
वाम एकताका लागि जोड दिँदै आएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पार्टी दर्ता प्रक्रिया थालेका छन् । गौतमको संयोजकत्वमा ७५ सदस्यीय ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ले पार्टी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सचिव डिबी कार्कीका अनुसार दल दर्ताको नम्बर ६४ छ । तदर्थ समितिको संयोजकमा गौतम र सचिवमा कार्की छन् । अन्य सबै सदस्य छन् । संयोजक, सचिवसहित आठजनाको सचिवालय छ ।
आयोगले पार्टी दर्ताको प्रमाणपत्र दिएपछि तदर्थ समितिको बैठक बसेर विधानअनुसार पदाधिकारी चयन गर्ने तयारी छ । विधानमा एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ । तदर्थ समितिले सचिवको संख्या टुंग्याउने कार्कीले जानकारी दिए ।
विभाजित कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन पार्टी निर्माण गरिएको कार्कीले जानकारी दिए । उनका अनुसार एकता हुन नसके कार्यगत एकता गरेर अघि बढाउने नीति अभियानले लिएको छ । उक्त पार्टीले पूर्ण समानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद्प्रति उत्तरदायी प्रधानमन्त्री र विशेषज्ञबाट मन्त्री बनाउने नीति लिएको छ ।