मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार २१:५०:००
Read Time : < 1 मिनेट
खेलकुद

साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार भारत जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार २१:५०:००

भारतमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली शुक्रबार भारत जाने भएको छ। देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यू–२० टोलीको निर्माण गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले देशभरबाट छानिएका युवा खेलाडीले राम्रो नतिजा ल्याउने बताएका छन् । 

कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुंगो लगाइसकेका छन् । मुख्य लक्ष्य साफ यू–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ । खेलाडी छनोटदेखि प्रारम्भिक टोली निर्माणका लागि मिहिनेत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताएका छन् । 

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारतका साथै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कलिंग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । 

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।