
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबाट एक सय २४ कृषकलाई अनुदानमा आधुनिक कृषि यन्त्र वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी पालिकाभित्रका ९२ अगुवा कृषक तथा समूहलाई मिनिटेलर र ३२ कृषक तथा समूहलाई सिँचाइ मोटर वितरण गरेको हो ।
जोताइका लागि प्रयोग हुने मिनिटिलरमा ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृष्कको लगानी रहने तथा सिँचाइका लागि प्रयोग हुने मोटरमा नगरपालिकाले ७० प्रतिशत अनुदान र कृषकको ३० प्रतिशत लगानी गर्नुपर्ने नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए ।
‘कृषिमा आधुनिकीकरणलाई प्रोत्साहन गर्न नगरपालिकाले विगत आठ वर्षदेखि नै लागत सहभागितामा यस्ता कृषि यन्त्र उपलब्ध गराउँदै आएको श्रेष्ठले बताउँदै ‘यसले कृषकलाई सहजता थप्ने, लागत घटाउने र आत्मनिर्भर बनाउँदै उत्पादकत्व बढाउन मद्दत पुग्ने नगरको अपेक्षा रहेको बताएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराईले कृषकलाई प्राप्त उपकरणको सही सदुपयोग गर्दै उत्पादन वृद्धिमा लाग्नुपर्ने बताएका छन् । वितरण गरिएको सात हर्सपावरको डिजेल इन्जिनयुक्त मिनिटिलरको मूल्य ४३ हजार एक सय २५ रुपैयाँ र दुई हर्सपावरको मोटरको मूल्य १६ हजार चार सय ९८ रुपैयाँ रहेको बताएको छ ।