मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सप्तकोसीको बाँध फुटेर बस्तीमा पानी पसेपछि घर छाडेर सुरक्षित स्थानमा हिँडेका बेलका नगरपालिकाका स्थानीय । बाढीबाट विस्थापित भएकालाई उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर : नयाँ पत्रिका
२०७९ श्रावण १९ बिहीबार ०८:२०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोसीपीडित १५ सय परिवारको उद्धार

Read Time : > 2 मिनेट
२०७९ श्रावण १९ बिहीबार ०८:२०:००

बाढीबाट विस्थापित भएका पीडितको सुरक्षित स्थानमा रहेका विद्यालय, सामुदायिक भवन र मन्दिरमा वास

अविरल वर्षाले सप्तकोसी नदीमा पानी बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ मा रहेको लाहुरेखोँचको डुम्रीबोटेको बाँध फुटेको छ । बाँध फुटेपछि बुधबार बिहान कोसी मानव बस्तीमा पसेको थियो । बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ नम्बर क्षेत्र र सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का स्थानीय प्रभावित बनेका छन् । प्रभावित क्षेत्रका स्थानीय आफ्नो घरको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ लागेका छन् । पानीको बहाव बढेपछि सप्तरीमा पर्ने सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा प्रत्यक्ष रूपमा असर पर्न सक्छ । सप्तरीकै कञ्चनरूप नगरपालिकामा पनि १, २, ४, ५, १० वडामा असर गर्ने सम्भावना छ ।

सप्तकोसीको बाँध फुटेर बाढी गाउँ पसेपछि विस्थापित भएका एक हजार पाँच सय परिवारको उद्धार गरिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिका वडा नम्बर ३, ८ र ९ र सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का स्थानीयको उद्धार गरिएको हो । तत्कालका लागि बाढीप्रभावित बेलका क्षेत्रबाट दुई हजार घरधुरीलाई सुरक्षित स्थानमा पुर्‍याउने गरी उद्धार कार्य जारी रहेको यादवले बताए । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । उद्धार गरिएका पीडितलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर, चर्चमा राखिएको उनले बताए । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बाढीप्रभावित क्षेत्रबाट झन्डै एक हजार आठ सय घर परिवारलाई बुधबार साँझसम्म सुरक्षित स्थानमा ल्याउनुपर्ने अवस्था रहेको बताए । ‘कोसीको माथिल्लो भागबाट पानी बढेर आउने क्रम जारी छ । त्यसैले तत्काल प्रभावित हुने क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा पुर्‍याउनुपर्ने छ ।’

जोखिम बढेपछि सुरक्षित स्थानमा सर्दै स्थानीय
बेलका नगरपालिका–३ सिर्जना टोलका प्रदीप राईले मंगलबार बिहानै दुई नातिनातिना र छोराबुहारीलाई उदयपुरकै हडिया पठाए । गाउँमा सप्तकोसीको बाँध फुटेर आउने हल्ला चलेपछि सन्तानलाई सुरक्षित ठाउँमा पठाएर आफूचाहिँ घरमै वस्तुभाउलाई सुरक्षित स्थानमा सार्न व्यस्त भए । ‘बुधबार त बाँध फुटेर घरभित्र पानी पसेछ । साना नानीहरूलाई हडिया आफन्तकोमा पठाएको छु । गाई, भैँसी, बाख्रा–खसी धेरै भएकाले पानी नपुग्ने ठाउँमा सार्दै छु,’ उनले भने ।

बेलका नगरपालिका–८ सिसौलीका रामबहादुर मगरले कोसीको बाँध फुटेकाले गाउँकै उठिवास भएको बताए । ‘गाउँमा बालबालिका, वृद्धवृद्धाहरू धेरै समस्यामा परेका छन् । युवाहरू सजिलै भागिहाल्ने रहेछन् । बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा पुर्‍याउन सकस भयो । गाउँका सबैजना उच्च जग्गामा रहेको विद्यालयमा गएर बसेका छौँ,’ उनले भने । बेलका नगरपालिका–३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा पुर्‍याउन बिहीबारसम्मै लाग्ने बताए । 

बाढीले तीन सय हेक्टर जमिन बगरमा परिणत
विगतका वर्षहरूमा पनि सप्तकोसीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिकाको तटीय क्षेत्रमा पर्ने झन्डै तीन सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीय बताउँछन् । ‘तीन–चार वर्षयता बर्सेनि कटान हुने क्रम बढिरहेको थियो । अहिलेको बाढी पसेपछि झन्डै दुई सय हेक्टर जमिन बगरमा परिणत भएको छ,’ स्थानीय भरत घिमिरेले भने, ‘जसकारण सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् ।’ 

कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध बनाउनुपर्ने भए पनि नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या बढेर गएको छ । उदयपुरलाई केन्द्रबिन्दु बनाएर ०४५ भदौमा गएको भूकम्पका कारण उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोसी नदी आफ्नो धार परिवर्तन गरेर सुनसरीतर्फ धेरै ढल्केको थियो । अहिले सुनसरीबाट उदयपुरतर्फ कटान गर्दै पुरानै धारमा कोसी बग्न खोजेपछि उदयपुरमा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्की भन्छन्, ‘सुनसरीबाट बग्ने सप्तकोसी उदयपुरको भागमा आउँदा सप्तरी जिल्लासम्म क्षति पुर्‍याउँछ । खेतीयोग्य जमिन ठूलो क्षेत्रमा गुम्दै जाने खतरा छ ।’

कोसीपीडितलाई राहतको व्यवस्थापनमा जुटेका छौँ : मन्त्री कार्की

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सप्तकोसीपीडितलाई राहतको व्यवस्थापनमा जुटेको बताएका छन् । बुधबार सप्तकोसीको बाँध फुटेर गाउँ पसेपछि अनुगमनमा पुगेका उनले तत्कालका लागि राहतको व्यवस्थापनमा जुटेको बताए ।

‘जहाँबाट बाँध फुटेको थियो, त्यहाँ पुगेर म भागलपुरतिर जाँदै छु । प्रदेश सरकारले तत्काल गर्ने भनेको मानिसहरूको ज्यान बचाउने हो । बढी जोखिममा रहेका बस्तीहरूलाई स्थानीय सरकार, प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको संयुक्त प्रयासमा सुरक्षित स्थानमा सार्छौं । राहतको व्यवस्थापन गर्छौं । पानी कम भएपछि पुनः बाँध पुनर्निर्माणमा जोड दिन्छौँ,’ उनले भने ।