मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७९ श्रावण २१ शनिबार १०:१२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पश्चिम पहाडका युवा रोजगार खोज्दै भारततिर

Read Time : > 1 मिनेट
२०७९ श्रावण २१ शनिबार १०:१२:००

बारेकोट गाउँपालिका–५ नायकबाडा, जाजरकोटका ३१ वर्षीय प्रदेश सिंह कामको खोजीमा भारत गएका छन् । दसैँ, तिहार खर्च जुटाउन पनि बिदेसिनुको विकल्प नरहेको उनले बताए । नेपालगन्ज हुँदै भारत हिँडेका उनले नयाँ पत्रिकासँग भने, ‘परदेश गएर अर्काको भारी बोक्ने इच्छा त कसलाई पो हुन्छ र ! छोराछोरीको रहर पूरा गर्न र दसैँ, तिहारमा एक छाक मिठो, मसिनो खानका लागि अर्कोे विकल्प छैन ।’

उनले भारतको हिमाञ्चल प्रदेशको सिम्ला हिँडेको बताए । काला पहाड अर्थात् सिम्लामा अहिले स्याउ टिप्ने सिजन सुरु भएको छ । उनले यसअघि पनि सिम्ला गएर स्याउ टिप्ने काम गरेका थिए । अघिल्लोपटकजस्तै उनी यसपालि पनि झन्डै २० जना युवाको समूह बनाएर सिम्ला जाँदै छन् । ‘स्याउ टिप्ने सिजन भयो भनेर आफन्त र साथीभाइले खबर गरेपछि साथीभाइ मिलेर सिम्ला जान लागेका छौँ,’ उनले भने ।

३४ वर्षीय प्रेम सिंह पनि उनीसँगै भारतको सिम्ला हिँडेका छन् । उनले स्याउको सिजन सकिएपछि घर फर्किने बताए । ‘स्याउको सिजन पनि सकिन्छ । दसैँ, तिहार पनि आउँछ । त्यही वेला घर फर्किनुपर्ला,’ प्रेमले भने ।

हिजोआज नेपालगन्ज नाकामा आउजाउ गर्नेको भिड बढेको छ । गंगादेवी गाउँपालिका–४ पाखापानी रोल्पाका धनबहादुर डाँगीले दैनिक पाँच सय भारतीय रुपैयाँ ज्याला पाउने आशामा साथीभाइसँगै सिम्ला हिँडेको प्रतिक्रिया दिए । स्याउको सिजन सकिएपछि स्वदेश फर्किने उनले बताए । 

सिम्ला जानेमध्ये युवाको संख्या अधिक
पछिल्लो समय भारतको सिम्ला जाने नेपालीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए । उनले दैनिक १२–१३ सय नेपाली भारत जाने गरेको बताए । ‘हिमाञ्चल प्रदेशमा स्याउको सिजन भएर होला हुलका हुल नेपालीहरू सिम्ला गएको देखिन्छ,’ उनले भने ।

उनले कामका लागि भारत जाने अधिकांश युवा रहेको पनि बताए । नेपालमा काम नपाएपछि कामका लागि भारत जान लागेको भन्ने युवाको संख्या धेरै भएको उनले बताए । ‘स्याउ टिप्न सिम्ला जाने युवा १८–३५ वर्ष उमेर समूहका छन्,’ उनले भने ।