
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैंगिक हिंसालाई कम गर्दै महिलाको समग्र विकास गर्नका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छिन् ।
मन्त्रालयले आज चितवनमा आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा बोल्दै मन्त्री रेग्मीले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताइन्। उनले हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुवात गर्न लागेको जानकारी दिइन् । घरेलु हिंसाविरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ । महिलाहरूको उद्यमशीलता प्रवर्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरणसम्बन्धी तालिम सञ्चालन गरेको उनले बताइन् ।
३ असारदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमले उद्यमी महिलाहरूलाई उद्यमशीलताको बहुआयामिक पक्षहरूको विषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागि सहज वातावरण बनाउन सके महिलाहरू व्यवसायमार्फत अगाडि बढ्न सक्ने बताएका थिए । रासस