१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
भवनाथ प्याकुरेल
२o८१ बैशाख २४ सोमबार o७:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एसइईपछि राम्रो कलेज कसरी छान्ने ?

Read Time : > 2 मिनेट
भवनाथ प्याकुरेल
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४६:oo

एसइईको नतिजा प्रकाशनपछि विद्यार्थी र अभिभावक राम्रो कलेज छनोटको चटारोमा छन् । बजारमा च्याउझैँ उम्रिएका कलेजले छात्रवृत्तिका नाममा परीक्षा लिइरहेका छन् । छात्रवृत्ति विद्यार्थी भर्ना गर्ने माध्यम बनिरहेको छ । सहरमा ठुल्ठूला पोस्टर र पम्प्लेट फिँजाइएका छन् । अनेक रङ रूपका विज्ञापन आइरहेका छन् । विज्ञापन गर्ने कलेजले गुणस्तरीय शिक्षा र भौतिक संरचनाको धाक दिइरहेका छन् । 

बजारमा जसले धेरै विज्ञापनका नाममा हल्ला गर्‍यो, उसैकहाँ विद्यार्थी आकर्षण बढ्ने गरेको पनि देखिन्छ । कलेजहरूले एउटै पाठ्यक्रम पढाउन २० हजारदेखि चार लाखसम्म शुल्क लिने गरेका छन् । १५–१६ वर्षका विद्यार्थीले कुनचाहिँ कलेजमा गुणस्तरीय पढाइ भइरहेको छ भन्ने बुझ्न सक्दैनन् । यति हुँदाहुँदै पनि कलेज चलाउने लगानीकर्ताको योग्यता, उसको व्यवस्थापन कुशलता, शिक्षक–कर्मचारीलाई गर्ने व्यवहार पनि गुणस्तरीय शिक्षाको महत्वपूर्ण पाटो रहन्छ ।

कर्मचारी र शिक्षकलाई कम तलबमा काम लगाई फाइदा मात्र लिने व्यवस्थापनले चलाएको कलेजको गुणस्तर कमजोर हुन्छ । भौतिक पूर्वाधार पनि महत्वपूर्ण हुन्छ । अहिले पनि कतिपय कलेजले मार्कर र डस्टरकै भरमा विद्यार्थी पढाइरहेका छन् । तिनै कलेजले विज्ञापनमा लाखौँ खर्च गरिरहेका छन् । अहिले पनि लेक्चर पद्धतिबाट पढाइ भइरहेको छ । यस्ता कलेजमा विद्यार्थीले गुणस्तरीय शिक्षा कसरी पाउलान् । डिजिटल माध्यमबाट विद्यार्थीको मनोविज्ञान बुझेर कमजोरलाई माथि उकास्ने र जान्नेलाई झनै जान्ने बनाउने गरी पढाउने कलेज उपयुक्त मानिन्छ । 

खेलमैदान, शान्त वातावरणले पनि पढाइलाई प्रभाव पार्छ । अहिले सहरबजारमा फोहोरको दुर्गन्ध र सवारी, उद्योगको आवाजले पढाइलाई प्रभावित पारिरहेको देखिन्छ । यस्तो वातावरणमा विद्यार्थीले पढ्न नसक्ने भएको हुनाले विद्यार्थीले कलेज छान्दा त्यसमा पनि ध्यान दिन आवश्यक छ ।विद्यालय तहको भन्दा क्लेज तहको पढाइमा विद्यार्थी झुक्किने गरेका छन् । सामान्यतया विद्यालय तहमा कसरी पढाइ हुन्छ भन्ने थाहा पाउन सजिलो हुन्छ भने कलेज तहमा भने यसबारे कमै मात्र जानकारी पाइन्छ । त्यसैले, बजारमा देखिएको विज्ञापनको बोर्ड हेरेर कलेजको पढाइको गुणस्तर थाहा पाउन नसकिने हुँदा अगाडि पढेका दाजु, दिदी, इष्टमित्रबाट पनि कलेजबारे थाहा पाउन सकिन्छ ।

कलेज छान्दा त्यसको ऐतिहासिक पृष्ठभूमि, वर्तमान स्थिति तथा त्यहाँको शैक्षिक नतिजालाई पनि ध्यान दिनु आवश्यक हुन्छ
 

यसैगरी कक्षा ११ मा छात्रवृत्तिका नाममा शुल्कमा छुट गर्ने र कक्षा १२ मा पुगेपछि अनेक बहानामा थप शुल्क असुल्ने कलेज पनि सहरबजारमा पर्याप्त छन् । यस्ता क्रियाकलापबाट अभिभावक र विद्यार्थीले सतर्कता अपनाउनुपर्छ । यसका लागि कलेजले अगाडि गरेको सम्झौता पालना गर्ने गरेको छ वा छैन भन्ने पत्ता लगाउनुपर्छ । त्यसैगरी, पढाइमा पारदर्शिता आवश्यक छ । जुन क्याम्पसले आफूले दिने शिक्षा पारदर्शी तरिकाले अभिभावक र विद्यार्थीलाई दिन्छ, त्यस्तो कलेजलाई पनि उपयुक्त मानिन्छ । अहिले सिसिटिभीको जमाना छ । केही कलेजले आफूले पढाएको विषय सिसिटिभीमार्फत अभिभावकलाई समेत देखाउने गरेका छन् । सिसिटिभीको लिङ्क नै अभिभावकलाई पठाउने गरेका छन् । जसको पढाइ गुणस्तरीय छ, उसलाई शिक्षकले पढाएको विषय देखाउन केको डर ? त्यसैगरी बन्दाबन्दीमा अनलाइनबाट पढाएको विषय अभिभावकले पनि हेर्ने र सुन्ने गरेका थिए । त्यो उपयुक्त थियो । त्यसैगरी, अहिले अभिभावकले आफ्ना विद्यार्थीले पढेको हेर्न सक्ने कलेजलाई पनि छनोटमा पार्ने गरेका छन् । 

विद्यार्थीले कलेज छान्दा आफ्नो क्षमता र रुचि जुन विषयमा छ, त्यसैमा दक्षता हासिल गरेको शैक्षिक संस्था छान्नुपर्छ  । ठूला र आकर्षक सुविधाले मात्र कलेज राम्रो हुँदैन । मुख्यतः व्यावहारिक ज्ञान, सीप र संस्कार सिकाउन सक्ने शैक्षिक संस्था नै विश्वमा राम्रा मानिन्छन् ।कलेज छान्दा त्यसको ऐतिहासिक पृष्ठभूमि, वर्तमान स्थिति तथा त्यहाँको शैक्षिक नतिजालाई पनि ध्यान दिनु आवश्यक छ । विश्वमा उत्कृष्ट शिक्षा दिने हार्वर्डको पनि मेडिकल विषय संसारमा टप र्‍याङकिङमा छैन । त्यसैले, कुन कलेजमा कुन विषयको पठनपाठन उत्कृष्ट छ भनेर हेर्नुपर्छ । अहिले पाठ्यक्रम मात्र पढाउने र नतिजालाई मात्र ध्यान दिने कलेज प्रशस्त छन् । यस्ता कलेजलाई विश्वले कलेज नभएर कोचिङ सेन्टरको संज्ञा दिने गरेका छन् ।

विद्यार्थीलाई नोट नलेखाउने, क्रिएटिभ बनाउने, रुचिका विषयमा केन्द्रित गराउने कार्यक्रम सञ्चालन भएको कलेज उपयुक्त हुन्छ । जुन कलेजमा पढेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित शैक्षिक संस्थामा थप अध्ययनका लागि छात्रवृत्ति पाउने वा प्रवेश परीक्षामा धेरै संख्यामा नाम निकाल्न सक्ने कलेज पनि उत्कृष्ट मानिने गरेको छ ।अतः विद्यार्थी लगिदिएबापत कमिसन दिने, ब्रिज कोर्स चलाएर पैसा बटुल्ने र ठुल्ठूला विज्ञापन गर्ने कलेज उपयुक्त मानिँदैन । विश्वभर शिक्षा क्षेत्रमा उत्कृष्ट इमानदारी कायम गराएका कलेजलाई विद्यार्थीले छान्ने गरेका छन् । देशभरि एक हजारभन्दा धेरै संख्यामा खुलेका कलेज छान्न सहज नभए पनि आफूलाई पायक पर्ने ठाउँका सबैभन्दा उपयुक्त कलेज छान्नुपर्छ । 

 

ad
ad