मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ९ बिहीबार ११:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधको कुलतमा फस्दै स्कुले विद्यार्थी

Read Time : > 1 मिनेट
२०७९ असार ९ बिहीबार ११:४४:००

रौतहटका सामुदायिक विद्यालयका विद्यार्थी लागुऔषधको कुलतमा फस्दै जान थालेकाे एक तथ्यांकले देखाएको छ। लागुऔषध तथा एचआइभी/एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागारण मञ्च (विजाम)का अनुसार रौतहटमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थी कुलतमा फस्दैै गएकाे पाइएको हो।

विगत लामो समयदेखि ग्लोबल फन्ड–सेभ द चिल्ड्रेनको सहयोगमा सो संस्थाले लागुऔषध तथा एचआइभी रोकथामको क्षेत्रमा काम गर्दै आएको छ। संस्थाकी रौतहट जिल्ला कार्यक्रम संयोजक सोनी मल्लिकका अनुसार जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी बिस्तारै लागुऔषधको कुलतमा फस्दैै गएका छन्।

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्नेमध्ये सात सय ५९ विद्यार्थी लागुऔषधको कुलतमा फसेको पाइएको मल्लिकले जानकारी दिइन्। जिल्लाको चन्द्रपुर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ९ र १० का ७९ विद्यार्थी लागुऔषधको कुलतमा रहेका पाइएको छ।

भारतको बिहार राज्यसँग सीमा जोडिएको रौतहटका विद्यालय जाने विद्यार्थीमा लागुऔषध सेवनको कुलत बढ्दै जान थालेपछि सो संस्थाले नियन्त्रणका लागि विभिन्न काम गर्दै आएको छ। जिल्लाको ईशनाथ नगरपालिकामा ४६, कटहरिया नगरपालिकामा ४२, गढीमाई नगरपालिकामा ४४, गरुडा नगरपालिकामा ५६, गुजरा नगरपालिकामा ५१ र गौर नगरपालिकामा ३८ विद्यार्थी कुलतमा फसेको पाइएको छ। त्यस्तै, दुर्गा भगवती गाउँपालिकामा २५, देवाही गोनाही नगरपालिकामा ३५, परोहा नगरपालिकामा ४१, फतुवा विजयपुर नगरपालिकामा ४०, वृन्दावन नगरपालिकामा ४७, बौधीमाई नगरपालिकामा चार, माधवनारायण नगरपालिकामा ३९, मौलापुर नगरपालिकामा २९, यमुनामाई गाउँपालिकामा २६, राजदेवी नगरपालिकामा ३४ र राजपुर नगरपालिकामा ४५ विद्यार्थी लागुऔषधको कुलतमा फसेको सो संस्थाको तथ्यांकले देखाएको छ।

विद्यालय जाने उमेरमा लागुऔषधको कुलतमा फसेका विद्यार्थीले सुईका माध्यमबाट विभिन्न प्रकारको लागुऔषध र कोरेक्स नामको लागुऔषध प्रयोग गर्ने गरेको विद्यार्थी जागरण मञ्च पर्साले जनाएको छ। सो संस्थाले बुधबार चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग मिलेर विद्यार्थीलाई कुलतबाट फस्न रोक्नका लागि छलफल कार्यक्रम गरेको थियो।

एउटै सुईको माध्यमबाट विद्यार्थीले लागुऔषध सेवन गर्ने गरेको र सोही कारण उनीहरूमा एचआइभी–एड्स हुने गरेको छ। सो संस्थाले यसलाई रोक्न तथा लागुऔषध सेवनकर्तालाई पुनर्स्थापना केन्द्रमा जाने वातावरण बनाउन सहयोग गर्दै आएको संस्थाकी कार्यक्रम संयोजक मल्लिकले बताइन्। भारतसँगको खुला सीमाका कारण रौतहटमा लागुऔषध सहजै भित्रिने भएकाले विद्यालय जाने उमेरका बालबालिकासमेत लागुऔषधको कुलतमा फस्ने गरेका छन्।