१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
समाचार डिजिटल संस्करण

३५० कैदीबन्दी अट्ने बाँके कारागारमा ७५६ जना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:३४:oo

बाँके जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई सुत्न र बस्न समस्या भएको छ। क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण उनीहरूलाई समस्या भएको हो।

कुल ३५० जना अट्ने जिल्ला कारागारमा पछिल्लो समय ७५६ जना कैदीबन्दी रहेका जेलर रामकुमार सोनखरले बताए। उनले महिला थुनुवा आए बर्दिया कारागारमा पठाउने गरेको बताउँदै पुरुष र महिला कैदी आए सम्बन्धित जिल्ला कारागारमा पठाउने गरिएको जानकारी दिए।

तत्कालीन सरकारले त्यतिवेलाको चापलाई मध्यनजर गरी २०२० सालमा बनाएको १७ कोठे भवनमा अहिले ७५६ कैदीबन्दी बस्दै आएका छन्। कैदीबन्दी थोरै भएकाले सोहीअनुसार निर्माण गरिएको भवनमा अहिले कोचाकोच गरेर राख्नुपरेको जेलर सोनखरले बताए। ‘ठाउँ नभएर एउटा कोठामा ६०–६५ जना कैदीबन्दीलाई राख्न परेको छ,’ उनले भने ।

पुरानो संरचनाले थेग्न नसकेका कारण आधा–आधा मिटरको दूरीमा सुत्ने ब्यवस्था मिलाइएको उनले बताए। ‘नयाँ कैदीबन्दी आए कहाँ राख्ने भन्ने चिन्ता हुन्छ। ठाउँ नभएकाले कतिपय कैदीलाई सरुवाको कागज बनाएर सम्बन्धित जिल्ला कारागारमा पठाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘नजिक–नजिक सुत्ने भएकाले कैदीबन्दीलाई छाला तथा अन्य सरुवा रोग लाग्छ।’

भवन जीर्ण, भत्किने चिन्ता
भवन पुरानो भएकाले जीर्ण भएको छ। भित्ताको प्लास्टर उप्किएको छ भने पानीसमेत रसाउँछ । वर्षात्मा भुइँ चिसो हुन्छ। छत ढलान गर्दा प्रयोग गरिएको सिलिङको काठ कुहिएर छत खस्ने डर त्यस्तै छ। ‘भवन पुरानो भएर जीर्ण छ। भवनले थेग्न नसक्ने गरी कैदीबन्दी राखेका कारण छत कतिखेर खस्छ भन्ने डर छ,’ उनले भने।

करिव ६० वर्ष पहिले निर्माण भएको भवनको इलेक्ट्रिक वायर कमजोर भएपछि वेलावेला वायर सर्ट भई विद्युत्समेत अवरुद्ध हुने गरेको जेलर सोनखरले सुनाए । उनले एउटा कोठामा १०–१५ वटा पंखा चल्ने भएकाले पुरानो इलेक्ट्रिक वायरले धान्न नसकेको बताए। ‘हरेक कोठाका लागि छुट्टै एमसिबीको व्यवस्था नगर्दासम्म विद्युत् समस्या रहिरहनेछ,’ उनले भने।

बाँके जिल्ला कारागारमा सवैभन्दा धेरै लागुऔषध मुद्दाका ३०० जना, जबर्जस्ती करणी मुद्दामा ११० जना र अन्य अपराधमा सजाय पाएका कैदीबन्दीहरू रहेका जेलर सोनखरले बताए।

कैदीबन्दीले दिए बोरिङ गाड्ने रकम
कारागारमा पानीको समस्या भएपछि कैदीबन्दीले पैसा उठाएर बोरिङ जडान गरेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीले दुई हर्स पावरको बोरिङ गाड्न रकम दिएका हुन्।

‘एक हर्स पावरको बोरिङ कारागार कार्यालयले गाड्यो। अर्को दुई हर्स पावरको कैदीबन्दीले दिएको रकमबाट जडान गरी पानीको ब्यवस्था मिलाइएको छ,’ जेलर सोनखरले भने। दुईवटा बोरिङ जडान भएपछि पानीको समस्या समाधान भएको छ। ‘अहिले जुनवेला चाहियो त्यहीवेला नुहाउन, लुगा धुने सुविधा छ,’ उनले भने ।

ad
ad