१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १o:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजविराज नगरपालिकाका मेयरसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

सप्तरीको सदरमुकाम राजविराजस्थित राजरंगशालाको निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष ०७३/७४ मा राज रंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगरप्रमुखसमेत रहेका न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालक भीमराज यादव, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तत्कालीन इन्जिनियर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तत्कालीन प्रमुखद्वय  लक्ष्मण मण्डल र महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

न्यु गहिल कन्स्ट्रक्सन र सञ्चालक यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा दुई लाख ६३ हजार चार सय ६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ ।

न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालक यादव ३० वैशाखमा भएको पालिका निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट मेयरमा निर्वाचित भएका छन् ।अख्तियारले रंगशालाको स्तराेन्नति काममा अनियमितता गरेको भन्दै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई १० लाख ६३ हजार नौ सय ६२, जिल्ला विकास समितिका तत्कालीन इन्जिनियर विकास श्रेष्ठविरुद्ध १३ लाख २७ हजार चार सय ३०, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन प्रमुख लक्ष्मण मण्डलविरुद्ध पाँच लाख ६९ हजार, आठ सय १० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यही मुद्दामा जिल्ला खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादवविरुद्ध सात लाख ५७ हजार ६ सय २०, जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध १३ लाख २७ हजार चार सय ३० र तत्कालीन उपाध्यक्ष धिरु बर्माविरुद्ध दुई लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । बर्माले दुई लाख पेस्की लिएर फर्स्याेट गर्न नसकेको अख्तियारले जनाएको छ । उनलाई पेस्की दिने तत्कालीन अध्यक्ष न्यासुर र तत्कालीन कार्यालय प्रमुख लक्ष्मण मण्डलविरुद्ध पनि उक्त रकम बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ ।