१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १९ बिहीबार ०६:३१:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

ताइवान टापुमा बढ्दो तनाव

विरोधका बाबजुद अमेरिकाकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनले वास्तविक युद्धाभ्यासदेखि व्यापारिक क्षेत्र नियन्त्रणसम्म गरेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १९ बिहीबार ०६:३१:००

चीनको जनमुक्ति सेनाले बुधबार दोस्रो दिन पनि ताइवान टापुवरपर संयुक्त सैन्य अभ्यास जारी राखेको छ । अभ्यासमा जे–२० स्टिल्थ लडाकु विमान र डिएउफ–१७ हाइपरसोनिक मिसाइलजस्ता उन्नत हतियार प्रयोग गरिएको छ । मंगलबार साँझ अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान उत्रिएदेखि नै चीनले वास्तविक हतियार तथा गोलीबारीसहित युद्धाभ्यास सुरु गरेको हो । चीनले पेलोसीलाई ताइवान भ्रमण नगर्न चेतावनी दिँदादिँदै उनी सैनिक विमानमा मंगलबार साँझ ताइवान उत्रिएकी थिइन् । 

अमेरिकी राष्ट्रपति कार्यालयले पनि पेलोसीलाई ताइवान नजान सुझाव दिएको तर उनले कार्यालयको सुझाव लत्याएको बताइएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरीयतामा राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसपछि तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानवअधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानवअधिकारको रेकर्ड हननको कटु आलोचक हुन् । यसअघि पनि पेलोसीले चीनलाई चिढ्याउने गरी पटक–पटक कम्युनिस्ट शासनविरोधी र प्रजातन्त्र पक्षधर चिनियाँ नागरिकलाई भेट्ने गर्थिन् । चिनियाँ कम्युनिस्ट सरकारविरुद्ध पेलोसीको सबैभन्दा चर्चित हर्कत उनले बेइजिङमै पुगेर गरेकी थिइन् । सन् १९९१ को चीन भ्रमणका वेला उनी आफूलाई दिएको आधिकारिक सुरक्षाकर्मीको आँखा छलेर तियानमेन स्क्वायर पुगेकी थिइन् । त्यहाँ उनीलगायत अन्य दुई अमेरिकी सभासद्ले चिनियाँ सुरक्षाकर्मीको दमनबाट मारिएका प्रजातन्त्र पक्षधरहरूको सम्मानका लागि कालो ब्यानर देखाएका थिए । 

ह्वाइट हाउसको असन्तुष्टि र चीनको चर्को विरोधपछि पेलोसीको ‘एसिया टुर’मा ताइवान उल्लेख गरिएको थिएन । उनले भ्रमण गर्ने देशको सूचीमा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान मात्र समावेश थिए । सिंगापुर पुगेर सुरु भएको उनको भ्रमणको दोस्रो गन्तव्य मलेसिया बनेको थियो । त्यसपछि उनी कहाँ जानेछिन् भनेर धेरैले उत्सुकतासाथ हेरेका थिए । सुरक्षाका कारण आधिकारिक भ्रमण सूचीमा नराखिएको भए पनि अन्ततः मंगलबार साँझ उनी ताइवानको राजधानी ताइपेई ओर्लिइन् । 

 व्यापारिक नियन्त्रण
भ्रमणको विरोधमा चीनले ताइवानविरुद्ध सीमित व्यापारिक नियन्त्रण पनि लागू गरेको छ । चीनको व्यापार तथा भन्सार अधिकारीहरूले ताइवानलाई बालुवा बिक्री बन्द गरेको बताएका छन् । ताइवानले आफ्नो देशमा हुने अधिकांश निर्माणका लागि चीनबाट बालुवा निर्यात गर्दै आएको छ । त्यसबाहेक चीनले ताइवानका केही फलफूल विशेषतः अमिलो फलफूल र निश्चित जातिका माछाको आयात रोकेको छ । सोमबार नै चीनको भन्सार निकायले एक सयभन्दा बढी ताइवानी खाद्य ब्रन्डलाई कालोसूचीमा राखेको थियो । 

चीनको ताइवान मामिला कार्यालयले चिनियाँ कम्पनी तथा नागरिकलाई दुई ताइवानी फाउन्डेसनसँग वित्तीय कारोबार गर्न प्रतिबन्ध लगाएको छ । ताइवान फाउन्डेसन फर डेमोक्रेसी र ताइवान इन्टरनेसनल कोअपरेसन एन्ड डेभलपमेन्ट फन्ड पृथक्तावादी गतिविधिमा लागेको चीनको आरोप छ । पेलोसी भने बुधबार नै ताइवानबाट दक्षिण कोरिया पुगिसकेकी छिन् । उनको यो भ्रमणले चीनको पछिल्लो आक्रोश केही समयमा सेलाए पनि विश्व भूराजनीतिमा दीर्घकालीन प्रभाव पर्ने प्रक्षेपण गरिँदै छ । 

 अभूतपूर्व हतियारको प्रदर्शन
पेलोसीको भ्रमणपछि चीन आफ्नो शक्ति देखाउन वास्तविक गोलीबारीसहित युद्धाभ्यास गरिरहेको छ । चिनियाँ सेनाले वास्तविक युद्धाभ्यासका क्रममा पहिलोपटक ताइवानको आकाशमाथिबाट परम्परागत मिसाइल उडाउने चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले बताएको छ । जनमुक्ति सेनाले गरेको वास्तविक सैन्य अभ्यासका कारण नाकाबन्दीको अवस्था सिर्जना भएको ताइवानका अधिकारीको भनाइ छ । बुधबार चीनको सेनाको पूर्वी कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूमातहतको नौसेना, वायु सेना, रकेड फोर्स, रणनीतिक सहयोग फौजले वास्तविक युद्धको स्थिति निर्माण गरेर ताइवानको उत्तर, दक्षिण–पश्चिम र दक्षिण–पूर्वमा संयुक्त युद्धाभ्यास गरेको बताएको छ । 

युद्ध अभ्यासको मुख्य प्राथमिकता ताइवान टापुलाई समुद्र, आकाश र जमिनमार्फत पूर्ण नाकाबन्दी लगाउने क्षमताको परीक्षण गर्नु रहेको विज्ञप्तिमा जनाइएको छ । युद्धाभ्यासमा जे–२० स्टिल्थ लडाकु विमान, एच–६क बम्बर, जे–११ लडाकु विमान, ०५२डी डिस्ट्रोयटर, ०५६ए कोरभेट र डिएफ–१७ छोटो दुरीको ब्यालेस्टिक मिसाइलजस्ता हतियार प्रयोग गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा चीनको सेनाको पूर्वकमान्डले तिनको फोटो पनि राखेको छ ।  चीनको अहिलेको युद्धाभ्यासमा वास्तविक गोलाबारी पनि भएकाले यसलाई विगतको भन्दा फरक बताइएको छ । यसअघि हुने युद्धाभ्यासमा युद्धको परिस्थितिको नक्कल मात्र गरिन्थ्यो ।