१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

श्री स्टिलले भारतमा छड निर्यात गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:१३:oo

बुधबारदेखि नेपाली छड भारत निर्यात हुने भएको छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल उद्योग प्रालिले आफ्नो उत्पादन भारत निर्यात गर्न लागेको हो ।उद्योगका सञ्चालक राजेश अग्रवालले श्री स्टिल भारत निर्यात गरेलगत्तै अर्घाखाँची सिमेन्ट उद्योगले पनि आफ्नो उत्पादन अर्घाखाँची सिमेन्ट भारत निकासी गर्ने तयारीमा रहेको बताए । भारत निर्यात गर्नका लागि श्री स्टिल उद्योगले उत्पादन गरेको उत्पादन भारत सरकारद्वारा  गुणस्तर मापन बिआइएस प्राप्त गरेको छ । 

सरकारले ल्याएको बजेटमा नेपाली उद्योगले भारत निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने उल्लेख भएकाले सरकारको सहयोगको आशामा नोक्सान हुँदाहुँदै पनि नेपाली उत्पादन भारत निर्यात गर्न लागेको अग्रवालको भनाइ छ । उनले भने, ‘बुधबारदेखि हामी औपचारिक रूपमा भारत निर्यातको सुरुवात गर्न लागिरहेका छौँ । सरकारले बजेटमा उल्लेख गरेअनुसार उद्योगलाई अनुदान दिने रकम समयमै उपलब्ध गराउँछ भन्ने अपेक्षामा छौँ ।’ अनुदान समयमै नपाएमा निर्यात नियमित गर्न नसकिने उनी बताउँछन् । 

नेपालको व्यापार घाटा कम गर्नका लागि जोखिम मोलेर भारतीय बजारमा आफ्नो उत्पादन पठाउन लागेकाले सरकारले पनि अनुदान दिनमा ढिलासुस्ती गर्नुनहुने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अग्रवाल अनुदानको रकम पाउन दुई–तीन वर्ष पर्खिनुपर्ने अवस्था आउने हो कि भन्ने त्रास रहेको बताउँछन् । 

नेपालमा उत्पादित छड भारत निकासी सुरु गरेलगत्तै नेपाल–भारतबीचको व्यापार घाटा कम गर्नमा केही सहयोग पुग्ने सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए । वर्षौँदेखि स्वदेशी उत्पादनमै आत्मनिर्भर रहेको छड र सिमेन्ट क्रमिक रूपमा भारत निर्यात गर्न सुरु भएसँगै नेपाली उत्पादन भारतीय बजारमा पुग्न सुरु भएको उनको भनाइ छ । न्यौपानेले भने, ‘उद्योगीहरूले प्रयास गरेका छन्, सरकारले साथ दिन आवश्यक छ ।’ 

सरकारले विद्युत् महसुलमा सहुलियत दिने हो भने नेपालले सीमावर्ती भारतीय बजारदेखि एक सय किलोमिटर टाढासम्मको भारतीय बजारमा नेपाली छड र सिमेन्ट निर्यात गर्न सक्ने अग्रवालको भनाइ छ । भारतबाटै कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गरेर पुनः भारतीय बजारमा नै बिक्री गर्नु ठूलो चुनौती रहेको अग्रवाल बताउँछन् । सरकारले बजेटमा ८ प्रतिशत अनुदान दिने भनेकाले भारतीय उत्पादनभन्दा सात रुपैयाँ नोक्सान भए पनि उद्योगले भारतमा निर्यात गर्न सक्ने अग्रवालको भनाइ छ । 

ad
ad