१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०८:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवलको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०८:०२:००

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकाको वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । कम्पनीको विशेष साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार माघदेखि सञ्चालनमा आउने जानकारी दिएका हुन् । 

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष ढकालले केबलकारको निर्माण आगामी पुसभित्रै सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताए । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुने कम्पनीले 
जनाएको छ ।  

अध्यक्ष ढकालले भने, ‘केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सब–स्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ । नौवटा टावरमध्ये आठवटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ ।’

साथै, उनले माथिल्लो स्टेसनमा सब–स्ट्रक्चरको काम अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताए । माथिल्लो स्टेसनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकाले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उनको भनाइ थियो ।

 ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटेललाई अन्तर्राष्ट्रिय चेन–होटेलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिए । केबलकारको ०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।