१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३६:oo

हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । उपमहानगरले चालू शैक्षिक सत्र २०७९ बाटै उपमहानगर क्षेत्रका सबै निजी र सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यविधि २०७७ तयार पारेर त्यसकै आधारमा निजी तथा सामुदायिक विद्यालयको कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौँडा’ नामको स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको उपमहानगर प्रमुख मीनाकुमारी लामाले बताइन् । 
    
पाठ्यक्रमको छपाइ अन्तिम चरणमा रहेको र चालू शैक्षिक सत्रबाटै ‘हाम्रो हेटौँडा’ पठनपाठन सुरु गरिने प्रमुख लामाले जानकारी दिइन् । ‘स्थानीय पाठ्यक्रम लागू गर्नका लागि उपमहानगरको ४ असारमा बसेको कार्यपालिका बैठकले नगरका सबै विद्यालयमा अनिवार्य कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको छ,’ उनले भनिन्, ‘पाठ्यक्रमले स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेसा, संस्कृतिसहित प्राकृतिक पक्षहरू संरक्षण र प्रवर्धनको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले सबै विषयको बारेमा विद्यालय तहबाटै जानकारी गराउनका लागि सबै विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम लागू गरिनेछ ।’
    
१ सय ६० पूर्णांक रहेको पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म साप्ताहिक पाँच घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । जसमा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मकमा रहनेछ । पुस्तकमा ‘म, हामी, मेरो परिवार, मेरो समुदाय, मेरो हेटौँडा उपमहानगर, हाम्रो उपमहानगरको पहिचान, हाम्रो प्राकृतिक एवं सांस्कृतिक सम्पदा, हाम्रा पेसा, व्यवसाय, हाम्रा जानजाति, हाम्रो पहिरन, हाम्रो विद्यालयको नक्सा’लाई समेटिएको छ ।
    पहिलो चरणमा १ देखि ३ कक्षासम्म लागू गरिए पनि आगामी शैक्षिक सत्रमा विस्तार गर्दै कक्षा ५ सम्म पाठ्यक्रम सञ्चालन गर्ने योजना उपमहानगरपालिको छ । पाठ्यक्रम पूर्ण रूपमा लागू गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई पाठ्यक्रम प्रबोधीकरणसमेत गरेको छ । 

उपमहानगरपालिकाले हेटौँडाका १९ वटै वडामा रहेका निजी र सामुदायिक गरी १ सय २६ विद्यालयका शिक्षकलाई पाठ्यक्रम प्रबोधीकरण गराएको हो । प्रबोधीकरणमा ५० निजी र ७६ सामुदायिक विद्यालयका शिक्षकहरू सहभागी थिए । सबै विद्यालयलाई एकैपटक असम्भव भएपछि तीन चरणमा कार्यक्रम आयोजना गरेर शिक्षकलाई प्रबोधीकरण गराइएको हो । प्रबोधीकरणमा हरेक विद्यालयबाट १/१ जना विषयगत शिक्षकको सहभागिता रहेको थियो ।
    
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) ले दिएको अधिकार कार्यान्वयन गर्दै स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न लागेको उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले बताए । उनले हेटौँडाको पहिचान झल्कने गरी तयार गरिएकोले ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम नगरको मौलिक सम्पत्तिको रूपमा रहने बताए । 

पाठ्यक्रम लागू गर्नका लागि पहिलो चरणमा ५ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको उपप्रमुख बानियाँले जानकारी दिए । 
 

ad
ad