निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
२०७९ श्रावण ३० सोमबार ०८:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षा नहुँदा नरैनापुरको तीन हजार हेक्टर जमिन बाँझो, रोपेको धान पनि सुक्यो

Read Time : > 1 मिनेट
२०७९ श्रावण ३० सोमबार ०८:५२:००

साउन महिना बित्नलाग्दा पनि पानी नपरेपछि नरैनापुर गाउँपालिका–५, जमुनाहका मायाराम तमौलीले ५५ कट्ठा जमिनमा धान रोप्न पाएका छैनन् । अकासेपानीका भरमा खेती गर्दै आएका उनले पाँच कट्ठा जमिनमा रोपेको धान पनि सुक्न थालेको छ । पानी नपरेपछि तीन बिघा खेतमा रोप्न तयार भएको धानको ब्याड पनि सुकेको छ । ‘असार र साउन महिना बादल हेरेर बित्यो । बर्सातको सहारामा धानको ब्याड बुढो भइसक्यो । अब त धान रोप्न पनि माया मारिसक्यौँ,’ उनले भने । 

असारपछि बर्सात नहुँदा उनीजस्तै नरैनापुर गाउँपालिका–५, मटेहियाका नन्दराम यादवले पनि धान रोप्न पाएका छैनन् । अकासेपानीको भरमा धानखेती गर्दै आएका उनको १० कट्ठा जमिन बाँझो छ । १२ कट्ठा जमिनमा छरेको मकै पनि सुक्न थालेको छ । मोटर र बोरिङको सहारामा पाँच कट्ठा खेतमा रोपेको धान पानी नपाएर पहेँलिएको छ । ‘बर्सात नभएर ब्याड सुक्न थालेपछि गाई–भँैसीलाई खुवायौँ,’ सुक्न थालेको ब्याड देखाउँदै उनले भने, ‘जसोतसो गरी ६ महिना खान पुग्ने धान र मकै उत्पादन हुन्थ्यो । यस वर्ष त १५ दिन पुग्ने धान र मकै उत्पादन होलाजस्तो छैन । आफू के खाने हो ? बालबच्चालाई के खुवाउने होला ?’

लामो खडेरीका कारण नरैनापुरका ह्यान्डपम्प र बोरिङबाट पानी आउन छाडेको छ । बोरिङ र ह्यान्डपम्पले एक–दुई गरा खेतमा रोपेको धान पनि सुकेको नरैनापुर गाउँपालिका–६, गंगापुरका रामनरेश यादवले बताए । ‘सुकेर खेर फाल्नुभन्दा भैँसीलाई खुवाउन उचित लाग्यो,’ उनले भने, ‘अब त धान रोप्न माया मारिसक्यौँ ।’ नरैनापुर गाउँपालिकामा तीन हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । उनले अहिलेसम्म १५ प्रतिशत धान रोपाइँ भएको बताए । अकासेपानीका भरमा धानखेती गर्दै आएका किसानले बर्सात नहुँदा धान रोप्न नपाएको बताए । ‘यहाँ १५ प्रतिशत धान रोपाइँ भएको छ, तर रोपेको धान पनि सुकेकाले उत्पादनको आशा गर्न सकिने अवस्था छैन,’ भण्डारीले भने, ‘यहाँको शतप्रतिशत खेतमा धानखेती भएन भन्दा पनि फरक नपर्ला ।’ 

राहतको प्याकेजसहित सुक्खा क्षेत्र घोषणा
धान रोपाइँ नभएपछि नरैनापुरले गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरेको छ । १५ प्रतिशत जमिनमा धान रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । ‘यस वर्ष प्रकृतिले पनि नरैनापुरलाई ठग्यो । प्रकृति निष्ठुरी भइदिँदा पानी नपरेर नरैनापुरका खेतमा धान रोपाइँ हुन सकेन । नेपालगन्जमा पानी पर्छ, तर नरैनापुरमा पानी पर्दैन,’ उनले भने, ‘मोटर र बोरिङको सहायतामा रोपेको धान पनि सुकेर नष्ट हुन थालिसक्यो । सुक्खा क्षेत्र घोषणा गर्नुको विकल्प हामीसँग भएन ।’ पानी नपर्दा नरैनापुरका बासिन्दा थप चपेटामा परेको उनले बताए । खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यकको जीवन कष्टकर बन्दै गएको बताउँदै उनले प्रदेश र संघीय सरकारसँग सहयोग माग गरेका छन् । 

नरैनापुरमा पानीको हाहाकार भएकाले गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको उनले बताए । ‘सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजेलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गर्ने निर्णय भएको छ,’ उनले भने ।