१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रैहाना मकबुल
२०७९ असार २२ बुधबार ०८:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘ब्ल्याक कार्बन’ले विनाश निम्त्याउँदै

Read Time : > 2 मिनेट
रैहाना मकबुल
२०७९ असार २२ बुधबार ०८:५६:००

पहाडहरू परिवर्तन हुँदै छन्’ यो भनाइ हिमालका फेदमा बस्ने नेपालीका हुन्, जो जीविकाका लागि पर्यटनमा निर्भर छन् । बढ्दो प्रदूषण, जलवायु परिवर्तन र वातावरणीय विनाश झेलिरहेका यी नेपालीका लागि पर्यटन एक मात्र व्यावसायिक विकल्प हो । छिम्मी तेन्जिङले आफ्नो पूरै जीवन नेपालको हिमाली क्षेत्रको सानो गाउँ जोरसल्लेमा बिताएका छन् । र, उनी सात वर्षदेखि यस क्षेत्रमा लज सञ्चालन गर्दै आएका छन् । तेन्जिङले सगरमाथाको नेपालपट्टिको फेदमा रहेको खुम्बु उपत्यकाको समुद्री सतहबाट पाँच हजार ५० मिटरको उचाइमा अवस्थित पिरामिड इन्टरनेसनल ल्याबरोटरी नामक एक अनुसन्धान केन्द्रमा तीन वर्ष बिताए । यी तीन वर्षमा तेन्जिङ कैयौँपटक सगरमाथाको आधार शिविर पुगे र त्यहाँस्थित हिमनदीमा भइरहेको परिवर्तनको पहिलो साक्षीमध्येका एक बने । उनले हिमनदीको रंग कालो भएको पाएका छन् र छुँदा हातसमेत कालो भएको बताउँछन् उनी ।

यहाँका बासिन्दालाई जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक वा प्राविधिक शब्दावलीबारे जानकारी नभए पनि आफूवरपर भइरहेको परिवर्तनबारे उनीहरू पूर्ण जानकार छन् । पिरामिडमा काम गर्न थालेयता तेन्जिङ जोरसल्ले गाउँ र सगरमाथा भएको नाम्चे क्षेत्रलाई आफूले नजिकबाट हेरिरहेको बताउँछन् । ब्ल्याक कार्बन वा मोसो एक सूक्ष्म कणको उपप्रकार हो, जसलाई ‘पिएम–२.५’ पनि भनिन्छ । यसको उत्पादन मूलतः जीवाश्म इन्धन अपूरो हिसाबले बालिएपछि हुन्छ । ब्ल्याक कार्बन जलवायु परिवर्तनको दोस्रो ठूलो कारक हो । कैयौँ अध्ययनअनुसार ब्ल्याक कार्बनले हरितगृह प्रभाव निम्त्याउने कार्बन–डाइअक्साइडको दुईतिहाइभन्दा बढी हिस्सा ओगट्छ । तेन्जिङ पर्वतारोही भनेर चिनिने शेर्पा जातिका हुन् । अप्रोशोधित तथ्यांक जम्मा पारेर प्रयोगशालामा उपलब्ध गराउने तेन्जिङ ब्ल्याक कार्बन हिमालमा मात्रै नभई सबै ठाउँमा पाइने बताउँछन् ।   

पर्यटनमा निर्भरता :  हिमाली भेग कृषिका लागि अनुकूल नभएकाले यस क्षेत्रका बासिन्दा जीविकाका लागि पूर्ण रूपमा पर्यटन उद्योगमा निर्भर छन् । हिमनदीमा हुने परिवर्तनले पर्यटन उद्योगमा समेत असर पर्ने स्थानीयको बुझाइ छ । ‘यस क्षेत्रमा हाम्रो आम्दानीको अर्को स्रोत छैन, पर्यटन नै हाम्रो आम्दानीको एक मात्र स्रोत हो । हिमनदी छिट्टै पग्लिन थाले भने पर्यटन उद्योगमा पनि असर पर्छ’ नाम्चे बजारमा तिब्बती मालसामान बिक्री गर्ने टेचिन शेर्पा बताउँछन् ।

२४ वर्षपहिले सगरमाथा आरोहण गरेका गाइड अन्नु शेर्पा हाल नाम्चे बजारमा कपडाको व्यापार गर्छन् । उनी हिमालमा देखिने परिवर्तनका साक्षी हुन् । पहिले–पहिले ट्रेकिङ जाँदा हिमताल स्वच्छ र सफेद हुने गर्थे, तर पछिल्लोपटक ट्रेकिङ जाँदा हिमनदी प्रदूषित र कालो रंगको पाइएको अन्नु बताउँछन् । अन्नुका अनुसार यी परिवर्तनमा ‘स्थानीय मानिस जिम्मेवार छैनन् । हामी ब्ल्याक कार्बन वा अन्य प्रदूषणका लागि जिम्मेवार छैनौँ, यसका लागि त विदेश वा नेपालका सहरबाट आउनेहरू जिम्मेवार छन्’ भन्दै यहाँका स्थानीय मानिस जलवायु परिवर्तनको जोखिममा रहेको बताउँछन् । बरु स्थानीय मानिस नाम्चे बजार स्वच्छ बनाउन लागिपरेको अन्नु थप्छन् । 

ब्ल्याक कार्बनका लागि हिमाली क्षेत्रका बासिन्दा जिम्मेवार छैनन् । उनीहरू ब्ल्याक कार्बन वा अन्य प्रदूषणका लागि जिम्मेवार छैनन् । यसका लागि विदेश वा नेपालका सहरबाट आउनेहरू जिम्मेवार छन् । 

बदलिँदो मौसम : नाम्चेका स्थानीय बासिन्दा मौसममा असंगत परिवर्तन भइरहेको बताउँछन् । ‘मौसमको त ठेगानै छैन । अहिले न्यानो तापक्रम हुने मौसम हो तर भइरहेको छैन । त्यसैगरी समयमा हिउँ पनि पर्दैन ।’ हिमाललाई देखाउँदै अन्नु भन्छन्– कुनै समय हिमाल हिउँले ढाकिएको हुन्थ्यो भने अहिले हिउँ देख्ने गाह्रो भएको छ । हालैका अध्ययनले मानव सिर्जित ब्ल्याक कार्बनले हिमाली क्षेत्र र हिमनदीको हिउँलाई तीव्र रूपमा पगालिरहेको देखाउँछ । 

सन् २०२१ मा विश्व बैंकले ‘हिमलयाज : क्लाइमेट चेन्ज, ब्ल्याक कार्बन एन्ड रिजनल रेजिलियन्स’ नामक प्रतिवेदन जारी गरेको छ । यो अनुसन्धान प्रतिवेदनले हिमालय, काराकोरम र हिन्दकुश (एचकेएचके) शृंखलालाई समेटेको थियो । यी शृंखलामा इँटाभट्टामा हुने अपूरो दहन, डिजेल र बायोमास बलेर उत्पादन हुने वायुजन्य कणका कारण हिमनदी र हिमालका हिउँँ विश्वव्यापी औसतभन्दा चाँडो पग्लिरहेको छ । प्रतिवेदनले एचकेएचकेका हिमनदी क्रमशः पश्चिम र पूर्वमा प्रतिवर्ष ०.३ र एक मिटरले घटिरहेको अनुमान गरेको छ । 
तल्लो तटीय क्षेत्रका करोडौँ मानिस हिमालयका हिमनदीबाट आउने पानीमा निर्भर छन् र विभिन्न प्रतिवेदनले हिमनदी तीव्र रूपमा पग्लिएर करोडौँ मानिसको जीवन र जीविकाका साधन प्रभावित हुनेछ भन्ने देखाएको छ । ‘सतहको बरफमा रहेको कालो कार्बनलाई कम गर्न मिलेर काम गरे हामी हिमनदी पग्लनबाट रोक्न सक्छौं,’ दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर बताउँछन् । ‘यी स्रोतको सुरक्षाका लागि गरिने क्षेत्रीय सहयोगले यस क्षेत्रका जनताको स्वास्थ्य र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ स्याफर थप्छन् । विश्व बैंकको प्रतिवेदनअनुसार मानवीय कारणले उत्पादन हुने ब्ल्याक कार्बनले हिमाली क्षेत्रका तापमान र वर्षालाई पनि प्रभावित पारिरहेको छ । 

वातावरणमा हुने प्रदूषणले पार्ने विनाशकारी प्रभावबारे स्थानीय बासिन्दा सचेत भए पनि प्रदूषणको स्तर घटाउन र त्यसो गर्न पर्यटकका गतिविधिलाई नियमन गर्न चाहिने बृहत् उपायको अभावले आशा गर्ने ठाउँ देखिँदैन । नेपालभर वातावरण सुधार गर्न र ठूला प्रदूषकलाई घटाउन बृहत् पहलकदमी लिनुका साथै हिमनदीमा पर्ने प्रतिकूल प्रभाव कम गर्ने प्रयासले पर्यटकको संख्या र गतिविधिमा नियमन गर्नुपर्ने हुन्छ । र, नियमन गरिँदा अन्ततः स्थानीयले व्यापारमा घाटा व्यहोर्नुपर्ने हुन्छ । प्रश्न उठ्छ के नेपालले उल्लिखित नीति अवलम्बन गर्नुका साथै वैकल्पिक आर्थिक योजना ल्याउन सक्छ ? प्रश्न अनुत्तरित छ । 
द वायर साइन्सबाट (मकबुल स्वतन्त्र मल्टिमिडिया पत्रकार हुन्)