मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १० शुक्रबार ०७:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँचदेखि ११ वर्षका बालबालिकालाई ‘पेडियाट्रिक’ फाइजर खोप लगाउन सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १० शुक्रबार ०७:३९:००

नेपालमा पाँचदेखि ११ वर्ष उमेर पुगेका बालबालिकालाई कोरोनाविरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोप लगाउन थालिएको छ । कोभ्याक्स सुविधामार्फत निःशुल्क उपलब्ध भएको खोप बिहीबारदेखि लगाउन थालिएको हो । सरकारले ३९ लाख बालबालिकालाई यो खोप लगाउने घोषणा गरेको छ । ८४ लाख मात्रा खोप आवश्यक पर्नेमा हालसम्म २२ लाख मात्रा खोप आइसकेको छ । 

बालबालिकालाई लगाइने कोरोनाविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको सरकारी अधिकारीहरूले बताएका छन् । परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । तर, यसबाट नआत्तिन सरकारले सबैलाई अनुरोध गरेको छ । 

सरकारले २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई ९ देखि १५ असारसम्म खोप लगाउने भएको छ । त्यही समूहलाई २ देखि ८ साउनसम्म दोस्रो मात्राको खोप दिइनेछ । दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ भदौसम्म पहिलो मात्रा र दोस्रो मात्रा २७ भदौदेखि १ असोजसम्म सञ्चालन गर्ने जनाएको छ । 

विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ । यस्तै, विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने बताए । खोप केन्द्रमा कम्तीमा एकजना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याका आधारमा स्वास्थ्यकर्मी तथा दुईजना स्वयंसेवक र दुई सय थप लक्षित संख्याका लागि थप एकजना स्वयंसेवक परिचालन गरिनेछ । 

पाँचदेखि ११ वर्षका बालबालिकाका लागि शून्य दशमलव २ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ । १२ वर्षभन्दा माथिका सबै उमेरसमूहमा शून्य दशमलव ३ एमएलका दरले दुई डोज लगाइएको थियो । फाइजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।