१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
विमानस्थल स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री आले ।
२o८१ बैशाख २२ शनिबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सवा चार करोड लागतमा धनगढी विमानस्थल स्तरोन्नतिको काम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२८:oo

धनगढी विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्तरोन्नति कार्यको शनिबार शिलान्यास गरेका हुन् । चार करोड १३ लाख रुपैयाँको लागतमा स्तरोन्नतिका लागि गत जेठमा जेआइजी निर्माण सेवा र इन्द्रधनु निर्माण सेवासँग छुट्टाछुट्टै सम्झौता भएको विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए । 

टर्मिनल भवन सुधार, पार्किङस्थल तथा गेट निर्माण, पानीको फोहरा निर्माणलगायत पूर्वाधार तथा सौन्दर्यीकरणका कार्यले विमानस्थलको स्तरोन्नतिमा मद्दत पुग्ने श्रेष्ठले बताए । मन्त्री आलेले धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने कार्य अगाडि बढेको बताए । विमानस्थलको क्षेत्र विस्तारका लागि जग्गा अधिग्रहण तथा अन्य थप पूर्वाधार निर्माणका काम छिट्टै सुरु हुने उनले बताए ।

सरकारले जग्गा अधिग्रहणका लागि दुई अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । ‘राष्ट्रिय सभाबाट बजेट पारित हुनेबित्तिकै जग्गाधनीलाई उचित मुआब्जा दिएर जग्गा अधिग्रहणको काम अगाडि बढ्छ,’ उनले भने, ‘जग्गा अधिग्रहणमा अब अलमल हुँदैन ।’ 

धनगढी विमानस्थल स्तरोन्नतिका लागि आफूले पाँच अर्ब बजेट विनियोजन गर्न खोजे पनि अर्थ मन्त्रालयले बजेट कटौती गरिदिएको मन्त्री आलेले बताए । जग्गा अधिग्रहण गर्ने भनिए पनि काम अगाडि नबढेपछि स्थानीय अन्योलमा छन् । मन्त्री आलेले अब धनगढीमा पनि राति विमानहरू पार्किङ हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको चापले अप्रिय अवस्था आउन नदिन सरकारले उपत्यकाबाहिर पनि विमान पार्किङ गर्नुपर्ने व्यवस्था गरेको उनले जनाए ।

अहिले सम्झौता गरेर शिलान्यास गरिएका कार्यहरू एक वर्षभित्रै पूरा गर्ने सर्त रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । सुदूरपश्चिमको धनगढी विमानस्थलबाट मात्र राजधानीसँग सीधा हवाई उडान हुने गर्छ । काठमाडौं–धनगढी दैनिक आधा दर्जन उडान हुने गरेका छन् । यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, डोटी, बझाङमा पनि साताव्यापी उडान हुने गरेका छन् । 

ad
ad