Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १७ मंगलबार १०:२६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमै नेपालको खेल

Read Time : > 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार १०:२६:००

एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक गरेको छ । उक्त ढाँचामा नेपालको खेल पहिलो चरणमै छ । अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त रूपमा आयोजना गर्दै छन् । फिफाका अनुसार यसपटक विश्वकपमा ४८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । 
विश्वकपमा फिफाले एसियामा आठ टोलीको कोटा निर्धारण गरेको छ । यसमध्ये एक टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ । प्लेअफ जितेको अवस्थामा थप एक एसियन टोलीले विश्वकपमा स्थान बनाउनेछ । 

एएफसीले विश्वकपमा सहभागिता जनाउन फिफाको वरीयताअनुसार छनोट चरण खेल निर्धारण गरेको छ । एसियाको २६औँ वरीयतापछि रहेका टोलीले पहिलो चरणदेखि विश्वकप छनोट चरण खेल्नुपर्नेछ । फिफा वरीयतामा नेपाल १७६औँ स्थानमा छ । एसियन वरीयतामा नेपाल ३७औँ स्थानमा छ । एसियाका ४७ राष्ट्र फिफा वरीयतामा छन् । एएफसीका अनुसार पहिलो चरणको खेल अक्टोबर २०२३ मा हुनेछ । एएफसीले सार्वजनिक गर्ने विश्वकप छनोट प्रावधानमा पहिलो चरणमा २२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसमा एएफसीको २६ देखि ४७औँ स्थानका टोलीबीच खेल हुनेछ । २२ टोलीले होम एन्ड अवेअनुसार आपसमा प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो चरणको विजेता ११ टोली दोस्रो चरणमा पुग्नेछन् । यसैगरी, विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो चरणमा १ देखि २५औँ वरीयता र पहिलो चरणबाट छनोट भएका ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणमा एसियाका ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एएफसीले ३६ टोलीलाई नौ समूहमा विभाजन गरेको छ । 

प्रत्येक समूहमा चार टोली हुनेछन् । यो पनि होम एन्ड अवेअनुसार हुनेछ । दोस्रो चरणको समूह विजेता र उपविजेता गरी तेस्रो चरणमा १८ टोली हुनेछन् । दोस्रो चरण मार्च २०२४ मा हुनेछ । दोस्रो चरण पार गरेका १८ टोली सीधै एएफसी एसियन छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

एएफसीले तेस्रो चरणमा सहभागी १८ टोलीलाई तीन समूहमा विभाजित गरेको छ । प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् । तीन समूहका विजेता र उपविजेता गरी ६ राष्ट्रले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्नेछन् । एसियन क्वालिफायरअन्तर्गत तेस्रो चरणमा प्रतिस्पर्धा गरेको तीनवटै समूहका तेस्रो र चौथो टोलीबीच प्लेअफ खेल हुनेछ । यसमा ६ टोलीलाई पनि समूह विभाजन एएफसीले गरेको छ । यो एकल राउन्ड हुनेछ । दुई समूहका शीर्ष दुई टोलीले विश्वकप खेल्नेछन् ।