१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
अमेरिकी सभामुख न्यान्सी पेलोसी बुधबार ताइवानको राजधानी ताइपेईमा
विश्व प्रिन्ट संस्करण

अमेरिकी सभामुखको ताइवान भ्रमणको तरंग

एक चीन नीतिको समर्थनका लागि चिनियाँ राजदूतहरूको आह्वान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४२:oo

अमेरिकाको संसद्की सभामुख न्यान्सी पेलोसी ताइवानको विवादास्पद भ्रमण सम्पन्न गरेर बुधबार फर्केकी छिन्, तर भ्रमणको तरंग विश्वव्यापी फैलिएको छ । भ्रमणको प्रतिक्रियास्वरूप ताइवानको आसपास सैन्य अप्रेसन सुरु गरेको चीनले आफ्नो कदमको समर्थन जुटाउन तीव्र कूटनीतिक पहल गरेको छ । 

सबै मुलुकमा रहेका चिनियाँ राजदूतले अमेरिकी सभामुखको भ्रमणको विरोध गर्दै एक चीन नीतिका लागि समर्थन आह्वान गरेका छन् । चीनले ताइवानलाई अभिन्न अंग मान्दै आएको छ । नेपालले ताइवान, तिब्बत, हङकङ र सिन्जियाङलाई चीनको अंग मान्दै एक चीन नीतिप्रति दृढता व्यक्त गर्दै आएको छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एक चीन नीतिप्रति नेपालको निरन्तर सहयोग रहने अपेक्षा गर्दै ताइवानमा चीनको वैध चासोप्रति समर्थन रहने विश्वास जनाएकी छिन् । ‘संसारमा एउटा मात्र चीन छ, ताइवान चीनको भूभागको अविभाज्य अंग हो,’ नेपालका लागि चिनियाँ राजदूत यान्छीले बुधबार विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘चीनलाई सन् १९७१ को संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव २७५८ ले स्पष्ट रूपमा मान्यता दिएको छ । एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी सहमति र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता हो ।’ 

संसारमा एउटा मात्र चीन छ, ताइवान चीनको भूभागको अविभाज्य अंग हो । चीनलाई सन् १९७१ को संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव २७५८ ले स्पष्ट रूपमा मान्यता दिएको छ । एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी सहमति र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता हो ।

होउ यान्छी, नेपालका लागि चिनियाँ राजदूत

अमेरिकाले सन् १९७९ मा एक चीन नीतिमा स्पष्ट प्रतिबद्धता जनाएको उनले उल्लेख गरेकी छिन् । उनले बेइजिङकै भाषामा पेलोसीको भ्रमणलाई राजनीतिक उत्तेजना भनेकी छिन् । राजदूत यान्छीले ताइवानको प्रश्नमा एक अर्ब ४० करोड चिनियाँ जनता एक ठाउँ रहेको उल्लेख गरेकी छिन् । ‘मातृभूमिको पूर्ण पुनर्मिलनलाई साकार पार्नु सबै चिनियाँ छोराछोरीको साझा आकांक्षा र पवित्र दायित्व हो,’ उनले भनेकी छिन्, ‘अमेरिकी सभामुखको भ्रमणको जवाफमा चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै आवश्यक उपाय अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै परिणाम अमेरिकी पक्ष ताइवान स्वतन्त्रता पृथक्तावादी शक्तिहरूले व्यहोर्नुपर्नेछ ।’

उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेकी छिन् । ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र भरपर्दा साझेदार हुन् । दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दामा सधैँ एक–अर्कालाई बुझेका छन् र समर्थन गरेका छन्,’ यान्छीले भनेकी छिन्, ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’ 

उनले चीनको वैध र जायज अडानलाई नेपालले समर्थन गर्ने अपेक्षा गरेकी छिन् । ‘हामी विश्वास गर्छौँ कि नेपाल सरकार र नेपाली जनताले एक चीन नीतिको पालना गरिरहनेछन् र चीनको वैध एवं जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एक–अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्,’ यान्छीले भनेकी छिन् । 
चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार जारी विज्ञप्तिमा ‘आगोमा खेल्नेको सुखद अन्त्य नहुने र त्यस्तालाई उचित सजाय हुने’ भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । ताइवानविरुद्ध चीनको जनमुक्ति सेनाले तटीय तथा आकाशमा घेराबन्दी सुरु गरेको छ । 

खनाल र बिजुक्छेको विरोध 
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बुधबार विज्ञप्ति जारी गरी ताइवानमा अमेरिकी सभामुख पेलोसीको भ्रमणको विरोध गरेका छन् । खनालले ताइवान चीनको आन्तरिक मामिला भएको भन्दै यसमा कुनै पनि हस्तक्षेप उनको पार्टीलाई सह्य नभएको विज्ञप्तिमा उल्लेख छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमणको निन्दा गरेका छन् । उनले एसियामा अमेरिकाले युद्ध थोपर्ने चालबाजीका रूपमा पेलोसीको ताइवान भ्रमण भएको आरोप लगाएका छन् ।