१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १९ बिहीबार ११:१०:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय गौरवका ६ सिँचाइ आयोजनाको औसत प्रगति ४६ प्रतिशत

Read Time : > 4 मिनेट
२०७९ श्रावण १९ बिहीबार ११:१०:००

१६ वर्षअघि सुरु गरिएको महाकालीको भौतिक प्रगति १५.७३ प्रतिशत मात्र, त्योभन्दा एक वर्षअघि सुरु गरिएको सिक्टाको प्रगति भने ७३.५० प्रतिशत

राष्ट्रिय गौरव आयोजनाअन्तर्गतका सिँचाइसम्बन्धी आयोजनाहरूको भौतिक प्रगति औसतमा ४६ प्रतिशत देखिएको छ भने वित्तीय प्रगति औसतमा ३९ प्रतिशत रहेको छ । राष्ट्रिय गौरवका ६ सिँचाइ आयोजनाको गत आर्थिक वर्ष २०७८/७९ सम्मको भौतिक प्रगति यस्तो देखिएको हो । 

सरकारले आव २०६८/६९ मा पहिलोपटक घोषणा गरेको राष्ट्रिय गौरवका आयोजनामा २४ परियोजना छन् । त्यसमा सिँचाइतर्फका सिक्टा, बबई, रानीजमरा कुलरिया, सुनकोसी मरिण डाइभर्सन, महाकाली र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेका छन् । त्यसमध्ये सबैभन्दा धैरै भौतिक प्रगति सिक्टा सिँचाइ आयोजना रहेको छ । 

जलस्रोत तथा सिँचाइ विभागका अनुसार उक्त आयोजनाको भौतिक प्रगति ७३ दशमलव ५० प्रतिशत पुगेको छ । सुनकोसी मरिण डाइभर्सनको भौतिक प्रगति भने सबैभन्दा कम ७.६ प्रतिशत मात्रै रहेको छ । यद्यपि, पछिल्लो समय उक्त आयोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको विभागको भनाइ छ । 

१६ वर्षअघि आव २०६३/६४ मा सुरु गरिएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति १५ दशमलव ७३ प्रतिशत मात्रै छ । यद्यपि, त्योभन्दा एक वर्षअघि आव २०६२/६३ बाट सुरु गरिएको सिक्टाको भौतिक प्रगति ७३.५० प्रतिशत पुगेको हो । यसरी निर्माण सुरु भएको मितिका आधारमा आयोजनाको प्रगतिमा असमानता देखिन्छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णप्रसाद नेपालले राष्ट्रिय गौरवअन्तर्गतका सिँचाइ आयोजनाहरूको भौतिक प्रगति सन्तोषजनक भएको बताए ।

सरकारको पर्याप्त सहयोग नहुने, बजेटको अभाव हुने समस्याका बीच भएको उक्त प्रगतिलाई राम्रो मान्नुपर्ने उनको भनाइ छ । ‘आयोजनापिच्छे नै फरक–फरक समस्या र चुनौती छन् । विगतमा महाकाली सिँचाइलगायतका आयोजना सरकारको प्राथमिकतामै परेनन्,’ उनले भने, ‘त्यसमाथि रूख काट्न समयमै स्वीकृति पाइँदैन । स्थानीयस्तरमा पनि अवरोध आइरहन्छन् । कोरोनाले  निर्माण कार्य प्रभावित भयो । समग्रमा हामीले सहज काम गर्न पाएनौ छैनौँ ।’

तोकिएको मितिमा निर्माण सम्पन्न गर्न चुनौती : कृष्णप्रसाद नेपाल प्रवक्ता जलस्रोत सिँचाइ विभाग
आयोजनाहरूको औसत प्रगति सन्तोष जनक छ । तर, तोकिएको समयमै निर्माण सम्पन्न गर्न चुनौती छ । किनकि, स्थानीय निकायबाट अवरोध हुँदैन भनेर सुनिश्चित गर्न सकिँदैन । त्यसमाथि स्थानीयस्तरबाट आउने चुनौतीलाई समाधान गर्ने कुनै संयन्त्र छैन ।

हामीले मात्र त्यो समाधान गर्न सक्दैनौँ । स्थानीय सरकारले पनि त्यो जिम्मेवारी लिन चाहँदैनन् । साथै, रुस–युक्रेन युद्धको असर कहिलेसम्म जाने हो, टुँगो छैन । ताइवानमा युद्ध भएमा झन् समस्या आउने देखिन्छ ।

त्यसमाथि कोरोनाको नयाँ लहर नआउला भन्न सकिँदैन । आयोजना तोकिएकै मितिमै सम्पन्न गर्न चुनौती छ । काबुभन्दा बाहिरको अवस्था आयो भने त निर्माण कार्य झन् पछि धकेलिन्छ ।

कुन आयोजनाको कति प्रगति छ 

सिक्टा सिँचाइ आयोजना

सुरु भएको वर्ष : ०६२/६३, सम्पन्न हुनुपर्ने वर्ष : ०६२/६३
भौतिक प्रगति : ७३.५०५ , वित्तीय प्रगति :  ७३.३४५
लागत : २५ अर्ब

६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति सिक्टाको भएको छ । आव २०६२/६३ देखि निर्माण सुरु गरिएको यस आयोजनाको भौतिक प्रगति ७३.५० प्रतिशत पुगेको छ । विभागले आव २०८९/९० सम्ममा यसको निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव अघि बढाएको छ । बाँकेको राप्ती नदीमा बाँध निर्माण गरी राप्ती पश्चिम दायाँतर्फ ३३ हजार ७६६ हेक्टर र राप्ती पूर्व बायाँतर्फ नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य आयोजनाको छ  । तर, प्राविधिक जनशक्तिको कमी, ठेक्का व्यवस्थापनमा कठिनाइ, पर्याप्त बजेट विनियोजन नहुने, अदालतका मुद्दा टुंगो नलाग्ने, बाँके राष्ट्रिय निकुञ्जभित्र निर्माण सामग्रीको आपूर्तिमा बन्देजलगायतका कारण यसको निर्माणमा कठिनाइ भएको बताइएको छ । 

महाकाली सिँचाइ आयोजना
सुरु भएको वर्ष : ०६३/६४, सम्पन्न हुनुपर्ने वर्ष : ०८७/८८
भौतिक प्रगति : १५.७३५ , वित्तीय प्रगति : १३५
लागत : २७ अर्ब

कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार ५२० हेक्टर जमिनमा दिगो रूपमा सिँचाइ उपलब्ध गराउने उद्देश्यसहित आव २०६३/६४ मा यस आयोजना निर्माण अघि बढाएको थियो । तर, १६ वर्षको अवधिमा पनि यसको भौतिक प्रगति भने १५.७३ प्रतिशत मात्रै पुगेको छ । साथै, सरकारले आव २०८७/८८ मा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सरकारले विगतमा प्राथमिकतामा नराख्दा यसको निर्माणले गति नलिएको विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले बताए । ‘विगतमा यो आयोजनालाई पर्याप्त बजेट दिइएन । समग्रमा भन्नुपर्दा, यो आयोजना सरकारको प्राथमिकतामै परेन । आव २०७७/७८ मा राष्ट्रिय गौरवको आयोजनामा राखेपछि मात्रै यसको निर्माण राम्रो भएको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा नराख्दासम्म (१३ वर्ष) यसको भौतिक प्रगति जम्मा १० प्रतिशत थियो । तर, राष्ट्रिय गौरवमा राखेको दुई वर्षमै यसको भौतिक प्रगति पाँच प्रतिशत बिन्दुले बढेर १५ प्रतिशतभन्दा माथि पुगेको छ । अब यसको निर्माण कार्यले गति लिन्छ ।’

बबई सिँचाइ आयोजना
सुरु भएको वर्ष : ०४५/४६, सम्पन्न हुनुपर्ने वर्ष : ०८२/८३
भौतिक प्रगति : ६२.२३५, वित्तीय प्रगति : ५३.३५
लागत : १८ अर्ब ९६ करोड

राष्ट्रिय गौरवका ६ सिँचाइ आयोजनामध्ये सबैभन्दा पहिला निर्माण सुरु गरिएको यस आयोजनाको भौतिक प्रगति ६२.२३ प्रतिशत पुगेको छ । बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन ३५ वर्षअघि आव २०४५/४६ मा  निर्माण सुरु गरिएको थियो । साथै, आव २०८२/८३ भित्र यसको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आवश्यक मात्रामा बजेट विनियोजन नहुने, जग्गा प्राप्तिमा जटिलता, निकुञ्ज क्षेत्रभित्र सामग्री ढुवानी र आवागमनमा जटिलतालगायतका कारण यसको निर्माणमा कठिन भएको बताइन्छ । 

भेरी बबई सिँचाइ आयोजना
सुरु भएको वर्ष : ०६७/६८, सम्पन्न हुनुपर्ने वर्ष : ०८१/८२
भौतिक प्रगति : ५७५, वित्तीय प्रगति : ३९.७९५
लागत : ३६ अर्ब ८० करोड

सुर्खेत, बर्दिया र बाँके जिल्लाको ऊर्जा, सिँचाइ र जलाधार संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यसहित आव २०६७/६८ मा यसको निर्माण अघि बढाइएको थियो । हालसम्म यसको भौतिक प्रगति ५७ प्रतिशत पुगेको छ । आव २०८१/८२ मा यसको निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर, त्यस अवधिमा निर्माण सम्पन्न नहुने भएपछि म्यादथपको प्रस्ताव अघि बढाइएको छ । रूख काट्न समयमै स्वीकृति नपाउने, वनक्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ, स्थानीयको अवरोध, सुरक्षा चुनौती, प्रर्याप्त बजेट नहुनेलगायतका कारण यसको निर्माण कार्य प्रभावित भइरहेको छ । 

सुनकोसी–मरिण डाइभर्सन
सुरु भएको वर्ष : ०७३/७४, सम्पन्न हुनुपर्ने वर्ष : ०८०/८१
भौतिक प्रगति : ७.६५, वित्तीय प्रगति : ७५
लागत : ४६ अर्ब

राष्ट्रिय गौरवका सिँचाइ आयोजनामध्ये सुनकोसी–मरिण डाइभर्सन धेरैपछि आएको आयोजना हो । सुनकोसी नदीको पानी मरिण खोलामा मिसाई बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यसहित आव २०७३/७४ मा यसको निर्माण सुरु गरिएको थियो । तर, हालसम्म यसको भौतिक प्रगति भने ७.६ प्रतिशत मात्रै छ । यद्यपि, यस आयोजनाको निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भइरहेको जानकारहरू बताउँछन् । यस्तै, आव २०८२/८३ मा यसको निर्माण सम्पन्न गर्ने भनिए पनि संशोधन प्रक्रिया अगाडि बढाइएको छ । ३१.०७ मेघावाट विद्युत्समेत उत्पादन गर्ने भनिएको यस आयोजनामा हाल टिविएम मेसिन जडान भइरहेको छ । 

रानीजमरा कुलरिया सिँचाइ आयोजना
सुरु भएको वर्ष : ०६७/६८, सम्पन्न हुनुपर्ने वर्ष : ०८१/८२
भौतिक प्रगति : ५७५, वित्तीय प्रगति : ५२५
लागत : २७ अर्ब ७० करोड

कैलाली जिल्लाको ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सेवा उपलब्ध गराउने उद्देश्यसहित आव २०६७/६८ मा यस आयोजनाको निर्माण अघि बढाइएको थियो । हालसम्म यसको भौतिक प्रगति ५८.५ प्रतिशत पुगेको छ । साथै, आव २०८०/८१ मा यसको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जग्गाको क्षतिपूर्ति लिएका व्यक्तिहरूबाटै अतिक्रमण, नहरको एलाइन्मेन्ट सार्ने माग राखी निर्माणमा अवरोध गर्ने, रुग्ण भएका ठेक्का, राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कठिनाइ, ऐलानी जग्गा प्राप्तिमा समस्यालगायतका कारण यसको निर्माण कार्य प्रभावित भएको बताइन्छ ।