्टरको बजार) हिस्सा यो वर्षको पहिलो त्रैमासमा ५३.६ प्रतिशत थियो । यसबाहेक, अन्य ताइवानी कम्पनीले पनि थप १० प्रतिशत बजार हिस्सा ओगटेका छन् । उच्च प्रविधियुक्त उन्नत चिपहरूको उत्पादनमा त टिएसएमसीको एकाधिकारजस्तै छ । विश्वभर खपत हुने उच्च प्रविधियुक्त उन्नत सेमिकन्डक्टरको करिब ९५ प्रतिशत हिस्सा टिएसएमसीकै छ । 

सेमिकन्डक्टर डिजाइनको क्षेत्रमा भने अमेरिकी कम्पनीहरू अग्रणी देखिन्छन् । इन्टेललगायत अमेरिकी सेमिकन्डक्टर डिजाइन कम्पनी (फ्याबल्स)को बजार हिस्सा ५० प्रतिशत हाराहारी छ । म्याकिन्सेका अनुसार अमेरिकी कम्पनीहरूले सन् २०२१ मा दुई खर्ब ५८ अर्ब डलरको डिजाइन÷उत्पादन बिक्री गरेका थिए । सन् २०३० सम्ममा कम्प्युटिङ र डाटा स्टोरेजको क्षेत्रमा तीन खर्ब ५० अर्ब डलर, वायरलेस कम्युनिकेसनको क्षेत्रमा दुई खर्ब ८० अर्ब डलर, अटोमेटिभ इलोक्ट्रोनिक्समा एक खर्ब ५० अर्ब, इन्डस्ट्रियल इलोक्ट्रोनिक्सको क्षेत्रमा एक खर्ब ३० अर्ब, कन्जुमर इलोक्ट्रोनिक्सको क्षेत्रमा ९५ अर्ब र तारयुक्त सञ्चार प्रविधिमा ६० अर्बसहित सेमिकन्डक्टरको विश्वव्यापी बजार १० खर्ब ६५ अर्ब डलर पुग्ने म्याकिन्से एन्ड कम्पनीको प्रक्षेपण छ । 

के हो सेमिकन्डक्टर ?
सेमिकन्डक्टरलाई आधुनिक इलोक्ट्रोनिक्सको ब्रेन (मस्तिष्क) भन्ने गरिन्छ । सेमिकन्डक्टर इलोक्ट्रोनिक उपकरण, सञ्चार प्रविधि, कम्प्युटिङ, हेल्थकेयर, सैन्य प्रणाली, यातायात, सफा ऊर्जालगायत अनगिन्ती उपकरणको अत्यावश्यक घटक हो । इन्टिग्रेटेड सर्किट (आइसी) वा माइक्रो चिप्ससमेत भनिने सेमिकन्डक्टर सिलिकन वा जर्मानिअमजस्ता शुद्ध तत्व वा ग्यालिअम आर्सेनाइडजस्ता यौगिकबाट बनाइन्छ । सेमिकन्डक्टर बनाउँदा डोपिङ भनिने प्रक्रियामार्फत यसको चालकतामा ठूलो परिवर्तन ल्याउन यसमा थोरै अशुद्धता थपिन्छ । यस्ता चिप्समा ठूलो संख्यामा ट्रान्जिस्टरहरू हुन्छन् । अहिले विश्वमा एक खर्बभन्दा धेरै इन्टिग्रेटेड सर्किटहरू प्रयोजनमा रहेको सेमिकन्डक्टर फ्याक्ट्री एसोसिएसनको वेबसाइटमा उल्लेख छ । 

सेमिकन्डक्टर कम्पनीहरू सामान्यत दुई चरणका गतिविधिमा संलग्न हुने गर्छन् : डिजाइन र उत्पादन । डिजाइनमा मात्रै केन्द्रित कम्पनीलाई फ्यावलेस र म्यानुफ्याक्चरिङमा मात्रै संलग्न हुनेलाई फाउन्डरिज भन्ने गरिन्छ । दुवै कार्यमा संलग्नलाई चाहिँ इन्टिग्रेटेड डिभाइस म्यानुफ्याक्चरर(आइडिएम्स) भनिन्छ ।

कसले कति लगानी गर्दै छन् ?
अमेरिकाले टिएसएमसीले सन् २०२२ भित्रै चिप बनाउने प्लान्ट र उपकरणमा ४०–४४ अर्ब डलर लगानी गर्ने भनिसकेको छ । अमेरिकी कम्पनी इन्टेलले अबका केही वर्षमा एक खर्ब डलर लगानी गर्ने भनेको छ । चीनले पनि सेमिकन्डक्टरको क्षेत्रमा भारी लगानी गरिरहेको छ । युरोपेली युनियनले यही क्षेत्रमा १५ अर्ब डलर खर्चिंदै छ । 

(एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् : सेमिकन्डक्टरमा पछि परेको अमेरिका