मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २५ बुधबार २३:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ग्रिसमा डुंगा डुब्दा दर्जनौँ बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार २३:०१:००

एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुंगा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रिसको तटरक्षक बलले बुधबार जनाएको छ ।

रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रिक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायुसेनाको एक हेलिकाेप्टरले हराइरहेका मानिसको खोजी तथा उद्धार कार्य जारी राखेको ग्रिसका अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो । 

टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो सहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेकाे डुंगामा ६० देखि ८० जना सवार रहेको ग्रिसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१५ मा शरणार्थी र आप्रवासीको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रिस पुगिसकेका छन् । सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकांशले युरोपका अन्य देशमा आफ्नो यात्रा जारी राखेका थिए ।