१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्युदर २२ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४८:oo

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च रहेको चिकित्सकले औँल्याएका छन् । सिकलसेल एनिमिया भएका गर्भवती महिलामा गरिएको अध्ययनले उनीहरूको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमियाविज्ञ डा. राजन पाण्डेले सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्युदर २२ प्रतिशत रहेको बताए । उनले प्रायः पश्चिम नेपालका थारू समुदायमा देखिएको सिकलसेलले थारू समुदायलाई आक्रान्त पारेको बताए ।
 
देशभरका चार हजार थारूलाई सिकलसेल एनिमिया समस्या देखिएको उनले जानकारी दिए । ‘उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारू समुदायको संख्या धेरै छ । भेरी अस्पतालमा मात्र आठ सय ९४ जना बिरामी नियमित रूपमा जाँच तथा परामर्शका लागि आउँछन्,’ उनले भने ।

बाँकेको कोहलपुर नगरपालिका, राप्ती–सोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको संख्या धेरै भएको उनको भनाइ छ । राप्ती–सोनारी गाउँपालिका– ४ मा तीन सय ७३ जनाको सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ जनामा सिकलसेल पुष्टि भएको उनले बताए । उनले सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिनेबित्तिकै परीक्षण गर्नुपर्ने उनले औँल्याए । ‘नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्छ,’ डा. पाण्डेले भने ।

प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले थारू समुदायका सर्वसाधारणमा सिकलसेल समस्या बढी देखिए पनि अन्य जातजातिका बिरामीमा समेत यो रोग देखिएको बताए । ‘विशेषगरी थारू समुदायमा यो रोगको समस्या छ, तर अन्य जातजातिका बिरामी पनि फाटफुट फेला परेका छन्,’ उनले भने ।

पछिल्लो समय थारू समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको बताउँदै उनले सिकलसेल एनिमिया र थाल्सेमियाको सम्बन्ध नङ र मासुको जस्तै भएको बताए । ‘रोगसँग मिल्दोजुल्दो टाइफाइट, बाथरोग, बाथज्वरो, मलेरिया तथा हेपाटाइटिस बी भएकोले यस्ता लक्षण देखिए तुरुन्त सिकलसेल एनिमिया र थाल्सेमियाको परीक्षण पनि गराउनुपर्छ,’ डा. पाण्डेले भने । 

ad
ad