मृत्युदण्ड जितेर फर्किएका श्रेष्ठ २३ वर्षपछि पुनः शिक्षक

२३ वर्षपछि पढाउन कक्षाकोठा छिर्दा श्रेष्ठको आँसु थामिएन

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ तौथली गैरीगाउँका हीरालाल श्रेष्ठ ‘आनन्द’ मृत्युदण्ड जितेर स्वदेश फर्किन सफल भए । उनी स्वदेश मात्र फर्किएनन् ,गुमाएको जागिर पनि पाए ।  ०४५ वैशाख २५ गते बाघ भैरव प्राथमिक विद्यालयमा शिक्षक पेशामा प्रपेश गरेका श्रेष्ठले २०४८ सालमा स्थायी शिक्षकमा नियुक्त हुने मौका पाएका थिए । उनको चेतना सानैदेखि विद्रोही थियो । त्यसैले स्थायी जागिर छोडेर २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिए ।   

नरम स्वभाव र कुशल संगठक भएकोले छोटो समयमा उनी माओवादी छापामारको कमान्डर भए । माओवादी जनयुद्ध चर्किँदै गर्दा श्रेष्ठ चीनको स्वशासित क्षेत्र तिब्बतको खासाआसपास छापामारको एक समूह लिएर बस्थे । उनको मुख्य काम युद्ध सामग्रीको बन्दोबस्ती गर्नु थियो । खासामा रहेका नेपाली मूलका व्यापारी र तिब्बतीयनसँग मिलेर श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूरा गर्थे । ‘हाम्रो मुख्य काम भनेको जनयुद्धलाई सहयोग पुग्ने सामग्री जुटाउने थियो,’ पुरानो दिनलाई सम्झँदै उनले भने । 

श्रेष्ठलाई समयले साथ दिएन । उनको काम चिनियाँ प्रशासनले थाहा पायो । श्रेष्ठसहित चार नेपाली र तीन तिब्बतीयनलाई २०६० कात्तिक १० गते खासाबाट हतियारसहित चिनियाँ प्रहरीले गिरफ्तार गर्यो । उनसँग भोटेकोसी र बाह्रबिसेका ग्याल्जेन शेर्पा, चेङा शेर्पा र सोनमा साङ्बो शेर्पा पक्राउ परेका थिए । सुरुमा सबैलाई सिँगात्से जेलमा लगियो । दुई वर्ष सिँगात्सेमा बिताएपछि चिनियाँ सरकारले उनलाई मृत्युदण्डको फैसला सुनायो ।

लगत्तै उनलाई ल्हासा जेल पुर्याइयो । त्यसवेला चिनियाँ अदालतले श्रेष्ठसहित ग्याल्जेन शेर्पा र तीनैजना तिब्बतियनलाई मृत्युदण्डको फैसला सुनाएको थियो । दुई वर्ष जेलजीवन बिताएर सोनाम साङ्बो शेर्पा भोटेकोसी मार्मिङ फर्केपछि साथीहरूलाई मृत्युदण्डको सजाय सुनाएको खबर माओवादी पार्टीका अध्यक्ष प्रचण्डसम्म आइपुग्यो । प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारलाई चिठी लेखेर मृत्युदण्ड रोक्न आग्रह गरे । 

माओवादीको अथक प्रयासले २०६५ चैत १५ गते मृत्युदण्डलाई जितेर पाँच वर्ष पाँच महिना पाँच दिनको जेलजीवन बिताएर श्रेष्ठसहितको टोली स्वदेश फर्कियो ।  नेपाल आएपछि पनि श्रेष्ठले धेरै संघर्ष गरे । पार्टी शान्ति प्रक्रियामा आइसकेको थियो । लामो समय जेलजीवन बिताएर फर्केका उनको पारिवारिक अवस्था डामाडोल थियो । उनी शारीरिक र मानसिक दुवै हिसाबले कमजोर भए । तर, उनले कहिल्यै हरेस खाएनन् ।

सरकारैपिच्छे पटकपटक उनी आफ्नो पुरानो शिक्षण पेसा जोड्न लागिरहे । अन्ततः उनी सफल भइछाडे ।  शिक्षा मन्त्रालयको निर्देशन, जिल्ला शिक्षा समन्वय इकाइ र त्रिपुरासुन्दरी गाउँपालिका शिक्षा विभागको निर्णयबाट १५ साउनदेखि श्रेष्ठ पुनः शिक्षण पेसामा फर्किएका छन् । ‘आइतबार पढाउन कक्षामा पस्दा खुसीको सीमा रहेन,’ उनले भने, ‘त्यति नै हिजोका संघर्ष सम्झेर रोए पनि ।’ जीवन संघर्षको लामो अनुभवसहित बालबालिकालाई गुणस्तर शिक्षा दिने उनले बताए ।  
 

सुझावित समाचार