मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. तारालाल श्रेष्ठ
२०७९ श्रावण १९ बिहीबार १०:०५:००
Read Time : > 6 मिनेट
Read Time : > 6 मिनेट
डा. तारालाल श्रेष्ठ
२०७९ श्रावण १९ बिहीबार १०:०५:००

स्वतन्त्र पक्षधरको विशेष भेलापछि ‘दलको विकल्प दल’, अर्थात् ‘संगठन अपरिहार्य’ भन्ने दाबी थप सार्थक साबित हुँदै छ 

स्वतन्त्र राजनीति समाधान होइन’ भन्ने अघिल्लो आलेखको दाबीलाई पुष्टि गर्ने थप प्रमाण सतहमा देखिएका छन् । स्वतन्त्र समर्थकको विशेष भेलाका सहभागीलाई दशवटा प्रश्न समेटिएको प्रश्नावली भर्न दिइएको थियो । सहभागी अतिथिको प्रतिक्रिया निष्कर्षले निकै विरोधाभास देखाइदियो । स्वतन्त्र पक्षधर सबैजसोले व्यक्तिवादी उम्मेदवार अस्वीकार र सामुदायिक सादगी आचरणवाला नेतृत्वलाई रोजेको देखियो । स्वतन्त्र उम्मेदवार पक्षधर भेलामा ‘मौलिक विचारसहितको दलको विकल्प छैन’ भन्नेहरू अधिक भेटिए । स्वतन्त्रको अन्धाधुन्ध पक्षपोषणले देशलाई थप भद्रगोलतिर धकेल्न सक्ने आशंका धेरैले लिपिबद्ध रूपमै व्यक्त गरे । 

‘स्वतन्त्र’को सकस : स्वतन्त्र पक्षधरको विशेष भेला विशिष्ट अतिथिविहीन थियो । स्वतन्त्रबाट विजयी व्यक्तित्व कार्यक्रममा सहभागी थिएनन् । आयोजकले स्वतन्त्रबाट विजयी ‘सेलिब्रिटी’लाई समेट्न सक्दो कोसिस गरेका रहेछन् । बालेन्द्र साहका साथी सुमन सायमी साहको विजय जुलुसमै सरिक थिए । स्वतन्त्र उम्मेदवार साहको जितलाई आफ्नै जितझैँ बोध गरेको बताउने सायमीले साहलाई स्वतन्त्रको विशेष भेलामा सरिक गराउन किन सकेनन् ? स्पष्ट उत्तर आयोजक वा अरू कसैसँग छैन । अर्का स्वतन्त्रबाट विजयी ‘सेलिब्रिटी’लाई निम्तो दिन सायमी काठमाडौँबाट धरानसम्म सशरीर पुगेका थिए । हर्क साम्पाङ त्यो शनिबार पनि श्रमदानस्वरूप ढुंगा फुटाउन जंगल गए, स्वतन्त्रको विशेष भेलामा काठमाडौं आएनन् ।  

अन्ततः स्वतन्त्र पक्षधरको विशेष भेलाका अध्यक्ष सायमी स्वयंले ‘विचारसहितको दलको विकल्प नरहेको’ विचार बोले । सायमीको अप्रत्यासित अभिव्यक्ति सुनेर कतिपय स्वतन्त्र पक्षधर रिसाए । स्वतन्त्र पक्षधरलाई स्वतन्त्र बन्न नदिने स्वघोषित सञ्जाल आफैँ रनभुल्लमा देखिन्छन् । उनीहरूले पनि अन्ततः नयाँ दलको खोजी गर्दै गरेको देखियो । रवि लामिछानेले हतारमा ‘स्वतन्त्र पार्टी’ घोषणा गरेर अलि पछि नयाँ दल घोषणा गर्ने उनीहरूको रणनीति बिगारे भन्छन्, कतिपय स्वतन्त्र पक्षधर । स्वतन्त्रतिर आकर्षित जनलहर नबिच्काई बिस्तारै स्वतन्त्रको सञ्जालमार्फत पार्टी बनाउने योजनामा स्वतन्त्र पक्षधर देखिन्थे । समानुपातिक सिट मात्रै होइन, ओत लाग्ने सामूहिक वैचारिक घरबारविहीन बेवारिसझैँ देखिएका छन्, स्वतन्त्र विजेता पनि । साम्पाङकै सन्दर्भमा संगठित शक्तिको अभाव खड्किएको छ । व्यक्तिवादी लहडले बालेन पनि बहकिँदै गएको बोध हुन्छ । उनीहरूलाई नार्ने न दल, न विचार, सिद्धान्त र संगठन छन् । अभर पर्दा ओत लाग्ने पनि बहुरूपी सञ्जाले भिड मात्रै छन् । ‘दलको विकल्प दल’, अर्थात् ‘संगठन अपरिहार्य’ भन्ने दाबी थप सार्थक साबित हुँदै छ । विद्यमान दलको विकल्प ‘कस्तो दल’ भन्नेबारे भने गहन बहस जरुरी छ । 

शक्तिकेन्द्रको संकट : स्थानीय निर्वाचनमार्फत मतदाताले एउटा स्पष्ट दृष्टि दिएका छन्– शक्तिकेन्द्रका अति परिचित अनुहारलाई अब आँखा चिम्लिएर स्विकारिन्न । एउटै अनुहार पटक–पटक सत्तामा मात्रै होइन, उम्मेदवार बनेर घरदैलोमा दौडिरहेको देख्न मतदातालाई मन छैन । नातावाद, कृपावाद र उही अनुहारको अतिवाद अस्वीकृत हँुदै छन् । एउटा स्पष्ट उदाहरण काठमाडौं महानगरपालिको मतपरिणामलाई लिन सकिन्छ । केशव स्थापित विस्थापित भएको र युवानेतृ सुनिता डंगोल स्थापित भएको दृश्यले धेरै बताइरहेको छ । इतिहासदेखि ‘त्याग’ गरेका एमालेका ‘अत्यन्तै अनुभवी’ नेता स्थापितले कसरी कम मत पाए । निर्वाचनको मुखमा नाटकीय रूपले एमाले प्रवेश गरेकी ‘अल्लारे युवा’ नेतृ डंगोल सर्वस्वीकार्य कसरी भइन् ? स्थापितले महिलाको मत नपाएर हारेको तर्क गर्नेहरू छन् । शक्तिकेन्द्रका महिला नेवाः उम्मेदवार सिर्जना सिंहले पनि कसरी नेवाः भूमिमै नराम्ररी हार व्यहोरिन् त ? यसको उत्तर स्पष्ट छ, ‘फूलहरू केन्द्रबाहिरका बगैँचामा पनि फुल्छन्, केन्द्रीय नेताका बगैँचामा मात्रै फुल्दैनन् ।’ स्वार्थी नेतागण आफ्नो बगैँचामा मात्रै सुगन्धित फूल फुलेको देख्छन् । नेताका आफन्त, आसेपासे उम्मेदवारलाई यसर्थ अहिले अस्वीकार गर्ने चेतना बढेको देखियो । यसले शक्तिकेन्द्रमा संकट निम्त्याएको छ । व्यक्तिवादी केन्द्रका स्वार्थबाट उभ्याइएका उम्मेदवारलाई आफ्नै समुदायले पनि अस्वीकार गर्दै छन् । समुदायले स्विकार्ने सादगी उम्मेदवारको रोजाइ सामुदायिक सौन्दर्यको सत्व रक्षार्थ पनि स्वागतयोग्य छ । केन्द्रबाट सेटिङमा टिकट बोकेर समुदायमा उभिनेहरूको हालत कीर्तिपुर नमुनै काफी देखिन्छ । हेटौँडाको हालत उस्तै रह्यो । आफ्नै समुदाय र संगठनले तिनलाई अस्वीकार गरिदिए । शक्तिकेन्द्रका अति स्थापित अनुहारहरू हारेका छन् । अपरिचित अनुहारहरू विजेता बनेका छन् । पैसाको प्रभाव घट्दो छ । परिचित पात्र पराजित हुँदै छन् । शक्तिकेन्द्रको यस्तो संकटले केन्द्रीय नेताको सातो उडेको छ । 

स्थानीय निर्वाचनमार्फत मतदाताले एउटा स्पष्ट दृष्टि दिएका छन्– शक्तिकेन्द्रका अति परिचित अनुहारलाई अब आँखा चिम्लिएर स्विकारिन्न । एउटै अनुहार पटक–पटक सत्तामा मात्रै होइन, उम्मेदवार बनेर घरदैलोमा दौडिरहेको देख्न पनि मतदातालाई मन छैन । 

‘बूढा नेता’ बढार्ने वैविध्य : उस्तै रङ्ग र ढङ्गका पुरुषैपुरुष पूर्वप्रधानमन्त्रीको तस्बिरमाझ ‘नो नट अगेन’ (अब पालो पुग्यो, ससम्मान बिदाबारी हुनुस्, अब पालो अरू कसैको) जस्ता पोस्टिङ सामाजिक सञ्जालमा छाएका छन् । विश्वविद्यालय, बजार, बस्ती जताततै ‘बूढा नेता बढार्नैपर्छ’ भन्ने भाष्य भुनभुनाइरा’छन् । विश्वविद्यालयमा युवा विद्यार्थीको मनोविज्ञान बुझ्दा झन्डै शतप्रतिशत ‘बूढा नेता बढार्ने’ नाराको समर्थनमा देखिन्छन् । प्राध्यापक पनि ‘नो, नट अगेन’ भन्दै सामाजिक सञ्जाले अभियानको समर्थनमा आवाज घन्काइरहेका भेटिन्छन् । स्वतन्त्र पक्षधर, पेसाकर्मी, कर्मचारीदेखि तिनै दलका बिचौलियासम्म यस्तै बोली बोलिरहेका छन् । ‘बूढा नेता बढार्ने’ हावाले हुन्डरीको रूप धारण गर्न बेर छैन । स्थापित दलका दोस्रो पुस्ताका चिरपरिचित अनुहार पनि अस्वीकृत हुन सक्छन् । उनीहरू पनि पटक–पटक चुकेका–बिकेका पात्रका रूपमा चिरपरिचित छन् । तेस्रो पुस्ताका नेतासम्म निकै प्रदूषित छन् । तालाबन्दी, तोडफोड, चन्दाधन्दा, धाकधम्की, गुन्डागर्दीको पहिचान बोकेर बसेका छन्, शक्तिकेन्द्रका तेस्रो पुस्ताका युवा नेता पनि । 

हाम्रा ‘हजुरबा’ नेताहरू ‘मैले हारे मुलुक डुब्छ’ भन्दै छन् । ‘नाति’हरू पदलोलुप हुनुहुन्न भन्दै छन् । अन्तरघाती कार्यकर्तालाई कारबाही गर्ने कुरा गर्दै छन् । अन्धभक्ति अस्वीकार गर्नेलाई ‘अन्तरघात’ भन्ने विश्लेषक आफैँ भ्रममा छन् । एकछापे मतदान गर्ने रैतीजस्ता मतदाता घट्नु सुखद हो । राजनीति सही बाटोतिर अघि बढ्दै गइरहेको बोध गर्न सकिने अलिकता आधार यसले दिन्छ । उही स्थापित अनुहार स्थापित दलभित्र देख्न नचाहने धेरै मतदाता बढ्दै छन् । जसले गर्दा ठूला दलबाट पनि नयाँ अनुहारलाई मतदाताले पत्याउने वातावरण बनेको छ । उसो भए अति स्थापित अनुहारहरू आउँदो निर्वाचनमा पराजित हुन सक्ने अत्यधिक सम्भावना देखिन्छ त ? पूर्वप्रधानमन्त्रीहरू आउँदो निर्वाचनमा हार्ने सम्भावना छ त ? यी पेचिला प्रश्न अझै अनुत्तरित छन् । 

नेपाली राजनीतिक रणभूमिमा नयाँ नेतृत्वका लागि मैदान चौँडा बन्दै गएको त देखिन्छ । तर, अनेक अवतारमा ‘जाली जमात’ सो स्पेस हात पार्न हतारिइरहेका देखिन्छन् । स्वतन्त्र पक्षधरभित्रै स्वार्थी समूह जताततै देख्न–भेट्न सकिन्छ । पुराना दलका स्थापित अनुहार रक्षात्मक बनेका छन् । उनीहरू पनि नयाँ प्रयोग गर्न खोज्दै छन् । नत्र अब टिकिन्न भन्ने बोध उनीहरूलाई भइसकेको छ । नयाँ दल दर्तावाला थुप्रै झुन्ड ससाना समूहमा सलबलाइरहेका छन् । ससाना स्वार्थमै उनीहरू छिन्नभिन्न छन् । स्वतन्त्रको जति नै ‘भ्यू’को भ्रम फैलिए पनि आगामी निर्वाचनका लागि नेपालमा दल दर्ता बढेर दुई सय पुग्न सक्छ । स्थापित दल एमाले, कांग्रेस र माओवादीसँगै अझै करिब ८५ प्रतिशत मतदाता आबद्ध देखिन्छन् । हरेक समितिमा शक्तिकेन्द्रकै कार्यकर्ता हुनैपर्ने चलन स्थापित छ । एउटा अस्थायी शिक्षक, ज्यालादारी जागिर, पासपोर्ट भिसा, स्कुल भर्ना, अस्पतालमा बेड पाउन पनि नेताकै कृपा चाहिने अवस्था तलदेखि माथिसम्म, स्वदेशदेखि विदेशसम्म दलीय सञ्जालमार्फत स्थापित गरिएका छन् । किताब विमोचनको अतिथि वक्तादेखि सहभागी स्रोतासमेत आफ्नै कित्तावाला ‘क्लोन’हरू चाहिन्छ । बिहेबारी, भोजभतेर, झैझगडा, पारपाचुके सबै कामकुरो मिलाउने तिनै नेता हुन्छन् । जग्गा प्लटिङ, कित्ताकाट, बेचबिखन, झोलामा खोला बोक्ने–बोकाउने सबतिर तिनकै रगजग देखिन्छ । स्थापित दलका पार्टी कार्यालयको साइनबोर्डमा ‘यहाँ दलाली पनि गरिन्छ’ लेखिएको देखिन मात्रै बाँकी छ । बिचौलिया नेता वनमारा झारझैँ बढेका छन् । तिनले राज्यका हरेक अंगमा आफ्नै ‘क्लोन’हरू फिट गरेका छन् । नेताका ‘क्लोन’झैँ कार्यकर्ता आफूजस्तै जमात निर्माण गर्न समर्पित देखिन्छन् । 

विद्यार्थीले विश्वविद्यालयमा कक्षा लिनुअघि कुन गुटको ‘क्लोन’ प्राध्यापक रहेछन् भन्नेबारे सोधखोज गर्छन् । यो वा त्यो नेताका ‘क्लोन’झैँ प्राध्यापक विश्वविद्यालयमा छ्यापछ्याप्ती छन् । तिनको बोलीको लोली सुन्नेबित्तिकै गुटीय गन्ध ह्वास्सै आइहाल्छ । विश्वविद्यालयकै कुनै पनि पोस्टमा पदबहाली हुँदा गौरवसाथ भागबन्डा हुन्छ । ‘क्लोन’हरू खोजिन्छन्, नापजाँच गरेर खाली पोस्ट भरिन्छन् । ‘क्लोन’ले ‘क्लोन’लाई सिफारिस गर्छन्, नियुक्ति दिन्छन् । ‘क्लोन’हरूको बफादारीबारे निरन्तर निगरानी गर्ने अघोषित अड्डाहरू छन् । एउटा पार्टीका क्लोनले अर्को पार्टीका क्लोनलाई राम्ररी काम गर्न दिँदैनन् । आँखा चिम्लिएर स्वतन्त्रको समर्थन जति जोखिमपूर्ण देखिन्छ, ‘बूढा नेताहरू बढार्ने’ अभियानले पनि देशमा सिर्जनात्मक निकास सहजै निस्किने सम्भावना देखिन्न । व्यक्तिवादी ‘स्वार्थी बूढा’का स्थानमा विचारविहीन ‘स्वार्थी युवा’को ‘रिप्लेसमेन्ट’ लुतो कन्याउँदाको आनन्दमै सीमित बन्न सक्छ ।

अबका दल : स्थापित दलविरुद्ध उर्लिंदो आक्रोशको परिणाम विनाशकारी बन्न पनि सक्छ । एकातिर मौलिक विचार सिद्धान्तप्रति निष्ठावान् सामाजिक पात्रभन्दा थप व्यक्तिवादी ‘पपुलिस्ट’ पात्रहरू हाबी हुन खोज्दै छन् । अर्कातिर स्थापित ‘बूढा नेताहरू बढार्ने’ नाराहरू घन्किँदै छन् । विमर्श विश्लेषक यथार्थ स्थापित बन्नुअघि समाजमा संकथन स्थापित बन्ने गरेको बताउँछन् । अन्तरविरोधका चिराहरूबाट भाष्यहरू भुनभुनाउँछन् । अमूर्तझैँ संकथन अन्ततः मूर्त स्वरूपमा स्थापित हुन्छन् । त्यस्तो वेला अन्तरविरोधको सही विश्लेषण प्रवाहमा सार्वजनिक बौद्धिक अभियन्ताको गहन भूमिका खड्कन्छ । 

सामूहिक स्वाधीन चेतना मतदातामा भरिदियो भने आउँदो निर्वाचनमा आशाको आभा देखिन सक्छ । यसले मतदातालाई डरत्रास र क्षणिक स्वार्थको व्यक्तिवादी आचरणबाट बचाउन सक्छ । स्वतन्त्रको लहरले स्थापित दललाई पनि अब व्यक्तिवादी स्वार्थी कार्यकर्ता होइन, समुदायले रुचाएको दक्ष युवा उम्मेदवार चाहिएको छ । आउँदो चुनावमा पुराना दलहरूले समुदायले स्विकार्ने पात्रलाई नै उठाउने वातावरण बाध्यकारी बन्न पुगेको छ । यसलाई संघीयताले निर्माण गरेको स्पेसमा आलोचनात्मक चेतको लहरले ल्याएको सकारात्मक परिवर्तन मान्न सकिन्छ । केही नेतागण धर्मसापेक्ष राजनीतिले मात्रै देशलाई बचाउने विचार पोख्दै छन् । कुनै पनि देश अब धर्मले धान्न सक्दैन । अधिनायकवादी राजा–महाराजाको रजगजबाट देश अब चल्दैन । देश चलाउने सामूहिक चेतना बोकेको दलले नै हो । अबको राजनीतिक रथ हाँक्ने निष्ठावान् नेताले नै हो । 

उसो भए नयाँ दलको उदय हुन सक्छ ? यो अर्को पेचिलो अनुत्तरित प्रश्न हो । नयाँ भन्नुको अर्थ दल नयाँ कि अनुहार नयाँ कि विचार नयाँ ? नेपाली विशिष्टतम समाजलाई अर्को आयातीत विचारको अन्धानुकरण चाहिएको होइन होला । एकातिर नेपालमा अहिलेसम्म आफ्नै माटो सुहाउँदो मौलिक विचार बोकेका दल देखिन्नन् । आयातीत विचार नेपाली माटोसँग मेल खाँदैनन् । अर्कातिर नेपाली परिवेश अहिले अत्यन्तै अलग बनिसकेको छ । दुई भुइँ छिमेकी भारत र चीनभन्दा बढी प्रभुत्वशालीझैँ आकासे छिमेकी अमेरिका देखिँदै छ । भारत र चीन मात्रै होइन, अब अमेरिकामा पानी पर्दा वा घाम लाग्दा पनि नेपालीले छाता ओढ्नुपर्ने अवस्था आइसक्यो । ताइवानमा अमेरिका र चिनियाँ शक्ति टकराउँदा नेपालसम्म परकम्प देखा पर्दै छ । असंलग्न नीति बोकेको राष्ट्र नेपाललाई आफ्नै भूगोल, संस्कृति र सभ्यतासापेक्ष सामूहिकतामा आधारित शक्तिको खाँचो खड्किएको छ । जसले आन्तरिक र बाह्य दुवै स्वरूपका हैकमका आयामलाई समयसापेक्ष पहिचान गर्न सकोस् । दमित समुदायलाई आफू दमित भइरहेको बोध गराउन सकोस् । दमनको जालोलाई चिर्न छिन्नभिन्न सामूहिक शक्तिलाई एकताबद्ध गर्न सकोस् । व्यक्तिवादी विकारबाट व्यक्तिलाई मात्रै होइन, विविध सभ्यता र प्राकृतिक भव्यतालाई पनि बचाओस् । बुद्ध जन्माएको देशले आयातीत व्यक्तिवादी पद्धतिको अन्धानुकरण खोजेको छैन । पराया समाजवादको अन्धानुकरण पनि रोजेको छैन । हजुरबाले भोट हालेको भन्दै नाति–नातिनीले पनि उही दललाई आँखा चिम्लिएर भोट दिइरहनु पागलपन हो । इन्दे्रणीझैँ सभ्यता सुहाउँदो विचार बोक्ने निष्ठावान् नेतृत्व नेपालले खोजिरहेको छ । विखण्डित जनसमुदायलाई जोड्ने जर्ती नेपाली मौलिक संस्कृतिभित्रै भेट्न सकिन्छ । त्यसका लागि पहिले हामी आफ्नै ‘माइन्ड’लाई कति हदसम्म ‘डिकलोनाइज’ गर्न सक्छाँै ? व्यक्तिवादी स्वार्थी आचरण कति हदसम्म त्याग्न सक्छौँ ? गम्भीर भएर सोचौँ ।