
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६७ पैसा पुगेको छ । संस्थाको आव २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ३३ रुपैयाँभन्दा बढी भएको हो ।
लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाले चौथो त्रैमासमा कुल लघुकर्जा २१ अर्ब ८४ करोड ७३ लाख पुर्याएको छ । कर्जाको विस्तारलाई भन्दा गुणस्तरलाई प्राथमिकतामा राखेको दाबी गर्दै संस्थाले समीक्षा अवधिमा चार अर्ब ९५ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी बढाउन सफल भएको जनाएको छ । संस्थाको नाफा यस वर्ष ५८ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, स्वपुँजीमा प्रतिफल वार्षिक २२.८५ प्रतिशत रहेको जनाइएको छ । तरलता अभावको विषम परिस्थितिमा समेत बचत परिचालनतर्फ तीन अर्ब ३५ करोड २६ लाख रुपैयाँ पुर्याउन सफल भएको संस्थाले दाबी गरेको छ । त्यस्तै, निष्क्रिय कर्जालाई एक दशमलव ४३ प्रतिशतमा सीमित राख्न सफल भएको संस्थाले जनाएको छ । हाल संस्थाले देशका ७४ जिल्लामा दुई सय ८७ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।