
नेपालबाट पहिलोपटक भारतीय बजारमा नेपाली छड निर्यात भएको छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उद्याेगले टिएमटी छडको भारत निर्यात सुरु गरेको उद्याेगका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालले बताए ।
उद्योगले बुधबार ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो । ‘यो सुरुवात मात्र हो, आगामी दिनमा हामीले निर्यातको मात्रा बढाउँदै लैजानेछौँ,’ उद्योगका सञ्चालक राजेश अग्रवालले भने ।
नेपालमा रहेका सबै उद्योगको वार्षिक रूपमा ३० देखि ३२ लाख मेट्रिक टन उत्पादन गर्ने क्षमता भए पनि हाल वार्षिक १३ देखि १४ लाख मेट्रिकटन मात्र छड खपत हुने उनले बताए । नेपालले वार्षिक १५ लाख मेट्रिक टनभन्दा बढी छड निर्यात गर्न सक्ने उनले बताए ।
हाल ८० रुपैयाँ प्रतिकेजीकाे अवस्थामा वार्षिक एक खर्ब २० अर्बबराबरको छड निर्यात गर्न सक्ने उद्याेग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी राजेशले बताए । ‘कुनै उद्योगले लगानी थप नगरी अहिलेकै अवस्थामा एक खर्ब २० अर्बबराबरको छड निर्यात गर्न सक्ने क्षमता छ,’ उनले भने । लोडसेडिङ, कोरोना महामारीलगायतका तमाम समस्याहरूबाट गुज्रिएर पनि भारत निर्यात गर्ने विषय समग्र राष्ट्रका लागि गौरवको विषय भएको उनले बताए ।
उनले कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिए । अग्रवालका अनुसार उद्योगकोे प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको छ ।