निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
फराह स्टोकम्यान
२०७९ भदौ १ बुधबार १०:१३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सेमिकन्डक्टरमा पछि परेको अमेरिका

Read Time : > 4 मिनेट
फराह स्टोकम्यान
२०७९ भदौ १ बुधबार १०:१३:००

सेमिकन्डक्टरलाई २१औँ शताब्दीको पेट्रोलियम पदार्थ मानिन्छ । यी मसिना चिप्सहरू आज स्मार्टफोनदेखि भूउपग्रह र मिसाइल प्रतिरक्षा प्रणालीसम्म प्रयोग गरिन्छन् । अमेरिकाको आर्थिक तथा सैन्य सबलतालाई बचाइराख्ने हो भने चिप्सको विश्वसनीय आपूर्ति कायम राख्नुपर्नेछ । कोरोना महामारीको समयमा सेमिकन्डक्टरको अभावले कारको एसेम्ब्ली लाइनसमेत अवरुद्ध भयो भने घरायसी सरसमान–पसलका र्‍याली खाली पर्दै गएका थिए । त्यसवेलाको चिप्सको अभावले आधुनिक अर्थतन्त्रमा त्यसको सर्वव्यापकताको झल्को देखाउँथ्यो । 

खनिज इन्धनजस्तै सेमिकन्डक्टर उद्योगहरू पछिल्लो समय यति महत्वपूर्ण भएका छन् कि यो युद्धको कारण बन्न सक्ने स्थिति बनेको छ । आज विश्वमा बन्ने झन्डै ९२ प्रतिशत उन्नत चिप्सहरू ताइवानमा बन्छन् । त्यसपछिको धेरै चिप्स दक्षिण कोरियामा बन्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई नियन्त्रण लिने र आवश्यक परे बल प्रयोग गर्ने धम्की दिइरहेका छन् । यस सन्दर्भमा अमेरिकी नीति–निर्माता तिनका सेनालाई आवश्यक पर्ने चिप्सको समेत आपूर्ति रोकिने हो कि भनेर चिन्तित हुन थालेका छन् । 

ट्रम्प सरकारले चीनमा केही चिप्सको बिक्री प्रतिबन्ध लगाइदिएको थियो । त्यसयता चिप्स सार्वजनिक बहसको विषय बन्दै आएको छ । भित्रभित्रै भोलिका दिन अमेरिकीकै चिप्स आपूर्तिमा अवरोध हुने हो कि भन्ने बहस सुरु भएको छ । चिप्सका लागि अमेरिकाको एसियामाथिको निर्भरता कम गर्नुपर्ने विषय अमेरिकाका दुई दलबीचको आम सहमतिका थोरै मुद्दामध्ये एक हो । 

अमेरिकी संसद्मा टेबल भएको ‘चिप्स’ ऐनले संयुक्त राज्य अमेरिकाभित्रै सेमिकन्डक्टर कारखाना निर्माणका लागि ३९ अर्ब डलर अनुदान दिने प्रस्ताव गरेको छ । ऐनले चिप्सको नवप्रवर्तनका लागि आवश्यक अनुसन्धान र विकास पहलका लागि थप ११ अर्ब अमेरिकी डलर पनि छुट्याएको छ । यही ग्रीष्ममा अमेरिकी कंग्रेसमा छलफल हुने यो विधेयकको मूल उद्देश्य अमेरिकाको प्रतिस्पर्धात्मकता बढाउने हो । 

तर पहिलेदेखि नाफामा रहेको उद्योगलाई कर्पोरेट अनुदान दिनु उचित हुन्छ त ? भन्ने प्रश्न उठेको छ । हाल चिप्स बन्ने विश्व केन्द्रहरू– ताइवान, दक्षिण कोरिया, भारत, जर्मनी र चीनले तिनको देशमा यी क्षेत्रको विकासमा ठूलो सरकारी अनुदान दिएका थिए । यस क्षेत्रमा अमेरिकाको प्रतिस्पर्धात्मक क्षमता बढाउन अनुदानबाहेक अन्य विकल्प देखिएको छैन । तर, पैसाले मात्र यस क्षेत्रको सफलताको ग्यारेन्टी गर्दैन । यस उद्योगलाई आवश्यक जनशक्तिमा लगानी नगरेसम्म कारखाना भवन मात्र बनाएर खासै उपलब्धि हासिल हुँदैन । सेमिकन्डक्टर प्रभुत्व किन्न सकिने कुरा होइन, यो निर्माण गर्नुपर्ने कुरा हो । यसको सुरुवात योजनाबद्ध रूपमा गरिने दीर्घकालीन रणनीतिबाट सुरु हुन्छ र यसमा देशभित्र र बाहिरका प्रतिभाको पाइपलाइन सिर्जना गर्नुपर्छ । 

यसैले अमेरिकाको पुरड्यू विश्वविद्यालयले भर्खरै सुरु गरेको देशको पहिलो बृहत्तर ‘सेमिकन्डक्टर डिग्री’ कार्यक्रमलाई त्यसतर्फको सुखद कदम मान्नुपर्छ । त्यस्तै ओहायोको विभिन्न स्थानमा फ्याब्स (सेमिकन्डक्टर बन्ने उद्योगलाई फ्याब भनिन्छ)को सञ्जाल बनाइरहेको इन्टेलले ओहायो विश्वविद्यालयसँग सेमिकन्डक्टर उत्पादनसम्बन्धी अनुसन्धानमा सहकार्य गर्ने बताएको छ । ‘सेमिकन्डक्टरको खेल एक लामो खेल हो, यो फ्याब बनाउने कुरासँग मात्र होइन, कसले नवप्रवर्तन वा प्रतिभा विकास गर्न सक्छ भन्ने कुरासँग पनि जोडिएको छ,’ ताइवानको संसद्मा प्राविधिक उद्योगको प्रतिनिधिको रूपमा आबद्ध जेसन सूले भने । 

हार्वर्ड केनेडी स्कुलकी सिनियर फेलो रहेका सू हाल संयुक्त राज्य अमेरिका र ताइवान तथा दक्षिण कोरियाबीचको उद्योग सहकार्य निर्माणमा केन्द्रित छन् । तर, उनी अमेरिकी सांसदहरू सेमिकन्डक्टर उद्योगलाई ताइवानबाट अमेरिका सार्न मात्र केन्द्रित भएको देखेर दुःखी हुन्छन् । सू अमेरिकी विधायकहरूले सेमिकन्डक्टर उत्पादनलाई कसरी सफल बनाउने भन्ने कुरा नबुझेको बताउँछन् । ‘उनीहरू केवल चीनलाई कसरी प्रतिवाद गर्नेमा केन्द्रित भएकाले छलफल धेरै सीमित छ,’ सूले भने । 

संयुक्त राज्य अमेरिकामा थप चिप्स बनाउन सबैभन्दा ठूलो बाधामध्ये एक अनुभवी जनशक्तिको अभाव पनि हो । समस्या आंशिक रूपमा संरचनात्मक रहेको सूले भने । फेसबुक र गुगलजस्ता सफ्टवेयर उद्योगले चिप उत्पादन उद्योगको तुलनामा एकदमै धेरै पारिश्रमिक दिन्छन् । ताइवानमै पनि युवाहरूलाई यो क्षेत्रमा आकर्षित गर्न गाह्रो भएको सूले बताए । 

‘चिप्स’ ऐन पारित भएसँगै यसले अपेक्षा गरेअनुरूप अमेरिकामा सेमिकन्डक्टर उद्योग विस्तार भयो भने केही समयमै लगभग १३ हजार नयाँ इन्जिनियरहरू र सफ्टवेयर डेभलपरको आवश्यक पर्नेछ । त्यसमध्ये ३५ सय पदपूर्ति गर्न नसकिने सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीले बतायो । यस सीप अन्तर पछाडीको एक कारण यो हो कि संयुक्त राज्य अमेरिकामा पहिले नै सेमिकन्डक्टर उद्योगमा काम गर्ने मानिससँग चिप डिजाइनमा अनुभव हुन्छ, निर्माणको होइन । 

वर्षौंदेखि धेरै अमेरिकी कम्पनीहरू चिपहरू उत्पादन, परीक्षण र प्याकेजिङको अत्यन्त महँगो प्रक्रियामा संलग्न हुनुको सट्टा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी)जस्ता विदेशी कम्पनीबाट सम्झौतामा चिप किन्दै आएका छन् । तर, चीनसँग भूराजनीतिक तनाव बढ्दै जाँदा आमेरिकामा आफँैले उन्नत चिप्स बनाउनुपर्ने माग बढेको छ । भविष्यमा चीन र अमेरिकाको अर्थतन्त्र विच्छेद हुँदा अमेरिकामै चिप्स उद्योग अपरिहार्य हुने तिनको भनाइ छ ।

भविष्यको तयारीका लागि ट्रम्प सरकारले टिएसएमसीलाई अमेरिकी माटोमा ठूलो परिणाममा उन्नत चिप्स उत्पादन गर्न सक्ने फ्याब निर्माण गर्न दबाब दियो । तर, एरिजोनामा बनाउने भनिएको फ्याबका लागि ताइवानको सिन्चुस्थित टिएसएमसीको कारखानामै जस्तो जनशक्ति फेला पर्नु र तिनमा उस्तै कामप्रतिको लगन भेटिनु गाह्रो कुरा हो । कम्पनीका संस्थापक मोरिस चाङले गत वर्ष आयोजित एक गोष्ठीमा भनेका कुरा हुन् यी । 

सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजी प्रतिवेदनअनुसार ‘कम्तीमा ३५ सय सीपयुक्त विदेशी’ नागरिकलाई अमेरिका आकर्षित गरेर तीमार्फत एक बलियो अमेरिकी श्रमशक्तिलाई निर्माण गर्नुपर्ने आवश्यकता छ । केही अमेरिकी विश्वविद्यालयमा अध्ययनरत विदेशी हुन सक्छन् भने धेरै ताइवान र दक्षिण कोरियाबाट भर्ती गरेर भिœयाउनुपर्ने हुन सक्छ । यस विषयमा उच्च शिक्षा क्षेत्रको अवस्था चिन्ताजनक छ । सेमिकन्डक्टरसम्बन्धी क्षेत्रमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको संख्या सन् १९९० देखि लगभग समान छ । जबकि अमेरिकी विश्वविद्यालयमा यही विधामा भर्ना हुने विदेशी विद्यार्थीको संख्या तीन गुणाले बढेको छ । 

सेन्टर फर स्ट्याटेजिक एन्ड इन्टरनेसनल स्टडिजको प्रतिवेदन ‘विनिङ द टेक ट्यालेन्ट कम्पिटिसन’अनुसार सन् २०२५ मा जम्मा २३ हजार अमेरिकी नागरिकले विज्ञान, गणित, इन्जिनियरिङ र प्रविधिसम्बन्धित विषयमा पिएचडी गर्ने अपेक्षा गरिएको छ । धन्न गैरनागरिक विद्यार्थीले चीनसँगको बढ्दो खाडललाई पुर्न सघाइरहेका छन् । चीनले त्यस अवधिमा उल्लेखित विधामा ७७ हजार पिएचडी उत्पादन गर्ने प्रक्षेपण छ । तर, अमेरिकाले विदेशी प्रतिभाप्रति ढुक्क हुने स्थिति छैन । सन् २०१६ देखि अमेरिकी विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना प्रत्येक वर्ष घट्दै गएको छ । यसले केहीलाई सेमिकन्डक्टर–सम्बन्धित क्षेत्रहरूमा विदेशी भर्नाको दर पनि जोखिममा पर्न सक्ने चिन्ता बढाएको छ । 

स्ट्यानफोर्ड युनिभर्सिटीका इलेक्ट्रिकल इन्जिनियरिङका प्रोफेसर फिलिप वोङका अनुसार अमेरिकाप्रतिको आकर्षण पहिलेजस्तो छैन । यद्यपि एसियाली प्रतिभा स्ट्यानफोर्डमा आउने क्रम भने जारी रहेको उनी बताउँछन् । तीमध्ये केही तिनकै घरनजिकको जीवन्त प्राविधिक उद्योगमा काम गर्न फर्किनेछन् । ‘उनीहरूलाई राम्रो करिअर बनाउन अमेरिकामै बस्नुपर्ने आवश्यकता कम हुँदै गएको छ,’ वोङले भने, ‘यदि तपाईंले विगतका दशकतर्फ फर्केर हेर्नुभयो भने विद्यार्थीहरू अमेरिका आउनुपर्ने कारण कम हुँदै गएको छ ।’

अमेरिकाले उसको पुरानो अध्यागमन प्रणाली सुधार गरे सेमिकन्डक्टर क्षेत्रमा हुने जनशक्ति अभाव समाधानमा सहयोग हुन सक्छ । अहिले अमेरिकी विश्वविद्यालयहरूबाट पढाइ सकेका विदेशीहरूले रोजगारमा–आधारित भिसाहरू प्रायोजित गर्न इच्छुक कम्पनी खोज्नुपर्छ । झन्झटिलो कागजी यो काममा रोजगारदाताले उपयुक्त पदमा अमेरिकी नभेट्टाएको र रोजगार दिलाउँदा व्यक्तिलाई प्रचलित ज्याला तिरेको स्पष्ट पार्नुपर्छ । 

विदेशी नर्स र फिजिकल थेरापिस्टहरूले यो प्रक्रिया पछ्याउनुपर्दैन । चिकित्सकीय क्षेत्रमा चरम जनशक्ति अभाव रहेकाले यस्तो सुविधा दिइएको हो । धेरै सेमिकन्डक्टर इन्जिनियरले यस्तो सुविधा पाउदैनन् । यो पेसालाई पनि अध्यागमनको झन्झटिलो कागजी प्रक्रियाबाट मुक्त रहेका विशेष पेसाहरूको सूचीमा राखियो भने सेमिकन्डक्टर उद्योगलाई वरदान साबित हुनेछ । यही तर्क गर्दै हार्वर्ड केनेडी स्कुलका प्राध्यापक ग्राहम एलिसन र गुगलका पूर्वकार्यकारी अध्यक्ष एरिक स्मिटले फरेन पोलिसीमा एक लेख नै लेखेका थिए । 

अमेरिकी अध्यागमन प्रणालीको स्वरूपले नै प्राविधिक प्रतिभाका लागि पाइपलाइन विकास गर्न पनि अवरोध पुर्‍याउँछ । हरेक वर्ष अमेरिकाको अध्यागमनले करिब एक लाख ४० हजार रोजगारमा आधारित ग्रिन कार्डहरू दिन्छ । यसमा सबै उद्योगमा काम गर्ने जनशक्ति समाविष्ट हुन्छन् । कुल ग्रिन कार्ड पाउने सन्दर्भमा सीमा तोकिएको छ । एक वर्षमा कुनै देशका नागरिकका लागि अधिकतम ७ प्रतिशत कार्ड छुट्याइएको हुन्छ । अर्थात् चीन र भारतजस्ता टेक पावरहाउसका नागरिकले न्यून जनसंख्या भएको मुलुकको नागरिकले भन्दा लामो पर्खाइ गर्नुपर्छ । यस्तो हुनु उचित देखिँदैन । सेमिकन्डक्टरसम्बन्धी क्षेत्रमा उच्च दक्ष व्यक्तिका लागि देश–देशका लागि तोकिएको सीमा हटाइए हाल देखिएको जनशक्तिको अभाव घट्नेछ । 

अन्य देशले प्राविधिक प्रतिभालाई तान्न धमाधम आकर्षक योजना ल्याइरहेका छन् । बेलायतले भर्खरै देशबाहिरका शीर्ष विश्वविद्यालय पास गरेकाहरूका लागि विशेष भिसा सुरु गरेको छ । त्यस भिसाले ती जनशक्तिलाई कम्पनीको प्रायोजनविना दुई वा तीन वर्षसम्म देशभित्र बस्न र काम गर्न छुट दिन्छ । अस्ट्रेलियाली अधिकारीहरू सक्रिय रूपमा तिनको विश्वव्यापी ‘प्रतिभा भिसा कार्यक्रम’लाई संसारभर हुने सेमिकन्डक्टर करिअर एक्स्पोमा प्रवद्र्धन गर्ने गर्छन् । यदि अमेरिका वास्तवमै सेमिकन्डक्टर प्रतिस्पर्धामा अघि बढ्न चाहन्छ भने उसले आफ्नो खेलको स्तर बढाउनुपर्छ । 

स्टोकम्यान न्युयोर्क टाइम्सकी सम्पादकीय बोर्डकी सदस्य हुन्
(New York Times र नयाँ पत्रिकाको सहकार्य)

यो पनि पढ्नुहोस् : ताइवान तनावमा ‘प्रविधि युद्ध’को छाया