१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Monday, 30 June, 2025
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पाण्डेको प्रतिक्रिया–केन्द्रमा सरकार परिवर्तनको सहमति भए बाधक बन्दिनँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १७:२८:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनका शीर्ष नेताहरूको सहमतिमा मात्र आफू बाहिरिन तयार रहेको बताएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी सुरु गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

प्रदेश सभाबाट बजेट पारित भएसँगै सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाब दिन बिहीबार सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए ।

यसबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्मुखमा आएको अवस्थामा सरकार परिवर्तन गरिनुले राम्रो सन्देश नदिने बताए । उनले शीर्ष तहमा सरकार परिवर्तनको सहमति भएको अवस्था भयाे भने आफू बाधक नहुने  बताए । 

‘यो विषय मेरो वा अर्को साथीको मात्र कुरा होइन सिंगो सत्तागठबन्धनका शीर्ष नेताले निर्णय लिने कुरा हो । शीर्ष तहमा बागमती सरकार परिवर्तनका लागि सहमति भयो भने म बाधक हुने कुरा छैन । जे हुन्छ शीर्ष तहबाट हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘जनताको दैनिकीसँग प्रत्यक्ष जोडिने योजनाहरूसमेत अघि सारेका छौँ । केन्द्रमा गठबन्धनमा जसरी तालमेल भएको छ, प्रदेशमा हामीबीचमा पनि त्यसको राम्रो अभ्यास भएको छ। चुनावको सम्मुखमा हामी छौँ । गठबन्धनभित्र अविश्वास पैदा गर्दैनौँ । केन्द्रमा शीर्ष नेताहरू बसेर जे निर्णय गर्नुहुन्छ, त्यही कार्यान्वयन हुन्छ।’ 

पाण्डे कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो। कांग्रेसले सहमतिअनुसार मुख्यमन्त्री पाउनुपर्ने भए पनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र नेतृत्व छोड्ने अडानमा पुगेपछि उनीविरुद्ध हस्ताक्षर संकलन गरिएको सांसदहरूले बताएका छन्।